काठमाडौं - प्रतिनिधि सभाको बैठकमा सांसदहरूले स्वास्थ्य क्षेत्रका विविध समस्या उठाउँदै सुधारका लागि ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। स्वास्थ्य सेवा पहुँच, बिमा प्रणाली, मानसिक स्वास्थ्य, पूर्वाधार अभावदेखि खाद्य सुरक्षासम्मका विषय बैठकमा गम्भीर रूपमा उठेका छन्।
सांसद डा. ओजस्वी शेरचनले स्वास्थ्य बिमा ऐन २०७४ को कार्यान्वयनमा गम्भीर समस्या रहेको बताएकी छन्। उनले बिमा बोर्डले वीर अस्पताललाई ५१ करोड, टिचिङ अस्पताललाई ४० करोड तथा अन्य अस्पतालहरूलाई गरी १६ अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको उल्लेख गर्दै यसले सेवा प्रवाहमै अवरोध सिर्जना गरेको बताइन्न्। उनले स्वास्थ्य बिमा प्रणालीलाई दिगो बनाउन नीतिगत सुधार र ‘प्रोग्रेसिभ ट्याक्सेसन’ आवश्यक रहेकोमा जोड दिएकी छन्।
सांसद क्रान्ति शिखा धितालले मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकताका साथ उठाएकी छन्। उनले आन्दोलनका घाइते, सुरक्षाकर्मी र आम नागरिक मनोसामाजिक समस्याबाट प्रभावित हुन सक्ने भन्दै राज्यले यसलाई बेवास्ता गर्न नहुने बताएकी छन्। मानसिक स्वास्थ्यका लागि स्पष्ट नीति र मनोसामाजिक परामर्शदाताको व्यवस्था गर्न उनले माग गरेकी छन्।
सांसद खिमा बीकेले संविधानले स्वास्थ्यलाई मौलिक हक माने पनि व्यवहारमा लाखौँ नागरिक अझै सेवा पहुँचबाट वञ्चित रहेको बताएकी छन्। उनले प्रत्येक नागरिकलाई स्वास्थ्य बिमासहित सुलभ र गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्ने तथा न्यून तलबमा काम गरिरहेका स्वास्थ्यकर्मीहरूको सुरक्षा र वृत्ति विकासमा ध्यान दिनुपर्ने धारणा राखेकी छन्।
सांसद डा. अंकिता ठाकुरले सप्तरीको गजेनारायण सिंह अस्पतालको भवन निर्माण सम्पन्न भए पनि हस्तान्तरण नहुँदा बिरामीहरू प्यासेज र भुइँमै उपचार गराउन बाध्य भएको अवस्था प्रस्तुत गरेकी छन्। उनले स्वास्थ्य पूर्वाधार निर्माण मात्रै नभई समयमै सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएकी छन्।
सांसद गंगा लक्ष्मी अवालले विषाक्त तरकारी र खाद्यान्नका कारण जनस्वास्थ्यमा परेको असरबारे चिन्ता व्यक्त गरेकी छन्। उनले ‘स्वस्थ वातावरण, स्वस्थ जनता र स्वस्थ देश’ निर्माणका लागि वातावरणमैत्री कृषि नीतिको आवश्यकता औंल्याएकी छन्।
सांसद कृष्ण हरि बुढाथोकीले रामेछापमा गुणस्तरीय स्वास्थ्य सेवाको अभावका कारण बसाइँसराइ बढ्दै गएको र गाउँहरू उजाड बन्दै गएको बताएका छन्। उनले आधारभूत स्वास्थ्य सेवा अभावले ग्रामीण जनजीवन प्रभावित भएको उल्लेख गरेका छन्।
त्यस्तै सांसद अर्जुन कुमार कार्कीले संखुवासभाका दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवा नपुगेको समस्या उठाएका छन्। उनले हिमाली र पहाडी भेगमा स्वास्थ्यसहित आधारभूत सेवाको अभाव रहेको बताए।
सांसद गंगा छन्त्यालले अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य सेवा समावेशी नभएको गुनासो गरेकी छन्। उनले अपाङ्गमैत्री संरचना र समावेशी स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्।