अछाम- दिपायल सिलगढी नगरपालिका– २, डोटीका ५४ वर्षीय यज्ञबहादुर कठायतको १० वर्ष पहिले भारतमा गाडी दुर्घटना हुँदा खुट्टा भाँचियो। जेनतेन कमाएको एक लाख ६२ हजार रुपैयाँले उनले खुट्टाको शल्यक्रिया भारतमै गरे।
शल्यक्रिया भएको केही समय खुट्टाले काम गर्यो। उनी डिँडडुल गर्न सक्ने भए। विस्तारै दिन बित्दै गए। उनको खुट्टाले फेरि दुःख दिन थाल्यो। उनी उपचार गरेको केही वर्षमै थला परे। त्यसपछि उनलाई जिल्लाबाहिर जान आर्थिक अवस्थाले भ्याएन। ‘आफूसँग थप पैसा थिएन, भएको कमाइ जति पहिलो अप्रेसनमै सकियो,’ यज्ञबहादुरले भने, ‘त्यसपछि म थला परें।’
पहिलो शल्यक्रिया भएको १० वर्षपछि मात्रै उनले बयलपाटा अस्पतालले दिने हाडजोर्नीको सेवाबारे थाहा पाए। त्यसपछि केही दिन पहिले बयलपाटा अस्पताल पुगेर त्यहाँका अर्थोपेडिक सर्जन डाक्टर मन्दीप पाठकसँग सल्लाह लिए।
उमेरले पाका यज्ञबहादुरको स्वास्थ्यमा अन्य समस्या पनि रहेछन्। उनलाई मधुमेह, उच्च रक्तचाप र मुटुको चालमा समेत समस्या भएको डा पाठकले जानकारी दिए। ५० कटेका यज्ञबहादुरका अन्य स्वास्थ्य समस्याका कारण शल्यक्रिया गर्न कठिन हुने भए पनि डा पाठकको नेतृत्वले उनको खुट्टाको दोस्रो पटक शल्यक्रिया गर्ने आँट गरे।
‘हामीले खुट्टामा प्लेट राख्ने कुरालाई विकल्पका रुपमा राखेर यज्ञबहादुरको खुट्टामा रड राख्ने गरी शल्यक्रियाको तयारी गर्यौं,’ डा. पाठकले भने, ‘सहजै पहिलो पटक नै उनको खुट्टामा रड राख्न सफल भयौँ।’
भारतमा भएको शल्यक्रियका क्रममा उनको हड्डी जुट्छ भनेर पठाइए पनि हालसम्म हड्डी नजुटेको र दुर्घटना हुँदा उनको खुट्टाको सानो हड्डीको भाग समेत हराएको कुरा शल्यक्रियाका क्रममा थाहा भएको डा पाठकले बताए।
खुट्टाको शल्यक्रियापश्चात् यज्ञबहादुर कठायतको मुहारमा खुसी छाएको छ। उनले निःशुल्क रुपमा शल्यक्रिया गर्न पाएर आफ्नो खुट्टा सञ्चो भएको महुसुस गरिसकेका छन्।
खुट्टाको सफल शल्यक्रियापछि खुसी छन् ११ वर्षीय महेन्द्र


कर्णाली प्रदेशको कालिकोट मालकोट गाँउपालिका– ७ का महेन्द्र भण्डारी १३ वर्षका भए। उमेरले सानै भए पनि उनी गोरु जोत्ने र खेतीपाती गर्ने गर्छन्। घरको कामसँगै उनी गाँउकै स्कुलमा कक्षा ६ मा पढिरहेका पनि छन्। २ महिना पहिले गोरु जोत्ने क्रममा उनको लडेर खुट्टा भाँचियो। खुट्टा भाँचिएपछि उनका बुबा र आफन्तले गाँउकै घरेलु विधिले उपचार गरे।
छोराको उपचारका लागि महेन्द्रका बुबाले गाउँपालिकालाई गुहारे। कतैबाट सहयोग नपाएपछि घरको नाजुुक स्थितिले एक महिनासम्म काप्रो बाँधेर घरमै उपचार गराइरहेका दिलबहादुर बटालालाई छोराको खुट्टा सञ्चो भइहाल्छ भन्ने आशा थियो। आर्थिक समस्याका कारण उपचारका लागि बाहिर लैजाने स्थिति थिएन। दिलबहादुर भन्छन्, ‘छोराको खुट्टा सञ्चो नभएपछि घरमा रहेको बाख्रो बेचेर अछामतिर लागें।
दिलबहादुरले गाउँका मान्छे लगाएर ३ दिनसम्म स्टेचरमा छोरालाई बोकेर कालिकोटबाट अछामको रामारोशनसम्म पुगे। घरमा पालेको बाख्रा ९ हजारमा बेचेर छोराको उपचार गर्न आएका उनी रामारोशनबाट चौथो दिन गाडी चडेर बयलपाटा अस्पताल आइपुगे।
बयलपाटा अस्पतालमा निःशुल्क सेवा पाइन्छ भन्ने सुनेर आफू छोरालाई लिएर यहाँ आएको महेन्द्रका बुबा दिलबहादुरले बताए। बयलापाटामा दिलबहादुरका छोरा महेन्द्रको खुट्टनको सफल शल्यक्रिया भयो।
शल्यक्रिया भएपछि केही दिनमै महेन्द्र हिँड्ने अवस्थामा पुगिसकेका छन्। ‘अहिले म निकै खुसी छु,’ दिलबहादुरले भने, ‘मेरो छोराले खुट्टा टेक्न थालिसकेको छ। बिना पैसा छोराको अप्रेसन गराउन पाएँ।’