धेरै देश कोभिड-१९ र त्यसले निम्त्याएको लकडाउनबाट कसरी सावधानीपूर्वक बाहिर निस्किने भन्ने विषयमा सोच्दै गर्दा हामीमध्ये कतिपय भने अफिसमै गएर कहिले काम गर्ने होला भनेर सोच्दैछौँ। तर, कोरोना भ्याक्सिनको अभावमा कामदारहरु सुरक्षित साथ कार्यालयमा काम गर्ने वातावरण बन्नका लागि कामको तौरतरिकामा परिर्वतन हुनु जरुरी छ।
विज्ञहरूका अनुसार कर्मचारीलाई अफिसमै काम गर्ने वातावरणको निर्माणका लागि उनीहरुको मनोबल बढाउनु पर्ने हुन्छ। अल्पकालीन उपायका रुपमा कर्मचारी समायोजन गर्ने प्रक्रियामा जान सकिन्छ। जसका लागि एकै समयमा सबै कामदार अफिस आउनुपर्ने स्थितिलाई कम गर्न सकिन्छ। दीर्घकालीन उपायका रुपमा अफिसको डिजाइनलाई परिर्वतन गर्दै अफिसको स्वच्छता बढाउने उपायमा विशेष ध्यान दिनुपर्छ।
कार्यालय सुचारु गर्ने पहिलो चरणमा अफिसको डिजाइनमा केही परिर्वतन गर्दै कर्मचारीको सुरक्षामा ध्यान दिनुपर्ने बताउँछन् युनिस्पेसका ग्लोबल स्ट्राटिजी डाइरेक्टर अर्बट डि प्याजोला। ‘हामी भाइसरसँग धेरै वर्ष सँगै बस्यौं होला तर हाम्रो पुस्ताले महामारीको अनुभव गरेको यो पहिलो पटक हो। त्यसैले त्यो काल्पनिक होस् अथवा वास्तविक रूपमा, हामी हाम्रो स्वास्थ्यको जोखिमलाई लिएर उच्च सतर्क भएका छौँ। यस्तै कम्पनी सञ्चालक पनि कामका दौरान कोही कर्मचारी अस्वस्थ भएमा त्यसले उसलाई पार्ने आर्थिक बोझका विषयमा उच्च सतर्क भएका छन्।’
त्यस्तो अनिश्चितताका बीच तत्काल केही महत्वपूर्ण परिर्वतन गर्न पनि सम्भव नभएको बताउँछन् सान फ्रान्सिस्कोमा फेसबुक र याहुमा काम गरेका डि प्याजोला। समस्या एकदम जटिल हुँदाहुँदै पनि त्यसलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्ने हुन्छ। त्यसका लागि आगामी ६ महिनासम्म (कोभिड–१९ का विषयमा बढ्दै गरेको हाम्रो धारणा) प्रभावकारी नहुने भन्दै समाधानका उपायमा लगानी गर्न कोही पनि इच्छुक छैनन्।
‘स्निज गार्ड’सानो लगानीमा ठूलो उपलब्धि दिने एक किसिमको सामग्री हो। न्यूयोर्कस्थित पर्किन्स र विलमा रहेका कम्पनीमा इन्टेरियर डिजाइन निर्देशक ब्रेंट क्यापरोन कार्यालयमा सामाजिक दूरी कायम गर्नका लागि स्निज गार्डको प्रयोग गर्न सल्लाह दिन्छन्। ‘यसअघि कार्यालयहरुमा गोपनीयता र होहल्ला नहुने किसिमका हुन्थे तर अहिले भने कर्मचारीमा दूरी कायम गर्ने खालका हुन्छन्। कम्तिमा भ्याक्सिन पत्ता नलाग्दासम्म कार्यालयमा सहकर्मीसँग दूरी बनाउँदा नै हामी सुरक्षित हुन्छौँ,’ उनी भन्छन्।
कार्यालयमा कामको बाँडफाड
