काठमाडौं- नेपाल जनस्वास्थ्य संघले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई १३बुँदे सुझाव दिएको छ।
कोरोनालाई समयमै नियन्त्रण गर्न नसके संक्रमणले भयावह रुप लिने भन्दै संघले प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई १३बुँदे सुझाव दिएको हो। संघले क्वारेन्टाइनको सुधार गर्दै मापदण्ड अनुसार सञ्चालन गर्नुपर्ने बताएको छ।
स्थानीय तहमा जनस्वास्थ्य अधिकृत हुन न्यूनतम शैक्षिक योग्यता जनस्वास्थ्य विषयमा स्नातक उत्तिर्ण गरेको हुनुपर्ने पद कायम गर्न, जनस्वास्थ्य विज्ञहरुलाई आवश्यकता अनुसार नियुक्त गरी परिचालन गर्न, कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई तालिम तथा अभिमुखिकरणको आयोजना गर्नुपर्ने लगायत सुझाव विज्ञप्तिमा उल्लेख छ।
सेवा क्षेत्रमा अग्रपंक्तिमा काम गर्ने सुरक्षा निकाय, खानेपानी तथा सरसफाई, बैंक तथा अन्य कार्यालय र ग्राहकको नजिक हुने संचालकहरुको अनिवार्य पिसिआर परीक्षण गर्ने वातारण मिलाउन संघले सरकारलाई आग्रह गरेको छ।
आरडिटी परीक्षणलाई बन्द गर्नुपर्नेमा जोड दिदै संघले पिसिआर परीक्षणको दायरा बढाएर तीन दिन भित्र नतिजा आउने व्यवस्था गर्नुपर्ने बताएको छ।
कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको पूर्व तयारी निकै कमजोर रहेको संघको भनाई छ।