 सन्जु बास्तोला र डा विमला शर्मा
                                                                                                    
                                                        सन्जु बास्तोला र डा विमला शर्मा 
                                                    
                                                                                            
                                                                             
                                
                                
                                
अपर्याप्त शारीरिक गतिविधि नसर्ने रोगहरूको एउटा प्रमुख कारण हो। विज्ञान र प्राविधिक प्रगतिको साथसाथै संसारभरी नै बच्चाहरूमा टिभी हेर्ने, मोबाइल तथा अन्य स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरण प्रयोग गर्ने समय बढ्दै गएको छ। खेल्ने, कुद्ने, उफ्रिने,र अन्य शारिरिक रुपमा सकृय रहने समय कम हुँदै छ।
टेलिभिजन हेर्न, भिडियो गेम खेल्न, र अन्य स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरणको (जस्तै स्मार्टफोन वा ट्याब्लेट इत्यादी) प्रयोग गर्नमा खर्च हुने समयलाई स्क्रीन समय भनिन्छ। 
पहिलेको तुलनामा आजकलको बच्चाहरूसँग स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरणको सजिलै पहुँच छ। आजकल धेरै अभिभावकहरूले आफ्ना बच्चाहरूलाई खाना खुवाउन, घरभित्रै राख्न वा आफ्नो लागि समय निकाल्नको लागि बच्चाहरूलाई स्मार्ट फोन र टेलिभिजन जस्ता उपकरणहरू प्रस्ताव गर्दछन्। 
बढ्दो सहरीकरण,घर वरिपरी खाली ठाउँको कमी, सार्वजनिक खेल मैदानको अभावका कारण पनि धेरै बच्चाहरू बाहिरी गतिविधिहरूबाट वञ्चित छन्। अर्कोतिर अभिभावकहरू आफ्ना बच्चाहरूलाई ट्राफिक र सुरक्षाका कारणले गर्दा बाहिर पठाउन चाहदैनन्। 
फलस्वरुप, अहिले बच्चाहरू घन्टौ घण्टा एकै ठाउँमा बसेर टिभी हेर्ने,  स्मार्टफोन वा ट्याब्लेट चलाउने, भिडियो गेम खेल्ने गर्दछन् ।
अब प्रश्न आउँछके अधिक स्क्रीन समय हाम्रो बच्चाहरूको शारीरिक, मानसिक र सामाजिक विकास लागि हानिकारक छ?यदी हो भने दैनिक  कतिसम्मको  स्क्रीन समयलाई बच्चाहरूको लागि ठीक मानिएको छ?            
                
