काठमाडौं- नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले असार १४ गतेबाट सबै सेवाहरु नियमित रुपमा सञ्चालन गर्ने भएको छ।
अस्पतालले पत्रकार सम्मेलन गरी जारी गरिएको विज्ञप्तिमा असार १४ गतेबाट बिहान ९ देखि दिउँसो ५ बजेसम्म सेवाहरु पहिलेजस्तै नियमित रुपमा सञ्चालन गर्ने जनाएको हो। अस्पतालका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नियम पालना गरी सेवा सञ्चालित छ।
अस्पतालले हालसम्म तीन जना कोरोना संक्रमितको शल्यक्रिया र उपचार गरेको जनाएको छ। हालसम्म नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जबाट कोरोनाका शंकास्पद १ सय ४५ जना बिरामीको निशुल्क उपचार गरेको छ।
गएको एक महिनामा यस अस्पतालबाट २० हजार ५ सय ८८ बिरामीले सेवा लिएका छन् । कोभिड १९ को फिभर क्लिनिकमा ९ सय १ जनाको परीक्षण भएका छन्।