तीर्थराज अधिकारी
कोरोना महामारी सुरु हुनुभन्दा एक महिना पहिले म इटालीबाट नेपाल फर्केको थिएँ। त्यसको ठिक एक महिनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियुक्ति बुझेर मैले क्यान्सर अस्पतालमा काम गर्न सुरु गरेको थिएँ। नयाँ ऊर्जाका साथ काम सुरु गरेको मात्र के थिएँ, नेपालमा एकपछि अर्को कोरोना संक्रमण थपिँदै गयो।
इटालीमा कोरोनाले पारेको असरले मेरो मन बेचैन भइरहेको थियो। त्यहाँको बलियो स्वास्थ्य व्यवस्थालाई तहसनहस बनाएको कोरोनाले नेपालमा पुर्याउने असरले म आत्तिएको थिएँ। म इटालीको स्वास्थ्य व्यवस्थासँग राम्रै परिचित भएकोले र नेपालको स्वास्थ्य व्यवस्थामा काम गर्न थालेकोले साँच्चै नेपालमा कोरोनाले महामारीको रुप लियो भने हालत के होला भनेर मलाई निकै चिन्तित बनाएको थियो।
बन्दाबन्दीको सुरुको करिब एक हप्ता अस्पतालमा कोरोनाको डरले उपचार बन्द भयो। बिरामीले पाउनुपर्ने उपचार पाएनन्। उपचार गरिराखेका बिरामीहरु उपचार बीचमै छोडेर घर फर्किनुपर्यो। जोसँग पैसा थियो, उनीहरु महँगो एम्बुलेन्स भाडा तिरी घर फर्के भने पैसा तिर्न नसक्ने बिरामी र उनका आफन्तहरु अस्पताल वरिपरिको होटेलमा बस्न थाले। करिब एक हप्तापछि अस्पतालले आंशिक रुपमा उपचार सुरु गर्यो। नजिकैका बिरामीहरुले छुटेको उपचार लिए। जो टाढा थिए, ती आउन सकेनन्।
अस्पतालका वार्ड, बिरामी कुरुवा घर लगायत सबै ठाउँ बिरामी र आफन्तले भरिएका थिए। अस्पतालको ओपिडीमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी बिरामीदेखि डराउँथे। अलिअलि चेक-जाँच गरेर औषधि दिई बिरामीलाई फर्काइन्थ्यो।
जब कोरोनाका बिरामी बढ्दै गए, तब अस्पताल वरिपरिका होटेलहरु डरले बन्द भए। टाढाबाट आउने बिरामीले होटेलमा बस्न पाएनन्। बिरामी बाहिरी जिल्लाबाट आए भने मानिसहरु झन् डराउँथे। अस्पतालमा उपचार लिइरहेका बिरामी जो नजिकैको होटेलमा बस्थे, उनीहरु अब अस्पतालका सडकछेउ, बगैंचा, बरण्डा, जहाँ खाली ठाउँ छ त्यहाँ चटाई, पाल आदि बिछ्याएर बस्न थाले।
नयाँ भर्ना हुने बिरामीहरुले निकै दु:ख पाए। उनीहरु सिधै इमर्जेन्सीमा भर्ना हुनुपर्थ्यो र त्यहाँबाट उपचार प्रक्रिया सुरु भएपछि अवस्था हेरी उनीहरुलाई घर फर्काउने वा अरु उपचारको लागि सिफारिस गर्ने गरिन्थ्यो। त्यसरी सिफारिस भएका बिरामी र कुरुवाको खाने-बस्ने कुनै ठेगाना हुँदैनथ्यो। उनीहरु अस्पतालको बरण्डामा रात बिताउँथे। खुला ठाउँमा आफै खान पकाएर खानुपर्थ्यो उनहरुले।
वैशाखको महिना कैयौं दिन बिरामीका कुरुवाले अस्पताल परिसरमा खाना पकाउँदै गर्दा हावाहुरीले बलिरहेको ग्यास निभाउँदा, भाँडा उडाउँदा, पानी परेर खाना पकाउन नमिलेको दृश्य देख्दा मनै चसक्क हुन्थ्यो। सिंढीको मुनि चटाई बिछ्याएर त्यसमै खाना पकाउनु र सुत्नु यो विपत्तिले बाध्य पारेको थियो, बिरामी र कुरुवाहरुलाई। जब अस्पताल परिसरमा आफ्नो ड्युटीको लागि गइन्थ्यो, अस्पताल बरण्डाको दायाँबायाँ बसेका बिरामी र निन्याउरो अनुहारका कुरुवा देख्दा मन थाम्न गाह्रो हुन्थ्यो।