विश्व स्वास्थ्य संगठनले फरक फरक उमेरका बच्चाहरूको लागि फरक फरक स्क्रीन समय सिफारिस गरेको छ।
(१) १८महिना सम्मको बच्चाहरूको लागि परिवारको सदस्यसँग भिडियो कल गर्ने बाहेक कत्ती पनि स्क्रिन समय सिफारिस गरिएको छैन। त्यसैले कुनै पनि स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरण दिनु हुँदैन ।
(२) १८ देखी २४ महिनासम्मको बच्चाहरूको लागि दिनको एक घण्टा भन्दा कम स्क्रिन समय सिफारिस गरिएको छ।
(३) ३ देखि ५ बर्षसम्मको बच्चाहरूले दिनको एक घण्टासम्म स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरण प्रयोग गर्न सक्ने कुरा उल्लेख गरिएको छ।
(४) ६ देखी १० बर्ष उमेरको बच्चाहरूले दिनको दुई घण्टा भन्दा कम समय स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरण प्रयोग गर्न सक्छन्।
(५) त्यसैगरी, ११वर्ष र सो भन्दा बढी उमेरको किशोर-किशोरीहरूको लागि दिनको दुई घण्टा सम्मस्क्रिन समय सिफारिस गरिएको छ।
यसरी तोकिएको समय भन्दा बढी समय स्क्रीनमा बिताउनुलाई अधिक स्क्रीन समय भनिन्छ।
अधिक स्क्रीन समयले बच्चाको शारीरिक, मानसिक, सामाजिक र मनोवैज्ञानिक विकास तथा जिवन उपयोगी ज्ञान र सिप सिकाइमा नकारात्मक असर पार्दछ भन्ने कुरा धेरै अध्ययनहरूले देखाएका छन्। स्क्रिनयुक्त इलेक्ट्रोनिक उपकरणको अधिक प्रयोगबाट हुने केहि असरहरु यहाँ उल्लेख गरिएको छ:
खेलकुदर शारीरिक गतिविधिको लागि कम समय
जब बच्चाहरूले टेलिभिजन हेर्न र स्मार्ट फोनसँग खेल्नमा धेरै समय खर्च गर्छन्, तब उनीहरूसँग खेल र अन्य शारीरिक गतिविधिको लागि कम समय हुन्छ। साथै टेलिभिजन हेर्न र स्मार्ट फोनसँग खेल्नबानी परीसकेपछी उनीहरूले बाहिरी गतिविधिहरूमा कम रुचि राख्ने हुन्छन्।
विश्व स्वास्थ्य संगठनको अनुसार बच्चाहरू र किशोर-किशोरीहरूले हप्ताको सबै दिन कम्तिमा औसत ६० मिनेटका दरले प्रतिदिन मध्यमदेखि जोडदार गहनताको शारीरिक गतिविधि गर्नुपर्छ।
तर, धेरैजसो  बालबालिकाले शारीरिक गतिविधिको सिफारिस गरिएको तह पूरा गर्दैनन्। जुन बालस्वास्थ्य तथा बाल विकासको लागि एउटा ठुलो समस्याको रुपमा देखिएको छ। 
मोटोपनाको जोखिम
टिभी हेर्ने, मोबाइल प्रयोग गर्नेर भिडियो गेमहरू खेल्ने जस्ता गतिहीन गतिविधिमा धेरै समय दिनु  अत्याधिक वजनको लागि एउटा प्रमुख कारण हो। 
हाम्रो समाजमा मोटो बच्चा लाई हृस्टपुस्ट, राम्रो, स्वस्थ मान्ने चलन अझै पनि छ, तर बच्चाहरूको मोटोपनाले धेरै रोगहरुको जोखिम बढाउंछ।
 