सामान्यतया धेरैले कर्मचारी उपस्थित भएर सञ्चालन गर्नुपर्ने किसिमका कार्यालयलाई पनि रोक्दै त्यसलाई सानो तथा निजी अफिसमा परिणत गरिरहेका छन्। सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थाको अन्त्य नहुँदासम्म साँघुरो कोठालाई नै कार्यालयको रुपमा प्रयोग गर्न सकिनेछ। यद्यपि, सिड्नीस्थित आर्किटेक्चर र कन्सल्टेन्ट प्याक्टिस वुड्स बगोटका प्रमुख वास्तुकार अमान्डा स्टैनवेका अनुसार नयाँ किसिमका कार्यालय योजनाले कार्यस्थलको संस्कृति र सञ्चारका लागि सीमित फाइदा पुर्याएकाे हुन्छ।
उनका अनुसार, उनका केही ग्राहक यस्तो किसिमको विभाजित कार्यालय पद्धतिमा निकै आकर्षित छन्। धेरै कर्मचारी भएको तुलनामा थोरै कर्मचारी भएको कार्यालयमा कोभिड-१९ को महामारीबाट बाँच्न सकिने प्रवल सम्भावना भएकाले पनि उनीहरुको यसप्रतिको आकर्षण बढेको हुनसक्ने उनको तर्क छ। ‘सानो समूहमा काम गर्दा सबैको स्वास्थ्यको ख्याल राख्न सकिन्छ,' उनी भन्छिन्‚ ‘एउटा व्यक्ति संक्रमित भएको अवस्थामा कार्यालय नै बन्द गर्नुपर्ने अवस्थामा पनि पुगिँदैन।’
सरकारले लकडाउन पूर्ण रुपमा हटाउँदा पनि केही समयका लागि हामीले घरबाटै काम गर्ने सम्भावना धेरै छ। सानो समूहमा काम गर्ने संस्कृति यस्तो बेला मानक बन्न सक्छ।
कार्यालयहरुले कार्यस्थलमै आउनुपर्ने कर्मचारी को-को हुन् भनेर छुट्याउन थालेका छन्। निश्चित दूरी कायम गर्दै काम गर्न सहज होस् भन्नका लागि ३० प्रतिशत कर्मचारी कम्पनीले कटौति गर्दै गरेको बताउँछन् भन्छन् डि प्याजोला। नयाँ कार्यालय सञ्चालन गर्ने व्यक्तिहरुले घरलाई नै कार्यालयको मान्यता दिने अवस्थाको विकास हुने उनी ठान्छन्। जसले स्वास्थ्यस्थितिको ख्याल राख्दै नयाँ स्टार्टअप व्यवसाय सञ्चालन गर्न यसले टेवा पुर्याउने उनी बताउँछन्।
स्टैनवेका अनुसार घर र कार्यालय दुवै भ्याउने महिलाहरुलाई यस किसिमको व्यवस्थाले सहज बनाउँछ। त्यसैगरी घर छोडेर कामको खोजीमा अकै सहरमा संघर्ष गर्दै आएका मानिसलाई पनि यो व्यवस्था सहज हुनेछ। हालको समयमा कार्यालयका विषयमा भइरहेका विभिन्न टिपप्णीलाई उनी उचित मान्दिनन्।
‘हो, धेरैजसो मानिस पैसा कमाउनका लागि काम गर्छन्। तर त्यतिमात्रै होइन, हामी सबै एकै ठाउँ आएर समस्या समाधान गर्न पनि कार्यालय आउछौं। हामीले गएको केही समय यस्तो सामिप्यताबाट वञ्चित भयौँ जुन मानिसका लागि अत्यावश्यक हुन्छ,’ उनी भन्छिन्।
अस्पतालजस्तो कार्यालय
