पोखरा- झापाको बिर्तामोडमा गतसाता डाक्टरमाथि भएको आक्रमणको विरोधमा पोखराका युवा डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्। गएको असार ११ गते झापाको बिर्तामोडस्थित मेडिका हस्पिटलमा कार्यरत मेडिकल अफिसर डाक्टर सुधाकर झामाथि भएको आक्रमणको विरोधमा पोखराका युवा डाक्टरहरुले बिहीबार जिल्ला प्रशासन कार्यलय कास्की अगाडि धर्ना दिएका हुन्।
युवा चिकित्सक संघ गण्डकीले आयोजना गरेको शान्तिपूर्ण धर्नामा ७५ जना डाक्टरको सहभागिता रहेको संघका सचिव डाक्टर सञ्जीव बस्नेतले जानकारी दिए। कोरोना भाइरसको महामारीका बीच आफ्नो ज्यान जोखिममा राखेर फन्टलाइनमा काम गर्ने डाक्टरमाथिको हमला अमानवीय भएको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको उनिहरुले बताएका छन्।
यस्तो बेला साथ, सहयोग र हौसला दिनुपर्नेमा उल्टै डाक्टरमाथि आक्रमण हुनु दुखद भएको भन्दै उनीहरुले सरकारसँग भरपर्दो सुरक्षाको माग समेत गरेका छन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि चिकित्सकहरुले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
राति ९.३० बजे हुल बाँधेर हस्पिटल पुगेको १०÷१५ जनाको समूहले डाक्टर झामाथि आक्रमण गर्दा उनको नाकमा चोट लागेको थियो। बिर्तामोड– ६ का ८ वर्षे बालक विज्ञान राईको हात भाँचिएपछि उपचारका लागि राति ८ बजे हस्पिटल लगिएको थियो। हस्पिटलका अनुसार बालकको हातको अप्रेसन गरिएको र अवस्था सामान्य थियो। उनीहरूले बिरामी हेर्न एकै पटक जान खोजेपछि नजिकै रहेका डाक्टर झाले सम्झाउन खोज्दा उनीमाथि आक्रमण भएको जनाइएको छ।