जस्को असर किशोर अवस्था हुँदै, युवा, वयस्क र बुढेसकालसम्म रहन्छ। अहिले आएर बच्चाहरूको मोटोपना हाम्रो समुदायमा पनि स्वास्थ्य समस्यामा रुपमा देखिन थालेको छ।
प्राकृतिक अवलोकन र अनुभवबाट सिकिने ज्ञानर सिपबाट वञ्चित
जब बच्चाहरू स्मार्टफोनमा खेलिरहेका हुन्छन्। प्राय उनीहरू वरिपरिको कुनै कुरामा ध्यान दिदैनन्। उनीहरू आफू वरपरको संसारको बारेमा चासो राख्दैनन्। 
स्क्रीनमा देखिएका दृस्यहरु र जानकारीहरुलाई नै वास्तविक ठान्छन्। अत्याधिक स्क्रिन समयले बच्चाहरूको जिवन र जगतको बारेमा जान्नको लागि दैनिक गतिविधिहरूको अवलोकन गर्ने र अनुभव गर्न सक्ने क्षमतालाई अवरोध गर्न सक्छ। जुन बच्चाहरूको समग्र विकासको लागि हानिकारक हुन्छ।
शैक्षिक उपलब्धिहरुमा कमी
धेरै अध्ययनहरुले देखाए अनुसार लामो समय स्क्रीनमा बिताउने बच्चाहरुको स्कूल गतिविधिहरु र शैक्षिक उपलब्धिहरु स्क्रीनमा कम समय बिताउने बच्चाहरुको भन्दा कमजोर पाइएको छ।
व्यावहारिकज्ञान र सामाजिक सीपको अभाव
बच्चाहरू जसले इलेक्ट्रोनिक उपकरणसँग धेरै समय बिताउछन्।  प्रायः उनीहरुमा व्यावहारिक ज्ञान, सामाजिक सीप,र सबै उमेर समुहका मानिससँग अन्तर्क्रिया गर्ने क्षमताको अभाव हुन्छ। 
उनीहरुमाअरूसँग आमनेसामने कुराकानी गर्ने क्षमता र आफ्नो तर्क राख्ने आत्मविश्वासको कमी हुन सक्छ । जसले गर्दा उनीहरु भविष्यमा हुनुपर्ने पारिवारिक, सामाजिक, व्यावसायिक सम्बन्ध कायम गर्न नसक्ने हुन्छन्। यसरी बच्चाहरूले बाल्यावस्थामा सामान्य पारस्पारिक र सामाजिक सीपहरू विकास गरेनन भने भविष्यमा मित्रता, रोजगारर सामाजिक शिष्टाचारको क्षेत्रमा समस्या देखिन सक्छ।
शारीरिक स्वास्थ्य र आँखाको समस्या
जब बच्चाहरूइले क्ट्रोनिक उपकरणको अगाडी लामो अवधिको लागि खराब आसनमा बसिरहेका हुन्छन्। उनीहरुमा विभिन्न प्रकारका शारीरिक स्वास्थ्य समस्याहरू पनि आउन सक्छ। जस्तै मांसपेशी दुख्नु, जोर्नीहरू, घाँटी र काँधमा पिडाहुनु, आँखा दुख्नु र टाउको दुख्नु इत्यादी।
अनियमित निद्रा र निद्राको छोटो अवधि
स्क्रिनले बच्चाहरूलाई राती अबेरसम्म नसुती भिडियो गेमहरू खेल्नको लागि लोभ्याउछ। जब बच्चाहरू इलेक्ट्रोनिक उपकरणहरूमा अभ्यास्त हुन्छन्। तिनीहरू प्राय: ढिलो सुत्ने गर्छन्।
अर्कोतर्फ टेलिभिजन, कम्प्युटर स्क्रीन, फोन र ट्याबलेटबाट निस्किने नीलो बत्तीले मेलाटोनिनको स्तर घटाउन सक्छ। फलस्वरुप, निद्रा ढिलो लाग्ने तथा निद्राको समय छोटो हुन्छ।
हिंसात्मक गतिविधिहरूमा प्रेरित हुने
इलेक्ट्रोनिक उपकरणहरूमा लामो समय बिताउने बच्चाहरु कम समय बिताउने बच्चाहरुको तुलनामा बढी हिंसात्मक र आक्रामक हुने कुरा अध्ययनहरुले देखाएको छ। त्यस्ता बच्चाहरूले आफ्ना समस्याहरू पनि हिंस्रक रूपमा समाधान गर्ने प्रयास गर्छन्।
त्यसैले प्रत्येक आमाबाबु स्क्रिन समयको सीमा र अधिक स्क्रिन समयको हानिकारक असरहरुको बारेमा सचेत हुनुपर्छ। बाल्यकाल देखि नै शारीरिक गतिविधि र सक्रिय जीवनशैलीप्रति बच्चाहरुलाई प्रोत्साहन गर्नुपर्छ।
त्यस्तै स्कूलहरू, नीति निर्माताहरू, योजनाकारहरूले बच्चाहरू र सबै उमेरका मानिसहरूका लागि खेलकुद् र शारीरिक गतिविधिहरू बृद्धि गर्न केही रणनीतिहरू ल्याउनु पर्छ।
(गण्डकी मेडिकल कलेजमा डा शर्मा, सहप्राध्यापक र बास्तोला उपप्राध्यापक रुपमा कार्यरत छन्)