राम्रो कपालले मानिसको सुन्दरता झल्काउँछ भने स्वस्थ कपालले सुन्दरतामा अझै निखार ल्याउँछ। त्यसैले त मानिसहरु कपालका लागि आफ्नो क्षमता अनुसार खर्च गर्न तयार हुन्छन्।
कपाल सुन्दरताका लागि कति महत्वपूर्ण छ भन्ने कुरा यसलाई गुमाउँदै गएपछि मात्र थाहा हुन्छ। कपाल झर्ने र चायाँ पर्न थालेपछि मात्रै हामी कपालको चिन्ता लिन सुरु गर्छौं। तर समस्या नआउँदै थोरै कुरामा ध्यान पुर्याउने हो भने कपालको अनावश्यक चिन्ता र हजारौं खर्चबाट सजिलै जोगिन सकिन्छ।
कपालको सौन्दर्य कायम राख्नका लागि नुहाउँदादेखि नै ख्याल राख्नुपर्ने हुन्छ। कपाल कस्तो प्रकृतिको छ, नुहाउँदा त्यही अनुसारको स्याम्पु र कन्डिसनर प्रयोग गर्नुपर्छ।
धेरैलाई आफ्नो कपाल कस्तो खालको छ भन्ने थाहा नै हुँदैन। कपालको प्रकृति हेरेर कपालमा स्याम्पु, कन्डिसनर प्रयोग गर्नुपर्ने हुन्छ। कपाल सामान्यतः सुक्खा (ड्राई), तैलीय (वेल्ली) र सामान्य प्रकृतिको हुन्छ।
ड्राइ कपाल छ भने त्यसैका लागि निर्माण गरिएको स्याम्पु र कन्डिसनरको प्रयोग गर्नुपर्छ। कपालमा तेल धेरै निस्कन्छ भने बजारमा त्यस्ता कपालका लागि छुट्टै स्याम्पु र कन्डिसनर पाइन्छ। यदि सामान्य कपाल छ भने पनि त्यही कपाललाई उपयुक्त हुने स्याम्पु पाइन्छ। कस्तो खालको स्याम्पु र कन्डिसनर प्रयोग गर्ने भनेर यससम्बन्धी जानकारसँग परामर्श र सल्लाह लिनु आवश्यक हुन्छ।
आफ्नो कपालको प्रकृति कस्तो छ भन्ने थाहा पाउन खासै गाह्रो छैन। आफ्नै आँखाले हेरेर पनि सजिलै पत्ता लगाउन सकिन्छ। यदि कपालमा हाँगा धेरै पलाएको छ या हेर्दा फुङ्ग उडेको जस्तो देखिन्छ भने त्यो कपाल ड्राई छ। त्यस्तै, नुहाएको एक घन्टापछि एउटा सेतो टिस्युले कपाल पुछ्दा त्यसमा तेल आयो भने कपाल वेल्ली वा तैलीय छ भनेर बुझ्नुपर्ने हुन्छ।
यदि आफूले हेर्दा कपालको प्रकृति पत्ता लगाउन नसके कपाल काट्ने सैलुनका मानिससँग पनि परामर्श लिन सकिन्छ। आफ्नो कपालको प्रकृति थाहा पाएपछि त्यही अनुसारको हेरचार गर्नुपर्छ।
यदि कपालमा कलर राखिएको छ भने त्यसलाई छुट्टै किसिमको हेरचाह आवश्यक पर्छ। उदाहरणका लागि, कलर रिपियर स्याम्पु कलर गरेको कपालका लागि प्रयोग गर्नुपर्छ। यसले कपाललाई चाहिने भिटामिनदेखि कलरलाई चम्काइरहने काम गर्छ।
अर्को ध्यान दिनुपर्ने कुरा के पनि छ भने, कपालको गुणस्तर अनुसार स्याम्पु र कन्डिसनरको जोहो गर्दैमा काम सकिँदैन। त्यसलाई कसरी प्रयोग गर्ने भन्नेमा पनि ध्यान दिनुपर्ने हुन्छ।
स्याम्पु कसरी कपालमा लगाउने, लगाएपछि कति समयसम्म राख्ने र कसरी पखाल्ने भन्ने कुरा बुझ्न जरुरी छ। स्याम्पु र कन्डिसनरको प्रयोग हरेक दिन गर्नुहुँदैन। किनभने, यी दुवैमा कडा खालको केमिकल प्रयोग गरिएको हुन्छ। यदि कपाल सुख्खा खालको छ या धेरै तैलीय छ भने हप्तामा तीन दिन स्याम्पु र कन्डिसनरको प्रयोग गर्नुपर्छ। सामान्य कपालका लागि हप्तामा दुई दिन मात्रै स्याम्पु र कन्डिसनरको प्रयोग राम्रो हुन्छ। तर कपाल भने सम्भव भएसम्म सफा पानीले बिहान र बेलुकी नै पखाल्दा राम्रो हुन्छ।
कन्डिसनरको प्रयोग गर्दा कपालको जरामा पार्नुहुँदैन। पाँचदेखि सात मिनेटसम्म राखेपछि त्यसलाई राम्रोसँग पखाल्नुपर्छ। अलिअलि मात्रै पखाले पनि हुन्छ भन्ने हल्ला गलत हो। यदि कन्डिसनर राम्रोसँग पखालिएन भने कपाल झर्ने, चायाँ पर्ने लगायतका समस्या आउन सक्छ।
