एजेन्सी- भारतमा विकसित कोरोना भाइरसको भ्याक्सिन जुलाइबाट परीक्षण गरिने भएको छ। यो भ्याक्सिन हैदरावादको फार्मा कम्पनी बायो टेकले तयार गरेको हो।
जुलाइदेखि केही स्वयंसेवकमा यो भ्याक्सिनको परीक्षण सुरु गरिने कम्पनीले दावी गरेको छ। तर कति स्वयंसेवकलाई यो भ्याक्सिन दिइने भन्ने विषयमा भने कम्पनीले केही बताएको छैन।
जनावरहरूमा यो भ्याक्सिनको नतिजा उत्साहजनक र सुरक्षित रहेको पाइएको कम्पनीले जनाएको छ। विश्वका धेरै देशले हाल कोरोना भाइरस भ्याक्सिनको परीक्षण गरिरहेका छन्।
विज्ञहरूका अनुसार हाल १ सय २० भन्दा बढी भ्याक्सिन कार्यक्रम सञ्चालन भइरहेका छन्। करिब आधा दर्जन भारतीय फार्मा कम्पनीहरू कोरोना भाइरस भ्याक्सिनको तयारीमा व्यस्त छन्।
यद्यपि, भारतमा मानव परीक्षणको तहमा पुगेको यो पहिलो कोरोना भ्याक्सिन हो। भारतको लागुपदार्थ नियामक निकायले भारत बायोटेकलाई पनि मानिसमा पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणहरू गर्न अनुमति दिएको छ।
भारत बायोटेकले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीको पूर्व क्लिनिकल अध्ययन र भ्याक्सिन सुरक्षा सम्बन्धी कागजात पेस गरेपछि मात्र क्लिनिकल परीक्षण प्रदान गरिएको छ।’
कम्पनीका अनुसार अब यस भ्याक्सिनको दुई चरणमा परीक्षण गर्नुपर्ने हुन्छ। एक परीक्षणले भ्याक्सिन वास्तवमै सुरक्षित छ कि छैन भनेर र अर्को परीक्षणमा संक्रमणको प्रभाव रोक्न यो भ्याक्सिन कत्तिको प्रभावकारी छ भनेर देखाइने छ।
कम्पनीका प्रवक्ताले बिबिसीसँग भनेका छन्, ‘भारतमा संक्रमित व्यक्तिहरूबाट संकलन गरिएको भाइरसको नमुनाले भ्याक्सिनको विकासमा ठूलो सहयोग पु¥यायो।’
कम्पनीका अध्यक्ष डा कृष्ण इलाकाका अनुसार यो भ्याक्सिनलाई ‘कोभाक्सिन’ नाम दिइएको छ, जुन भारतीय नेसनल इन्स्टिच्युट भाइरोलोजी र भारतीय चिकित्सा अनुसन्धान परिषदको सहयोगमा भारतमा विकसित गरिएको हो।
भारत विश्वको सबैभन्दा ठूलो जेनेरिक औषधि र भ्याक्सिन उत्पादक देशमध्ये एक हो।
धेरै महत्वपूर्ण भ्याक्सिनहरू पोलियो, मेनिन्जाइटिस, निमोनिया, रोटा भाइरस, बिसिजी, दादुरा र रुबेला जस्ता भ्याक्सिन भारतमा विकसित र निर्माण गरिएको हो।