टेकबहादुर थापा
सन् २०१९ को डिसेम्बरमा चीनको वुहान सहरबाट महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को प्रभाव नेपालमा पनि व्यापक रुपमा देखिएको छ। नेपालमा कोभिड-१९ को पहिलो केस २०७६ माघ ९ र दोस्रो केस चैत १० गते भेटिएको थियो।
सुरुवाती अवस्थामा देखिएका केसहरुमा विशेष सावधानी तथा निगरानी गरे पनि पछिल्लो समयमा देखिएका केसको उचित व्यवस्थापन भएको देखिँदैन। इपिडिमियोलोजि तथा रोग नियन्त्रण महासाखाका अनुसार कोभिड-१९ का ९९ प्रतिशतभन्दा बढी केसमा कुनै पनि चिह्न तथा लक्षण देखिएका छैनन्। कोभिड-१९ का सामान्य लक्षणमा सुख्खा खोकी, श्वास फेर्न गाह्रो हुने तथा टाउको दुख्न्ने, नाक बन्द हुने, घाँटी दुख्ने, स्वाद वा गन्ध थाहा नपाउने र पखाला लाग्ने हुन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार लगभग २० प्रतिशत केसलाई विशेष किसिमको उपचारको आवश्यता पर्छ। संक्रमितमध्ये वृद्ध, गर्भवती, दीर्घरोगी जस्तै: उच्च रक्तचाप, मुटु र फोक्सोको समस्या, क्यान्सर, मधुमेह जस्ता समस्या भएका व्यक्तिहरु यो रोगबाट उच्च जोखिममा पर्छन्। यसरी जोखिममा रहेका व्यक्ति स्वंयमले पनि विशेष किसिमको सावधानी अपनाउनुपर्छ।
कोभिड-१९ नियन्त्रणका लागि केस इनभेस्टिगेसन तथा कन्ट्याक्ट ट्रेसिङ (सिआइसिटी)
कोभिड-१९ महामारी नियन्त्रण तथा व्यवस्थापनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केस अनुसन्धान तथा कन्ट्याक्ट खोज पड्ताल टिम परिचालन अन्तरिम निर्देशिका, २०७७ वैशाख ३० गते जारी गरेको थियो। उक्त निर्देशिकामा हरेक टिममा एकजना जनस्वास्थ्य अधिकृत, एकजना पारामेडिक्स अर्थात् नर्स र एकजना ल्याब असिस्टेन्ट वा टेक्निसियन गरी जम्मा ३ जनाको केस इनभेस्टिगेसन तथा कन्ट्याक्ट ट्रेसिङ टिम परिचालन गरिने उल्लेख छ। उक्त जनशक्ति हरेक गाउँपालिकामा १, नगरपालिकामा २, उपमहानगरपालिकामा ३ र महानगरपालिकामा ५ वटा गरी जम्मा १०७५ जना सबै स्थानीय तहमा परिचालन गर्ने उल्लेख छ। हाल सिआइसिटी टिम धेरैजसो स्थानीय तहमा बने पनि दक्ष जनशक्तिको अभावका कारण निर्देशिकामा उल्लेख भए बमोजिम छैनन्।
गठन भएका सिआइसिटी टिमलाई पनि केस इनभेस्टिगेसनका लागि भरिने 'ए फारम', कन्ट्याक्ट ट्रेसिङको लागि भरिने 'बि१ फारम' र फलोअपको लागि भरिने 'बि२ फारम' को तालिम धेरैजसो टिमले नपाएकाले कन्ट्याक्ट ट्रेसिङको काममा केही ढिलासुस्ती भएको हुनसक्छ। उक्त टिमलाई केस इनभेस्टिगेसन तथा कन्ट्याक्ट ट्रेसिङको तालिम र महत्व उपयुक्त समयमा दिन नसकेपछि उद्देश्य अनुसारको नतिजा दिन कठिन हुन्छ।
कोभिड-१९ मा दैलेखको अवस्था
नेपालमा कोभिड-१९ को केस पुष्टि भएको करिब चार महिनापछि पहिलो केस कर्णालीमा दैलेख जिल्लाको आठबीस नगरपालिकामा २०७७ जेठ ५ गते पुष्टि भएको थियो। ७ वटा गाउँपालिका र ४ वटा नगरपालिका भएको दैलेख केही भौगोलिक विकटता, सीमित स्रोत-साधन तथा जनशक्ति अभावका कारण महामारीसँग लड्न एक किसिमको चुनौती भए पनि, हाल जिल्लामा पिसिआर मेसिन जडानदेखि, दैनिक पोजेटिभ केस न्युनीकरणसम्मको सफलता पाएको छ।
भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले भारतमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने निर्णय गर्यो। अधिकांश कर्णालीबासीको रोजगारीको गन्तव्य भारत भएकोले कर्णाली प्रदेशको दैलेख लगायतका अन्य जिल्लामा भारतबाट आउने व्यक्तिको संख्या अनुमान गरेको भन्दा बढ्यो। यसरी भारतबाट आउने व्यक्तिहरु दिन प्रतिदिन बढ्दै गएपछि प्रत्येक पालिकाले आ-आफ्नो पालिकाका मानिसहरुलाई सीमानाकाबाट ल्याएर स्कुल, क्वारेन्टाइन स्थल र अन्य सार्वजनिक भवनमा सुरक्षित राखिए पनि सबैलाई एउटै साधनमा व्यक्तिगत सुरक्षा सामग्रीबिना यात्रा गर्दा जोखिम भयो।
