काठमाडौं- सरकारले रोटा भाइरस विरुद्धको खोप ‘रोटा रिक्स’ सञ्चालनमा ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीबार रोटा भाइरस खोप नेपालमा सञ्चालनमा आएको जानकारी गराएका छन्।
बालबालिकाको मृत्युको मुख्य कारकमध्येको एक झाडापखाला र झाडापखाला गराउने मुख्य तत्व रोटा भाइरस विरुद्धको खोप ‘रोटा रिक्स’ सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ। यो सँगै राष्ट्रिय खोप कार्यक्रममा समावेश निःशुल्क खोपको संख्या १२ पुगेको छ।
खोप सेवाको माध्यमबाट संक्रामक तथा प्राणघातक रोग नवशिशु धनुष्टङ्कार सन् २००५ देखि निवारणको अवस्थामा रहेको, दादुरा रुवेला, निमोनिया, जापानिज इन्सेफालाइटिस, लहरेखोकी, भ्यागुते रोग, हेपाटाइटिस बी आदि नियन्त्रण गरी नेपालको बाल मृत्युदर उल्लेख्य रुपमा कमी आई सहस्राब्दी विकास लक्ष्य प्राप्तिमा खोप कार्यक्रमको महत्वपूर्ण योगदान रहेको र दिगो विकास लक्ष्य प्राप्तिमा समेत खोप सेवा महत्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ।
यो कार्यक्रममार्फत देशैभर मासिक करिब १६ हजार खोप केन्द्रबाट ११ वटा रोगको विरुद्धमा १५ महिनासम्मका बालबालिकालाई निःशुल्क रुपमा खोप सेवा प्रदान गरिएको जनाइएको छ। यो कार्यक्रमबाट वार्षिक करिब ६ लाख २० हजार न्दा धेरै बालबालिकालाई संक्रामक तथा प्राणघातक रोगबाट सुरक्षा गरिरहेको मन्त्रालयले जनाएको छ।
खोपकै माध्यमबाट विश्वबाट विफर जस्तो घातक रोग उन्मुलन भएको छ भने अर्को संक्रामक रोग पोलियोमाइलाइटिस उन्मुलन गर्ने चरणमा रहेको जनाइएको छ।