पोखरा - गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोगको प्रभावकारी व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन स्वास्थ्य सेवा कोष स्थापना गर्ने निर्णय गरेको छ। अर्थमन्त्री शेरचनका अनुसार मन्त्रिपरिषद्ले “आपतकालीन स्वास्थ्य तथा संक्रामक रोग व्यवस्थापन कार्यविधि” पारित गर्दै कोष निर्माणको औपचारिक निर्णय गरेको हो।
सरकारले ५३ प्रकारका छिटो सर्ने रोगहरूको नियन्त्रण तथा व्यवस्थापनका लागि कोषलाई प्रयोग गर्ने योजना बनाएको छ। कोरोना महामारीजस्ता आकस्मिक रूपमा फैलिन सक्ने रोगहरूको रोकथाम, उपचार र व्यवस्थापनमा सहजता ल्याउन यो कोष महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
पछिल्लो समय बागलुङ जिल्लामा दादुरा संक्रमण बढ्दा स्रोत अभावका कारण नियन्त्रणमा कठिनाइ देखिएको थियो। यस्तै समस्याहरू भविष्यमा दोहोरिन नदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा कोष सञ्चालन गर्ने तयारी गरेका छन्।
प्रदेश सरकारले यस कदमले आपतकालीन स्वास्थ्य सेवामा द्रुत प्रतिक्रिया दिन सहयोग पुग्ने र जनस्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।