क्यान्सर उपचार लामो उपचार प्रक्रिया हो। लामो समयसम्म त्यसरी बाहिर खुला आकाशमा बस्दा बिरामीलाई झन् अफ्ठेरो हुन्थ्यो भने बिरामी कुरुवा आफैं बिरामी हुने अवस्थामा पुग्थे। अस्पताल परिसरमा खुला आकाशमुनि रात बिताउने ती निमुखा बिरामी र उनका आफन्तको पीडाले अस्पताल प्रशासनलाई भने दुख्दैनथ्यो/छुँदैन्थ्यो। अस्पताल प्रशासनले ती बिरामीलाई व्यवस्थापन गर्ने उपाय हुँदा पनि मतलब गरेको देखिएन।
नेपालकै ठूलो र केन्द्रीय क्यान्सर अस्पताल भए पनि यहाँ स्थानीय तह, जिल्ला प्रशासन, प्रदेश वा केन्द्र सरकार कसैको नजर परेको देखिएन। बिरामी तथा उनका आफन्तहरुलाई अस्पतालका खाली ठाउँहरु जस्तो: जस्तो ओपिडी कोठाहरु (नियमित चेक-जाँच सकिएपछि), त्यसको वरपरका बरण्डाहरु, विभिन्न विभागका खाली ठाउँहरुमा बिरामीलाई रातको समयमा ओत लाग्न दिएको भए कम्तीमा उनीहरु रातमा चैनले सुत्न त पाउँथे! तर अस्पाताल प्रशासनले बिरामी र उनका आफन्तले फोहोर गरिदिन्छन् भनेर बस्न दिएन। प्रशासन पूर्ण रुपमा निकम्मा देखियो भने स्थानीय सरकारले-महानगरले कुनै वास्ता गरेन। तर राजनीतिक पहुँच वा चिनजान वा माथिको आदेशमा आउने बिरामीले उपचार-सुविधापाउँथे/पाइरहे।
अस्पतालका कर्मचारीहरु हाजिरी मात्र गर्न आउँथे, कतिपय। तिनलाई बिरामीलाई परेको अफ्ठेरोको कुनै पर्वाह छ जस्तो लाग्दैनथ्यो। क्यान्सर उपचार बहु-अनुशासनिक उपचार प्रक्रिया हो। म आफैं भने बिरामीले पूर्ण सेवा पाउनुपर्छ भन्ने सोच्थें। कोरोना जब इटालीमा सुरु भयो, मैले खासै ध्यान दिइनँ, नेपालीको जस्तै। तर जब नेपालमा एउटा, दुई वटा गरी केस थपिँदै गयो मेरो ध्यान आकर्षित भयो। झन् इटालीको समाचारले म निकै त्रसित भएँ।
इटालीमा रहेका साथी-भाइ र मेरो क्लिनिकल सुपरभाइजरसँग सम्पर्क गरी जानकारी लिएँ। त्यसपछि मैले विश्व स्वास्थ्य संगठनको आठ वटा अनलाइन तालिम लिएँ, कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी। त्यसपछि मेरो मनोबल बढ्दै गयो। कोरोना सम्बन्धी सम्पूर्ण जानकारी आफूले पढेपछि मेरो आत्मबल बढेको थियो।
मैले हासिल गरेको कोरोना सम्बन्धी जानकारीले आत्मबल बढेसँगै म क्यान्सर बिरामीले सम्पूर्ण उपचार बिनाहिच्किचाहट पाओस भन्ने चाहन्थें। तर अस्पताल प्रशासनले मातहतका कर्मचारीलाई कोरोना रोग र त्यसले पर्ने असर तथा बच्ने उपायबारे उनीहरुलाई निश्चिन्त बनाउन सकेन। अस्पतालले स्वास्थ्यकर्मीहरुलाई उनीहरुले मागेअनुसारको सुरक्षा सामग्री दिन सकेन, सम्भव पनि थिएन। फलस्वरूप उनीहरुमा कोरोनाको त्रास बढ्यो। उनीहरु कोही पनि काम गर्ने मनस्थितिमा भएको पाइएन। अस्पताल परिसरमा पुगेर हाजिर/गफ गरी फर्किन्थेउँ हामी। हामीजस्तै अस्पतालका अरु कर्मचारी पनि हाजिर-गफ गरी फर्किन्थे।