विज्ञहरुको बुझाइअनुसार कोभिडजस्तो महामारीलाई लक्षित गर्दै कार्यालयमा पनि अस्पतालजस्तै वातावरण सिर्जना गर्नु उपयुक्त हुन्छ। कार्यालयका लागि भवन डिजाइन गर्दा नै यस्ता किसिमका रोगहरू श्वासप्रश्वासका माध्यमबाट सर्न नसक्ने किसिमका भवनहरू निर्माण गर्दा पनि सजिलै कार्यालयहरू सञ्चालन गर्न सकिन्छ। ‘कार्यालय निर्माणमा सबैभन्दा ध्यान दिइएको विषय भनेको धेरै सफा गर्दा पनि त्यसको स्थायित्वमा फरक नपर्ने किसिमको समग्रीको प्रयोगमा जोड दिइएको छ। काठको प्रयोग गरिने ठाउँमा त्यसको विकल्पका रुपमा ढुङ्गाको सामान प्रयोग गरिएको छ।’ उनी चिसो सोस्ने किसिमको कार्पेटको खोजीमा रहेको बताउँछन्।
‘लामो समयसम्म चल्ने यस्ता सामग्री त्यसको विकल्पका रुपमा प्रयोग हुने सामग्रीजस्तै महंगा हुन्छन् भन्ने छैन’ उनी भन्छन्। यस्तो आर्थिक तरलताको अवस्थामा पनि केही संस्थाले महङ्गो सामग्री खरिद गर्ने चाहना राख्न सक्छन्। ‘सामानको लागत मुख्य कुरा होइन, एउटाको सट्टामा अर्कोलाई के आधारमा छनौट गर्ने भन्ने विषय प्रमुख हो’, क्याप्रोन भन्छन्।
कुनै पनि कार्यालयलाई अस्पतालको जस्तै ढाँचामा ढाल्नका लागि रिसेप्सन र आवतजावत भइरहने स्थानबाहेक अन्य स्थानमा पनि हात धुने स्थानको व्यवस्था गर्न सकिन्छ। ‘मलाई कार्यालयमा वा सार्वजनिक स्थानमा छिर्दा हात धुने संस्कार विकास भएको देख्दा खुसी लाग्छ’, क्याप्रोन भन्छन्।
हामी कार्यालयको बनावट विशेषगरी चक्कर लगाउनुपर्ने स्थान नै परिर्वतन होस् भन्ने चाहन्छौं। ‘डाक्टरहरुको काम एकदम महत्वपूर्ण हुन्छ। यस्तो चक्कर लगाउनुपर्ने स्थान हट्यो भने एक स्थानबाट अर्को स्थानमा पुग्ने समयको बचत हुन्छ। हामी पनि एक ठाउँबाट अर्को ठाउँमा जाँदा सिधा जान सक्छौँ र त्यो बाटोमा के छोयौँ भन्ने हेक्का राख्न सक्छौँ।’
गोपनीयता र स्व-नियन्त्रण
प्रचलनमा आउन सक्ने अर्को चलन भनेको ‘सम्पर्क कम हुने कार्यालय’ भएको विज्ञहरु बताउँछन्। आर्थिक रुपमा सक्षम संस्थाले यस्तो कार्यालय सञ्चालन गर्ने उनीहरुको मत रहेको छ।
उदाहरणका लागि सबै कर्मचारीहरुले थिच्नैपर्ने किसिमका उपकरण जस्तैः लिफ्ट र कफी मेशिनमा रहेका बटनलाई मोबाइल फोनबाटै सञ्चालन हुनसक्ने किसिमको प्रविधि जडान गर्न सक्नेछन् (अहिले पनि पार्किङ र विलको कार्यालयमा यस्ता किसिमका कफी मेशिन रहेका छन्।)
केही कार्यालयहरुले आफ्ना कर्मचारीको स्वास्थ्य अवस्थाका विषयमा सख्त हिसाबमा निगरानी राख्ने विषयमा पनि चर्चा नगरेका भने होइनन्। यसका लागि कर्मचारीहरूको डेस्कमा एक प्रकारकाे तापक्रम नाप्ने यन्त्र जडान गर्ने विषयमा चर्चा भएको छ। यस्ता यन्त्रले कोही कर्मचारीको तापक्रम बढी भएको अवस्थामा स्वचालित हिसाबमा आवाज निकालेर जानकारी दिन्छन्।