कपाल झर्ने र चायाँको घरेलु उपाय
कपाल झर्नुका धेरै कारण हुन्छन्। कतिलाई पानी नमिलेर पनि कपाल झर्ने हुन्छ त कतिको वशांणुगत नै। त्यस्तै कतिपय व्यक्तिको भने पेटको समस्याले गर्दा पनि कपाल झर्ने समस्या आउन सक्छ।
चायाँ पर्नुका पनि त्यस्तै विभिन्न कारण हुन्छन्। हामी बिहान कपाल धुन्छौं र दिनभर धुलोमैलोमा हिँड्छौं। असिनपसिन भएर घर जान्छौं र कपाल नधोई सुत्छौं। जसका कारण कपालमा चायाँ आउने सम्भावना धेरै हुन्छ।
तपाईंको कपालमा चायाँ छ भने एक कचौरा दही लिनुहोस् र त्यसमा मेथी राखेर एक रात भिजाउनुहोस्। बिहान मिक्सर या अन्य उपकरणमा राखेर मसिनो हुनेगरी पिस्नुहोस्। त्यो लेपलाई कपालमा लगाउनुहोस्। लगाउँदा १० देखि १५ मिनेटसम्म जरा समेत छोइने गरेर मसाज गर्नुहोस्। र, २५ मिनेटसम्म राखेर पखाल्नुहोस्। हप्तामा १ चोटी र महिनामा ४ चोटी यो उपाय अपनाउँदा चायाँ हराउँछ र कपाल पनि स्वस्थ्य बन्छ।
यदि तपार्इंको कपाल झर्ने समस्या छ भने दुई चम्चा अलिवेल लिनुहोस्। त्यसमा आवश्यकता अनुसार अदुवाको पेस्ट मिसाउनुहोस्। कपाल कमजोर हुँदा नै झर्ने भएकोले त्यसलाई विस्तारै कपालमा लगाउनुहोस् र केही समयसम्म विस्तारै मसाज गर्नुहोस्। यसले कपाल झर्न कम गर्छ। यदि कपाल अस्वभाविक रुपमा झरिरहेको छ भने नजिकको चिकित्सकसँग सम्पर्क गर्नहोस्।
बजारमा सस्तो र कम शुल्क भन्दै विभिन्न अफर पनि आइरहेका हुन्छन्। सामाजिक सञ्जालमा सस्तोका प्रलोभनहरु देखाइएको हुन्छ। तर, त्यस्ता हल्लाको पछि नलागी महिनामा एक चोटी मात्रै कपालको ट्रिटमेन्ट गर्नुहोस् तर राम्रो ठाउँमा बुझेर मात्रै गर्नुहोस्।
क्यारेटिनबारे गलत बुझाइ छ
अहिले धेरै मानिस क्यारेटिनको पछि लागिरहेका छन्। क्यारेटिन गर्नुअघि आफैं पनि यो के हो भन्नेबारे अध्ययन गर्नुहोस्। क्यारेटिन भनेको कलर र ड्यामेज भएका कपाललाई प्रोटिन र भिटामिन दिने काम हो। तर यहाँ स्टेट गरेजस्तै हो भन्ने भ्रम छ। यस्ता सामान्य कुराहरु गुगल सर्च गर्दा पनि थाहा हुन्छ।
कतिपय सलोनले झुक्याएका पनि छन् क्यारेटिनका बारेमा। तर क्यारेटिन भनेको कपाललाई पुनर्जीवन दिएजस्तै हो। क्यारेटिन गर्ने भनेको जसको कपाल अस्वस्थ छ, केमिकलको अत्यधिक प्रयोगले ड्यामेज भएको छ र जसको कपाललाई प्रोटिन र भिटामिनको कमी छ उसले मात्रै गर्ने हो। यो हरेक महिना गर्ने होइन, ६ महिनाको फरकमा मात्रै गर्नुपर्छ।
फेसन ट्रेन्ड
ग्लोबलाइजेसन र डिजिटल प्ल्याटफर्मका कारण यही फेसनको ट्रेन्ड चलेको छ भन्ने थाहा पाउन गाह्रो छ। पहिले पो एक प्रकारको ट्रेन्ड चल्थ्यो, अहिले त हरेक मानिस फरक फेसन गर्न चाहन्छन्। हाम्रोमा जानेर हैन, देखासिखीको आधारमा फेसन ट्रेन्ड चलिरहेको छ। हामी आफैं पनि ग्राहकको पर्सनालिटी, छालाको रङ र प्रोफेसन हेरेर कपालको हेयर स्टाइल सजेस्ट गर्छौं।
हाम्रो देशमा ग्राहक सचेत छैनन्। भारतमा भने आफ्नो कपालमा कस्तो सामानको प्रयोग गरिदिएका छन्, कस्तो असर पार्छ लगायतका कुरामा ग्राहक आफैं सचेत छन्। कतै कम गुणस्तरको सामानको प्रयोग पो गरिदिइरहेका छन् कि भन्ने कुरामा नेपालीले वास्ता गर्दैनन्। यस्ता सामानले केही समय त राम्रो देखिएला तर पछि कपालमा समस्या देखिन सक्छ। त्यसैले हामी ग्राहकलाई सचेत गराउने खालको कक्षा पनि चलाउने योजनामा छौं।
(कटुवाल हेयर स्टाइलिस्ट हुन्।)