क्वारेन्टाइनमा सामाजिक दूरी कायम नगरेर व्यक्ति स्वयं सावधन नभएकोले कतिपय क्वारेन्टाइनमा भान्सामा काम गर्ने व्यक्तिलाई पनि संक्रमण भयो। तर यस्तो किसिमको संक्रमण रोकथामको लागि व्यक्ति स्वयं अनुशासित, सभ्य तथा आवश्यक सुरक्षाका सावधानीहरु अपनाउने र आफूलाई सकेसम्म संक्रमण हुन नदिन नागरिकले पनि आफ्नो तर्फबाट भूमिका खेल्नु अति आवश्यक हुन्छ।
कतिपय क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन केही कमजोर देखिए पनि प्रचारमा आएजस्तो नाजुक अवस्था दैलेखका कुनै पनि स्थानीय तहमा छैन। दैलेखमा ७ सय ९२ संक्रमितमध्ये ७ सय ५६ जना डिस्चार्ज भइसकेका छन्। तसर्थ, समाचार तथा सामाजिक सन्जालमा प्रचार भएजस्तो भयाभह अवस्था दैलेखमा छैन।
सामान्य अनुमान गरिएको भन्दा दैलेखमा कोभिड-१९ को केस भने अत्यधिक देखिएको हो। यसरी केस बढ्नुमा पहिलो त भारतबाट नै संक्रमित भएर आए। दोस्रो, सीमा नाकाबाट प्रवेश गर्दा बाटोमा संक्रमितसँगको सम्पर्क र अर्को कारणमा क्वारेन्टाइनमा उचित व्यवस्थापन, परामर्शको अभाव तथा व्यक्ति स्वयंले सावधनी नअपनाएकोले संक्रमितको संख्या अत्यधिक भएको हो। कतिपय स्थानमा स्थानीय स्रोत-साधन उपलब्ध भएसम्मको व्यवस्थापन गरे पनि क्वारेन्टाइनमा रहेका व्यक्तिलाई बुझाउन नसकेको र स्वाब परीक्षणको नतिजा ढिला भएकोले एकआपसमा झडप भएको देखिन्छ।
छोटो समयमा संक्रमितको संख्या बढेपछि त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, प्रहरी प्रशासन, जनप्रतिनिधि लगायत अन्य कर्मचारीहरु अग्रपंक्तिमा बसेर काम गर्नुपर्ने बाध्यता भयो। यस्तो जटिल परिस्थितिमा व्यक्तिगत सुरक्षा सामग्रीको अभाव, उपलब्ध भए पनि उचित प्रयोग गर्ने तरिकाको कमी र उचित तरिकाले प्रयोग भए पनि एक दिनमा क्वारेन्टाइन लगायत अन्य ठाउँमा धेरै जना व्यक्तिसँग सम्पर्क हुने भएकोले दैलेखमा पनि स्वास्थ्यकर्मी, प्रहरी प्रशासन, जनप्रतिनिधि लगायत पत्रकार पनि सक्रमित भए। यो अवस्था दैलेखमा मात्र नभएर केही हप्ता अगाडि नेपालको तथ्यांक हेर्दा संक्रमितमध्ये सबैभन्दा बढी भारतबाट आएका र दोस्रोमा स्वास्थ्यकर्मी धेरै संक्रमित थिए। कुनै पनि व्यक्ति संक्रमितको सम्पर्कमा गएपछि आफैं क्वारेन्टाइनमा बस्नु पर्ने होर जनशक्ति अभाव र विशेष कामले गर्दा त्यो पनि सम्भव भएन। साथै दैनिक संक्रमितको संख्या पनि न्यून भएकोले अझ यसको व्यवस्थापनमा सहज भएको अनुमान गर्न सकिन्छ।
अन्त्यमा, भारत लगायत अन्य मुलुकबाट आउने व्यक्तिहरुको संख्यामा उल्लेख्य कमी आए पनि संक्रमणको जोखिम कायमै छ। अबको मुख्य चुनौती भनेको संक्रमितको सम्पर्कमा आएका व्यक्ति खोज्ने र परीक्षणको दायरामा ल्याउनुका साथै समुदाय स्तरमा लुकेका केस पत्ता लगाउनु हो। त्यसैले कोभिड-१९ को महामारी नियन्त्रणको हतियार भनेकै कन्ट्याक्ट ट्रेसिङ हो। हामीले जति सक्दो छिटो (२४-४८ घन्टाभित्र) कन्ट्याक्ट ट्रेसिङ गर्यौं, त्यति नै संक्रमण फैलिने सम्भावना कम हुन्छ। यसरी ट्रेसिङ गरेपछि समुदायमा संक्रमणको अवस्था र त्यसको गहिराइ बारेमा सुनिश्चित गर्नुका साथै संक्रमणको जोखिममा रहेका व्यक्तिहरुलाई ठिक समयमा सुरक्षित राख्न सकिन्छ।
(इपिडिमियोलोजी विषयका अध्यापक थापा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट सिआइसिटीका लागि जनस्वास्थ्य अधिकृतको रुपमा दैलेखमा कार्यरत थिए।)