‘यस्ता किसिमका यन्त्र पहिला पनि जडान भएका हुँदा सञ्चालन गर्न खासै गाह्रो पनि हुँदैन,’ डी प्यालाजो भन्छन्, ‘तर यस्ता यन्त्रले कर्मचारीको गोपनीयता भने भङ्ग गर्छ त्यसैले मानव संशाधन विभागका कानुनी सल्लाकारहरुले यस्ता उपकरण राख्ने अथवा नराख्ने भन्ने विषयमा छलफल गर्न आवश्यक हुन्छ।’
केही संस्थाहरुले यस्ता खालका उपकरण जडान गरिसकेका छन्। सिड्नीस्थित डिकेन डाटा नामको एक आइटी सामग्रीको होलसेल विक्रेता कम्पनीले यो जडान गरेको छ। उनीहरुले करीब ६४७० अमेरिकी डलर बराबरको थर्मल स्क्यानर जडान गरेका छन्। तापक्रम बढी भएका मानिस नजिक आउँदा यो स्क्यानरले स्वचालित हिसाबमा आवाज निकाल्छ। त्यहाँ कम्पनीका म्यानेजरलाई कर्मचारी बिरामी भए/नभएको जानकारी राख्ने जिम्मा दिइएको छ।
केही घटनाहरु यस्ता थिए‚ जहाँ हामीले हाम्रा कामदारालाई घर फर्किन भन्यौँ। त्यसले उनीहरुलाई आफू सुरक्षित भएको महसुस गराएकोमा विश्वस्त छन् म्यारी स्वभेस्की, जो कम्पनीको प्रमुख वित्तीय अधिकारी हुन्। 'थर्मल स्क्यानर प्रयोग गर्दा कसैले आपत्ति जनाएनन्,' उनी भन्छिन्, ‘जब अक्टोबरमा अफिसको नयाँ भवन तयार हुनेछ चार सय कर्मचारीदेखि अन्यले पनि पनि थर्मल स्क्यानर पास गरेर मात्रै भित्र प्रवेश पाउनेछन्।’
आओदान म्याकक्यातोमाई आफैं सुरक्षित हुने कुरामा बढी विश्वास गर्छन्। सिड्नीस्थित गार्बेज कम्पनी व्यस्टरले हाल आफ्नो नयाँ कार्यालयका लागि उपयुक्त स्थान खोजिरहेको छ। उनीहरुसँग स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने धेरै सामग्रीको सूची भए पनि तापमान नाप्ने उपकरण नकिन्ने पक्षमा छन् उनी। ‘नकारात्मक कुराले फाइदामा असर पुर्याउँछ। व्यक्तिगत विषयमा धेरै चासो राखियो भने उनीहरूलाई अप्ठ्यारो महसुस हुन सक्छ।’
आउने महिनाहरुमा कोरोनाको भ्याक्सिन विकास भए पनि महामारीसँग जुधेर बाँचेको हाम्रो अनुभवले दीर्घकालसम्म प्रभाव पार्नेछ र त्यसले पहिलेदेखि नै गरिँदै आएको हाम्रो कार्यालयकाे कामको तौरतिरकामा परिर्वतन गर्नेछ। यदि केही भएन भने पनि बिरामी भएका अवस्थामा पनि अफिस आएर काम गर्नुपर्ने बाध्यतालाई सामाजिक रुपमा नै अस्वीकार गरिनेछ। अर्कोतर्फ स्वास्थ्य र स्वच्छताको विषयमा ध्यान केन्द्रित हुँदा नयाँ परिवेशमा काम गर्दाको अनुभव छुट्टै हुनेछ।
जेसिका मुदितले बिबिसीका लागि १५ मेमा लेखेको यो लेख परीक्षा सापकोटाले भावानुवाद गरेकी हुन्।