काठमाडौं- चिकित्सा शिक्षातर्फ स्नातकोत्तर (पिजी)को परीक्षा दिएका चिकित्सकहरूले दुर्गम कार्यअनुभवको अकंभारका लागि पेस गरेका कागजातका विषयमा छानबिन हुने भएको छ।
चिकित्सा शिक्षा आयोगले केही चिकित्सकले दुर्गममा काम गरेको अनुभवको अकंभारको लागि पेस गरेका कागजात शंकास्पद भएको भन्दै उजुरी परेपछि सो विषयमा छानबिन गर्न लागेको हो।
आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले आयोगले दुर्गम कार्यअनुभवको कागजात पेस गर्ने परीक्षार्थीसँग कार्यअनुभवको प्रमाणसमेत माग गरी छानबिन गरिने जानकारी दिए।
‘उनीहरुको विषयमा हामीले छानबिन गर्ने तयारी गरेका छौं। दुर्गममा काम गरेको हो भने त्यहाँ काम गर्दा पाएको तलब र कर तिरेको प्रमाण माग गर्दै बुधबार आयोगले सूचना प्रकाशित गर्दैछ,’ उनले भने।
आयोगले दुर्गम कार्यअनुभवको कागजात पेस गर्ने चिकित्सकलाई काम गरेको प्रमाण हुने तलब लिएको र सरकारलाई कर तिरेको प्रमाण माग गर्ने सूचना अधिकारी कोइरालाले जानकारी दिए।
उनले परीक्षार्थीले सो प्रमाण पेस गर्न नसकेमा वा परीक्षार्थीले दुर्गममा काम नै नगरी फर्जी कागजात बनाई आयोगमा पेस गरेको ठहरिएमा ती परीक्षार्थीको नतिजा रद्द गरिने बताए ।
आयोगलाई फर्जी कागजात पेस गरेको प्रमाणित भएमा चिकित्सा शिक्षा आयोग नियमावली, २०७७ र एकीकृत परीक्षा संचालन कार्यविधिमा भएको व्यवस्था अनुसार आगामी २ वर्षसम्म पुनः प्रवेश परीक्षा दिन नपाउने सम्मको सजाय हुने सूचना अधिकारी कोइरालाले जानकारी दिए।
‘कुनै पनि परीक्षार्थीले फर्जी कागजात बुझाएको प्रमाणित भएमा उनीहरुले पिजी अध्ययन नै सुरु गरिसकेको अवस्थामा पनि उनीहरुको प्रवेश परीक्षाको नतिजा रद्द हुन्छ,' उनले भने, ‘यो वर्ष पढ्न नपाउने र आगामी २ वर्षसम्म पिजीको प्रवेश परीक्षा दिन नपाउने सम्मको सजाय हुनसक्छ।’
पुस २६ गते पिजीको परीक्षा दिएका चिकित्सकहरुले दुर्गम कार्यअनुभवबापत् पाएको अंकको छानबिन गर्न भन्दै चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका थिए।