भीमदत्तनगर- सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना संक्रमण बढ्दै गएको देखिएको हो।
एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा संक्रमण देखिए पनि याे संख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए। 'संक्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन्', उनले भने।
कोरोना संक्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ। त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन्। मंगलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार ४८३ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ। तीमध्ये ५७३ महिला संक्रमित छन्।
'महिलाहरु पनि प्रायः श्रीमानसँगै भारतबाटै फर्किएका र रोजगारीबाट फर्किएका नै बढी संक्रमित छन्', उनले भने, 'समुदायमा महिला संक्रमित संख्या न्यून छ।' कोरोनाबाट यहाँ हालसम्म पाँचको मृत्यु भइसकेको छ भने ४७९ संक्रमित निको भइसकेका छन्। यहाँ सबैभन्दा बढी कैलालीका ५९७ र सबैभन्दा कम दार्चुलामा ४३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।
निर्देशक डा अवस्थीले कोरोना परीक्षणको दायरा बढाउन सुदूरपश्चिममा तीन जिल्लामा पिसीआर मेसिन जडानको काम थालिने बताए। 'डोटी, बैतडी र कैलालीमा गरी तीन ठाउँमा जडान हुने प्रयोगशालाका लागि सामान आउने क्रम सुरु भइसकेको छ', अवस्थीले भने, 'सात/दश दिनमा सबै सामान आइसक्छ।'
क्वारेन्टाइनलाई आइसोलेसनमा परिणत गरिँदै
सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता संक्रमणकाे दर तीव्र भएपछि संक्रमितकाे उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टाइनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ। सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा हालसम्म एक हजार ९३४ स्थानमा करिब ७४ हजार ४३४ श्ययाको क्वारेन्टाइन छन्।
यहाँका क्वारेन्टाइनमा १३ हजार १७८ जना बसिरहेका छन्। बितेको एक महिनामा सुदूरपश्चिमका सीमा नाका हुँदै एक लाख १५ हजार नागरिक भारतबाट स्वदेश भित्रिएको तथ्यांक छ। तीमध्ये अधिकांश क्वारेन्टाइन बसेर घर फर्किसकेका छन्। सरकारले नै ससंक्रमण पुष्टि भए पनि लक्षण नदेखिएसम्म होम क्वारेन्टाइनमा बसेर सतर्कता अपनाउन भनेपछि यहाँका आइसोलेसन कक्ष खाली छन्।
त्यसैगरी स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा १५ स्वास्थ्यकर्मीसहित अग्रमोर्चामा खटिने २४ जनामा संक्रमण देखिएको छ। निर्देशक डा अवस्थीले संक्रमित बढेपछि क्वारेन्टाइनलाई आइसोलेसन कक्ष बनाउन थालिएको बताए।
उनले १४ दिन क्वारेन्टाइनमा बसेकालाई होम क्वारेन्टाइनमा पठाएर आइसोलेसन बढाउन लागेको बताए। यहाँका प्रादेशिक तथा अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षमा ८२ संक्रमित र ३० शङ्कास्पद बिरामी उपचारत छन्। रासस