ढाका- बंगलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ।
उनको कोरोनाकै कारण स्थानीय समयअनुसार बिहान साढे ९ बजे मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन्।
बंगलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उनको उपचारकै क्रममा निधन भएको जानकारी दिएका हुन्।
उनलाई ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। यही जुन ६ मा उनलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो।
अवस्थामा सुधार नआएपछि चौधरीलाई यही जुन १८ मा अति सघन कक्षमा राखेर उपचार गराइएको मिर्जाले बताए।
बंगलादेशमा अहिलेसम्म एक लाख ३७ हजार मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने १ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ। रासस