लरेन निरगार्ड
वासिङ्टन- मेयो क्लिनिकका अनुसन्धाताहरुले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा भने पुष्टि भइसकेको छैन। प्रभावकारी उपचार पद्धतिको व्यापक खोजी भइरहँदा कतिपय विज्ञहरुले भने प्लाज्मा थेरापीमा रहेका अस्पष्टताप्रति चिन्ता व्यक्त गरेका छन्।
संयुक्तराज्य अमेरिकामा ६४ हजारभन्दा बढी कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गरिएको छ। खोप (भ्याक्सिन) विकास गर्नुअघि सयौं वर्षदेखि यो विधि विभिन्न ज्वरो (फ्लू) र दादुराका बिरामीको उपचारका लागि प्रयोग हुन्थ्यो।
नयाँ नयाँ रोग निस्कँदा औषधि र खोप दुवै नहुँदा मानिसको जीवन जोखिममा पर्नु स्वाभाविक हो। यस्तो आपतकालीन स्थितिमा वैज्ञानिकहरुले प्लाज्मा थेरापीलाई तत्कालै उपलब्ध विधिका रुपमा प्रचलनमा ल्याउने गरेका छन्, तर यो विधि सबै किसिमका संक्रमणमा सफल भएको छैन।
हालसम्म कोरोना भाइरसविरुद्ध लड्न प्लाज्मा थेरापी सक्षम र उपयुक्त नै छ भन्ने ठोस वैज्ञानिक आधार तयार भई नसकेको अवस्थामा यसको उपयोग गर्नु कति ठीक होला? तर प्लाज्मा दिइएका करिब ३५ हजार बिरामीको प्रारम्भिक तथ्यांक विश्लेषण गर्दा निकै सकारात्मक प्रभाव देखिएको मेयो क्लिनिकका मुख्य अनुसन्धाता डा माइकल जोयनरले बताएका छन्।
कोरोना संक्रमण देखिएको तीन दिनभित्र प्लाज्मा दिइएका व्यक्तिको मृत्युदर ज्यादै न्यून रहेको छ। जोयनरका अनुसार शरीरमा भाइरससँग लड्ने क्षमता अत्यन्त कमजोर भएर एन्टिबडीको सख्त जरुरी परेका बिरामीलाई समेत प्लाज्मा थेरापीले धेरै मद्दत गरेको छ।
समस्या कहाँनेर छ त? यो औपचारिक अध्ययन भने होइन। अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) को निर्देशिकाबमोजिम संयुक्तराज्य अमेरिकाका विभिन्न अस्पतालमा बिरामीको भिन्नभिन्न तरिकाबाट उपचार भइरहेको छ।
अमेरिकामा प्रयोगात्मक उपचार विधिका सम्बन्धमा व्यापक जानकारीमा पहुँच दिइने भनिए पनि प्लाज्मा प्राप्त गर्ने बिरामीका बारेमा प्रष्ट जानकारी छैन। हाल देशभरबाट प्रमाणहरु संकलन गर्ने अभियान संचालनमा छ।
‘करिब १०२ वर्षदेखि प्लाज्माले साँच्चिकै काम गर्दछ वा गर्दैन भनेर हामी बहस गरिरहेका छौं,’ न्यूयोर्क विश्वविद्यालयकी डा मिला ओर्टिगोजाले बताइन्। उनले सन् १९१८ मा पनि फ्लूको महामारीका दिनमा प्लाज्मा थेरापीको प्रयोग गरिएको जानकारी दिइन्। यसपटक हामीलाई विवादरहित ठोस प्रमाणहरुको खाँचो छ, उनले भनिन्।
ओर्टिगोजाले यस्तै एउटा अध्ययनको सहसंयोजकका रुपमा कार्य गरिरहेका छन्। यसै साता यो समूहले अरु तीनवटा राज्यहरु- कनेक्टिकट, फ्लोरिडा र टेक्सासमा अध्ययन गर्दैछ। प्लाज्मा उपचारको निष्कर्ष जतिसक्दो चाँडो सार्वजनिक गर्न मुलुकका अन्य क्षेत्रबाट पनि तथ्यांक विवरणहरु संकलन गर्ने तयारी ओर्टिगोजा टिमको छ।
‘स्पष्ट उत्तर कहिले प्राप्त होला भन्ने सबैको चासो छ,’ सेन्ट लुइसस्थित वासिङटन युनिभर्सिटीका संक्रामक रोग विशेषज्ञ डा जेफ्री हेन्डरसनले भने। उनले क्लिनिकल ट्रायलहरु अघि बढ्ने विश्वास व्यक्त गर्दै मेयो क्लिनिकको प्रतिवेदन सानो संख्याका बिरामीको तथ्यांकमा आधारित रहेको जानकारी दिए।
शरीरभित्र कुनै नयाँ जीवाणु प्रवेश गरेमा शरीरले यसविरुद्ध लड्न प्रोटिन नामको एन्टिबडी बनाउँछ। यस्तो एन्टिबडी प्लाज्मामा रहेको हुन्छ, र यसको रंग पहेंलो–पहेंलो र तरल रुपमा हुन्छ। एन्टीबडी निर्माण हुन केही साता लाग्ने भएकाले कुनै व्यक्तिको एन्टीबडी राख्दा बिरामीलाई भाइरसविरुद्ध लड्न मद्दत गर्दछ र त्यसबीचमा व्यक्तिको रोगप्रतिरोधी क्षमता विकास हुन्छ।
मेयोका नतिजाहरुलाई वैज्ञानिक अध्ययनका लागि वेबसाइटमा खुला राखिएको छ। कोरोना संक्रमित भएको तीन दिनभित्र उच्च गुणस्तरको एन्टीबडी प्लाज्मा दिइएका व्यक्तिमध्ये २० प्रतिशतको ३० दिनभित्र मृत्यु भएको थियो। मृत्यु भएका ३० प्रतिशत संक्रमितहरूको न्यून गुणस्तरको एन्टीबडी प्लाज्माबाट उपचार गरिएको थियो।
एफडीएले आपतकालीन प्लाज्मा उपचार विधिलाई अनुमति दिने वा नदिने भन्ने सम्बन्धमा गहन अध्ययन गरिरहेको जनाएको छ। एफडीएले यसका बारेमा शुक्रबार कुनैपनि टिप्पणी गर्न अस्वीकार गरेको छ।
कोभिड–१९ बाट निको भएका दशौं हजार व्यक्तिले प्लाज्मा दान गरिसकेका छन्। संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमितको संख्या बढेसँगै प्लाज्मा दान गर्न मानिसलाई उत्प्रेरित गर्ने क्रम जारी छ। अमेरिकी रक्तसंचार केन्द्र संघले एक तिहाई अस्पतालहरुले अनुरोध गरेको २४ घण्टाभन्दा बढी समयपछि मात्र प्लाज्मा उपलब्ध गराउन सकिएको जनाएको छ।
प्लाज्मा उपचार प्रभावकारी भए नभएका बारेमा प्रष्ट नभए पनि वैज्ञानिकहरु यो उपचार विधि कहिले शुरु गर्नुपर्छ भन्ने बुझ्न चाहन्छन्। उनीहरु प्लाज्मा दिँदा गम्भीर बिरामीलाई वा प्रारम्भिक दिनहरुमा दिनुपर्दछ अथवा कुन डोज सही हो भन्ने जान्न चाहन्छन्।