काठमाडौं– दशैं नेपालीहरूको राम्रो लगाउने तथा मिठो खाने चाडको रूपमा परिचित छ।
तर, दशैंमा स्वास्थ्यलाई ख्याल नगरी आवश्यकता भन्दा बढी खानाले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरू बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार चाडपर्वको समयमा खानपानमा ध्यान दिन नसक्दा पखाला तथा फुड पोइजनिङ जस्ता समस्या देखिन सक्छन्।
त्यस्तै, दशैंमा धेरै मानिसहरू गाउँ जाने भएकाले सरुवा रोगको जोखिम बढ्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
काठमाडौं उपत्यकाका अस्पतालहरूले दशैंको समयमा बिरामीको उपचार कसरी गर्नेछन् भन्नेबारे स्वास्थ्यखबर ले संक्षेपमा जानकारी लिएको छ:
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
दशैंको बेला तीन दिन ओपीडी बन्द हुने अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए।
‘दशैंमा ओपीडीमा खासै बिरामी आउँदैनन्। आएकालाई आकस्मिक सेवाबाटै उपचार दिने व्यवस्था मिलाइएको छ,’ उनले भने।
आकस्मिक सेवा भने २४ सै घण्टा खुला रहनेछ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
टेकुस्थित यो अस्पतालले दशैंमा सार्वजनिक बिदा भएपनि ओपीडी सेवा टीकाको दिनसम्म बिहान ९ बजेदेखि १२ बजेसम्म ओपीडी सुचार रुहने जनाएको छ।
अस्पतालका निर्देशक डा. बसौलाका अनुसार आकस्मिक सेवा भने २४ सै घण्टा सञ्चालनमा रहनेछ।
‘विगत केही दिनदेखि डेंगु संक्रमण बढेको छ। त्यसैले सम्पूर्ण सेवा ओपीडी र आकस्मिकबाट पाउने व्यवस्था मिलाइएको छ,’ उनले भने।
एन्टी–रेबिज भ्याक्सिन, बिमा सेवा इकाई, ल्याबलगायतका सेवा पनि २४ सै घण्टा खुला रहने उनले जानकारी दिए।
हाल अस्पतालमा दैनिक ५–६ जना डेंगुका बिरामी भर्ना भइरहेका छन्।
कान्ति बाल अस्पताल
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले दशैंको सार्वजनिक बिदामा ओपीडी सेवा बन्द गर्ने जनाएको छ।
तर, आकस्मिक, आइसियु, ल्याब, अल्ट्रासाउन्ड, रेडियोलोजी लगायतका सेवा भने २४ सै घण्टा सञ्चालनमा रहने अस्पतालका निर्देशक डा. पंकज रायले बताए।
‘वार्डमा रहेका बिरामीलाई रोग विशेषज्ञ चिकित्सकले पालो अनुसार हेर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने।
दशैंको समयमा अन्य समयको तुलनामा ओपीडीमा कम बिरामी आउने भए पनि रोगको जटिलता अनुसार चिकित्सकको ड्युटी तोकिएको उनको भनाइ छ।
वीर अस्पताल
केन्द्रीय अस्पतालका रूपमा रहेको वीर अस्पतालमा दशैं बिदामा पनि आकस्मिक सेवा खुला रहने जनाएको छ।
अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार दशैंमा बिरामीको चापलाई धान्न पर्याप्त संख्यामा चिकित्सक र स्वास्थ्यकर्मी खटाइनेछन्।
‘आ–आफ्नो वार्डमा डाक्टर, नर्सलगायत कर्मचारी तोकिएको सूचीअनुसार ड्युटीमा रहनेछन्,’ उनले भने।
डा. शर्माका अनुसार चिकित्सकहरूलाई रोटेसनमा मिलाएर सेवा दिने व्यवस्था गरिएको छ।