आफ्नो ज्यान र परिवारको चिन्ता हरेक मानिसलाई लाग्छ। तर सार्वजनिक जागिर गरिसकेपछि त्यस अनुसारको परिणाम दिनसक्नु वा दिन तयार हुनुपर्छ। त्यो भावना कुनै पनि कर्मचारीमा देखिएन। अस्पतालको माथिल्लो निकाय नै बिरामीको उपचारमा उदासिन थियो। आफ्नो मातहतको कर्मचारीलाई उचित परामर्श दिई काममा लगाउन नसक्नु अस्पताल प्रशासनको असफलता हो। प्रशासनले त्यस्तो गर्नु आफ्नो कर्तव्य ठानेनँ।
नेतृत्वको परीक्षा संकटको घडीमा हुन्छ। तर असहज परिस्थितिमा नेतृत्वले आफूलाई मात्र सुरक्षित राखी संकटमोचन गराउन खोज्नु पटमुर्खता हो। देशकै प्रमुख क्यान्सर उपचार केन्द्र भएको र क्यान्सरका बिरामीलाई विश्व स्वास्थ्य संगठनले अति जोखिम बिरामीको रुपमा राखेकोले क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी त्रसित हुनु स्वभाविक थियो। तर अचम्म, राज्यले त्यत्रो रकम कोरोना संक्रमण रोक्नको लागि खर्च गर्दा पनि क्यान्सर अस्पताललाई प्राथमिकतामा राखेको देखिएन। न कुनै तयारी देखियो, न कुनै योजना नै। यस्तोमा कर्मचारीलाई कममा लगाउनु गाह्रो थियो।
महामारीमा हरेकलाई आफ्नो जीवन सुरक्षाको चिन्ता हुनु स्वभाविक हो तर नेपालमा महामारीले वुहान वा इटालीको जस्तो भयावह रुप लिएको अवस्था त थिएन। चित्कित्सक तथा स्वास्थ्यकर्मीले कोरोना संक्रमणको सुरुवाती चरणमै बिरामीलाई हेर्न छोडेको देखेर म अचम्म पर्थें। अचम त के भने, तल्लो तहको नन-क्लिनिकल कर्मचारीभन्दा चित्कित्सक तथा स्वास्थ्यकर्मी बढी आत्तालिएका देखिन्छन्, जसलाई कोरोना रोग संक्रमण तथा बच्ने उपाय थाहा हुन्छ।
अस्पतालमा कार्यरत सबैलाई सम्पूर्ण स्वास्थ्यसम्बन्धी जानकारी हुँदैन। अस्पतालमा चित्कित्सक/स्वाथ्यकर्मी बाहेक सरसफाइ गर्ने, बिरामी ओसार-पसार गर्ने, चित्कित्सक/स्वास्थ्यकर्मीलाई सहयोग गर्ने, बिरामीको फाइलहरु सार्ने, फोहोर व्यवस्थापन गर्ने लगायत व्यक्तिहरु सामान्य लेखपढ मात्र हुने भएकोले उनीहरुमा सरुवा रोग सम्बन्धी जानकारीको कमी हुन्छ।
कुनै एक व्यक्तिको अज्ञानतावस रोग फैलिए त्यसले ठूलो महामारी निम्त्याउन सक्छ। तसर्थ, अस्पतालमा कार्यरत नन-क्लिनिकल कर्मचारीलाई संक्रमण रोग सम्बन्धी उत्प्रेरणा जगाउनेखाले सेमिनार, व्याख्यान, कार्यशाला दिनु बुद्धिमानी हुन्छ। कुनै पनि महामारी फैलिए वा फैलिने अवस्था आए सबैभन्दा पहिला आफू सो रोग सम्बन्धी जानकार हुनु आफ्नो स्वास्थ्यको लागि महत्वपूर्ण हो। आफुलाई सो सम्बन्धी जानकारीले मानसिक रुपमा फिट भइन्छ भने अरुलाई सजग गराउन वा पर्ने असर र बच्ने उपायबारे बताउन सकिन्छ।
कोरोना महामारीबाट हामीले पाठ सिकेर भविष्यमा आइपर्ने महामारीबाट बच्न पूर्वतयारी गर्नुपर्छ। खासगरी सरकार तथा सम्बन्धित मन्त्रालयले महामारीबाट बच्न दीर्घकालीन पूर्वयोजना बनाउनुपर्छ र सो सम्बन्धी तयारी हुनुपर्छ। यति गरे महामारीबाट पार पाउन सकिन्छ।
(अधिकारी अन्तर्राष्ट्रिय मान्यताप्राप्त रेडियसन ओङ्कोलोजी फिजिसिस्ट हुन्।)