काठमाडौं- काठमाडौं महानगरपालिकामा दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । लकडाउनका कारण प्रभावित भएको खोप अभियान बिहिबारदेखि सुरु भएको हो।
काठमाडौं महानगरपालिकाका ९ महिनादेखि ५ वर्ष मुनिका १ लाख बालबालिकालाई खोप लगाइने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए।
उनले भने, ‘यो खोप अभियान चैतमा सकिनुपर्ने थियो। तर लकडाउनका कारण प्रभावित भयो । तर हामीले यो बीचमा पनि काठमाडौं महानगरपालिकामा खोप अभियान सुरु गरेका छौं।’
चैतमा सकिने अभियान लकडाउनका कारण प्रभावित भएको थियो। दादुरा रुबेला विरुद्धको खोप अभियान काठमाडौं महानगरपालिका बाहेक देशका अन्य भागमा सकिएको छ।
हालसम्म १, २ र ५ प्रदेशको खोपको प्रारम्भिक रिपोर्ट आइसेको डा. गौतमले बताए। उनका अनुसार ती प्रदेशमा ९७ प्रतिशत बालबालिकाले दादुरा रुबेला विरुद्धको खोप लगाएका छन्।
बाँकी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिपोर्ट साउनको दोस्रो सातासम्म आइसक्ने उनले बताए। देशभरका ९ महिनादेखि ५ वर्ष मुनिका ३० लाख बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने सरकारको लक्ष्य छ।