काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भएको अनियमितताको छानबिन गर्न समिति गठन गरेको छ।
स्वास्थ्य मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक रीता भण्डारी जोशीको संयोजकत्वमा वीर असपतालका उपसचिव दिपक घिमिरे, स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत दिपक रिजाल र राष्ट्रिय ट्रमा सेन्टरमा शाखा अधिकृत जुना खड्का खत्री सदस्य रहने गरी ४ सदस्यीय समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा अनियमितता भएको भन्दै छानबिन गरी दोषि उपर कारवाहीको माग गर्दै उजुरी परेको थियो। मन्त्रिपरिषद्को कार्यलयले फागुन ५ गते सो उजुरीको विषयमा छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो। सो उजुरीको विषयमा सत्य तथ्य छानबिन गरी १५ दिन भित्र प्रतिवेदन पेस गर्न भन्दै स्वास्थ्य मन्त्रालयले फागुन १३ गते छानबिन समिति गठन गरेको थियो।
‘समितिका सदस्यहरुलाई पत्र पठाइसकिएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘उजुरीमा परेका सबै विषयमा सुक्ष्म ढंगले अध्ययन गरी प्रतिवेदन बनाउन पनि समितिलाई भनिएको छ।’
वीर अस्पताल तथा ट्रमा सेन्टरका कर्मचारीहरुले गत फागुन २ गते वीर अस्पताल र ट्रमा सेन्टरमा अनियमितता भएको भन्दै छानवीन गरी दोषिलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिएका थिए।
उनीहरुले वीर अस्पताल र ट्रमा सेन्टरमा कर्मचारी भर्ना, सरुवा र कमिसनमा आफु निकट व्यापारीसँग नियमविपरित सामान खरिद गरिरहेको भन्दै उजुरी हालेका हुन्।
राष्ट्रिय ट्रमा सेन्टरका निमित्त निर्देशक डाक्टर सन्तोष पौडेल र चिकित्सहरु डा गौरव ढकाल, डा नवीन पोख्रेल, अहेव विष्णु फुयाल, अर्जुन भेटवाल, आइसियु र ओटी प्रमुखको मिलेमतोमा अनियमित रुपमा कर्मचारी भर्ना, ठेक्का पट्टा र अस्पताल भित्र नै व्यापार गरिरहेको आरोप उजुरीमा उल्लेख छ।
उजुरीमा टेन्डरमा सस्तो र गुणस्तरीय उपकरण दिँदा पनि उक्त समूहले कमिसन लिदै महंगोमा करोडौको सामान खरिद गरिरहेको आरोप समेत लगाइएको छ।
यस्तै २० भन्दा बढी स्टाफ, नर्स १० जना फार्मेसी तर्फका कर्मचारी ३ लाखका दरले रकम लिएर नियम विपतरित भर्ना गरिएको आरोप समेत उजुरीमा छ।
यस्तै अस्पतालमा कमिसनका लागि उपकरणहरु किनेर थन्काएर राखेको र बिग्रिएको मेसिन नबनाई बिरामीहरुलाई निजीमा पठाएर मासिक लाखौँ कमिसन लिने गरेको आरोप समेत लगाइएको छ।
यसैगरी, वीर अस्पतालको वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरी, खरिद इकाइकी प्रमुख भगवती थपलिया लगायताले पनि अनियमितता गरेको भन्दै उजुरी हालिएको छ। उनीहरुले कोरोना महामारीको समयमा वीरमा १० करोड भन्दा धेरै भष्ट्राचार भएको भन्दै सो विषयमा छानबिन गर्न माग गरेका छन्।