प्राडा पशुपति चौधरी
फिजियोथेरापी अर्थात् भौतिक चिकित्सा भन्नाले एक वैज्ञानिक आधुनिक चिकित्सा पद्धति हो। जसमा बिना साइड इफेक्ट मानव शरीरका विभिन्न अंग तथा प्रणालीहरु (नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार आदि) मा आउने समस्या वा क्षतिलाई विभिन्न आधुनिक विद्युतीय तथा अन्य उपकरण, शारीरिक व्यायाम, जीवनशैली सुधार आदिको प्रयोग गरी पहिलेजस्तो स्वतन्त्र जीवनशैली वा कार्यशैलीमा फर्काउने, जीवनस्तरमा सुधार ल्याउने र समुदायमा शारीरिक पुन:स्थापना गराउने कार्य गरिन्छ।
स्वास्थ्य उपचारका विधि रोगअनुसार धेरैथरीका हुन्छन्। रोगको प्रकृति र उपचार गर्ने विधि एउटै हुँदैन। फिजियोथेरापी गर्ने तरिका पनि त्यस्तै छ। समस्या नबुझी रोगको अवस्था नहेरी अज्ञान र अल्पज्ञानले फिजियोथेरापी गर्दा रोगहरू झनै जटिल हुन्छन्।
सामान्यतया फिजियोथेरापी मेसिनको सहायताले वा शारीरिक कसरतबाट रोग निदान गर्ने तथा पीडा कम गर्न सघाउने उपचार विधि हो। फिजियोथेरापीको मुख्य काम भनेको मानिसलाई सक्रिय बनाउनु, क्रियाशील बनाउनु, रोगीको अवस्थालाई पुरानै जीवनशैलीमा ल्याउन मद्दत गर्नु हो। कतिपय अवस्थामा एउटा रोगको कारणले शरीरका विभिन्न अंगमा असर पारिरहेको हुन्छ। जसले गर्दा मानिसको जीवनशैलीमा नकारात्मक असर पुर्याइरहेको हुन्छ। औषधिको प्रयोगविना विभिन्न तरिकाबाट गरिने थेरापी नै फिजियोथेरापी हो।
अर्थोपेडिक फिजियोथेरापीमा हाडजोर्नी तथा नशासम्बन्धी समस्याको उपचार गरिन्छ। काम गर्ने तरिका नमिलेर कमजोर भएका मासंपेसीको उपचार, हड्डी च्यापिएका, क्याल्सियमको कमीका कारण हड्डी बांगिएको, हड्डी कमजोर भएका बिरामीका लागि यो विधि अपनाउने गरिन्छ।
के हो फिजियोथेरापी?
सामान्य भाषामा थेरापीको अर्थ उपचार भन्ने हुन्छ। व्यायाम वा मेसिनको माध्यमबाट शारीरिक उपचार गर्नु फिजियोथेरापी हो। हाडजोर्नी सम्बन्धी अर्थोपेडिक फिजियोथेरापी, नशासम्बन्धी न्युरो फिजियोथेरापी, खेलकुदसँग सम्बन्धित स्पोर्ट्स फिजियोथेरापी, मुटुसँग सम्बन्धित कार्डियो एन्ड पल्मोनरी फिजियोथेरापी, वृद्धवृद्धासँग सम्बन्धित जेरियाट्रिक र बालबालिकासँग सम्बन्धित पेडियाट्रिक गरी विभिन्न किसिमका थेरापी हुन्छन्।
फिजियोथेरापी औषधि विज्ञानको महत्वपूर्ण भाग हो। भौतिक चिकित्सा विज्ञान पद्धतिद्वारा यसको उपचार गरिन्छ। जसमा औषधिको प्रयोगभन्दा पनि शरीरका जोर्नीहरू, चिसो–तातोको प्रयोग तथा मांसपेसीका तन्तुलाई चलाएर उपचार गरिन्छ। फिजियोथेरापी हड्डी खिइएको दुखाइ कम गर्न, व्याकपेन कम गर्न, मसल टाइट हुँदाको समस्याबाट मुक्त हुन र अन्य लिगामेन्ट लगायतका समस्याका समाधानका लागि उपयुक्त उपचार विधि हो।
स्वास्थ्य उपचारका विधि रोगअनुसार धेरैथरीका हुन्छन्। रोगको प्रकृति र उपचार गर्ने विधि एउटै हुँदैन। कुन रोगलाई कुन विधि उपयुक्त हुन्छ त्यसलाई सम्बन्धित विषयज्ञाताले मात्र जान्ने कुरो हो। समस्या नबुझी रोगको अवस्था नहेरी अज्ञान र अल्पज्ञानले फिजियोथेरापी गर्दा रोगहरू झनै जटिल हुन्छन् भन्ने कुरा सबैले बुझ्नुपर्ने हुन्छ।
कस्ता व्यक्तिमा समस्या हुन्छन?
• कार्यालयमा कम्प्युटरमा काम गर्ने व्यक्ति,
• सवारी चालक, निहुँरिएर काम गर्ने।
• बाइक चलाउने, गृहिणी र भारी ब्याग बोक्ने।
• बच्चाको हाडजोर्नी र स्नायुमा समस्या देखिने गरेको छ।
• अधिकांश समय एउटै पोजिसनमा बसेर काम गर्ने।
फिजियोथेरापीबाट उपचार हुने रोग तथा समस्या
ढाड, कम्मर, गर्दन दुख्ने समस्या
हाडजोर्नी तथा नशा सम्बन्धी समस्या (नशा च्यापिनु, जोर्नी खिइनु, हाडजोर्नी बांगो हुनु),
प्यारालाइसिस तथा अन्य स्नायु प्रणालीका समस्या (प्यारालाइसिस भएर हड्डी बांगिनु वा नचल्नु)
मेरुदण्ड सम्बन्धी समस्या
मांसपेसी सम्बन्धी समस्या
श्वासप्रश्वास सम्बन्धी समस्या
प्रजनन तथा अन्य स्त्रीरोग सम्बन्धी समस्या
बालबालिकाको ढिलो शारीरिक विकास तथा अन्य शारीरिक समस्या
खेलकुदबाट उत्पन्न हुने चोट तथा समस्या
हाड भाँचिएपछि जाम तथा विकृत हुने समस्या
जन्मजात वा चोटपटकबाट अपांग हुनु
रोगका कारण मुखको हड्डी नचल्नु
फिजियोथेरापी उपचारका फाइदा
उपचारपछि नकारात्मक असर (साइड इफेक्ट) नहुने।
बिरामीको शारीरिक क्षमतामा वृद्धि हुने।
दुखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन मद्दत गर्ने।
अपाङ्गता वा अशक्तता कम गरी स्वतन्त्र जीवनशैली तथा कार्यशैलीमा फर्काउने।
समुदायमा शारीरिक पुन:स्थापना गराउने।
विभिन्न शारीरिक समस्या आउन नदिन सजग गराउने।
शारीरिक समस्यालाई सरल तवरले नियन्त्रण गर्न सावधानीका उपायहरु बताउने।
स्वस्थ व्यक्तिलाई शारीरिक समस्या आउन नदिन सही तवरले कार्य गर्न उपाय सिकाउने। तथा शारीरिक जाँच गरी तरिकामा सुधार ल्याउने।
(डा चौधरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख हुन्।)