अमेरिका – नेपाल लगायत विश्वका विभिन्न देशका बिरामीलाई निशुल्क क्यान्सरको औषधि उपचारमा गर्दै आएको गैरनाफामूलक संस्था द म्याक्स फाउन्डेशनले सन् २०३० सम्ममा हरेक वर्ष १ लाख बिरामीलाई क्यान्सर उपचार उपलब्ध गराउने लक्ष्य घोषणा गरेको छ। हालै अमेरिकामा आयोजित क्लिन्टन ग्लोबल इनिसिएटिभ (सीजीआई)को वार्षिक सम्मेलनमा उक्त घोषणा गरिएको हो।
संस्थाले हाल म्याक्सले करिब ४०,००० बिरामीलाई उपचार, हेरचाह र सहयोग सेवा उपलब्ध गराइरहेको छ। 'पछिल्ला दुई दशकमा १ लाखभन्दा बढी मानिसको जीवनमा परिवर्तन ल्याउन सफल भएपनि, आजपनि सयौँ हजार मानिसहरू क्यान्सरको निदान, औषधि र उपचारको पहुँच नहुँदा पीडामा बाँचिरहेका छन्,' म्याक्स फाउन्डेशनकी सह-संस्थापक तथा सीईओ प्याट गार्सिया-गोन्जालेजले भनिन्।
'हामी विश्वास गर्छौं कि सबै मानव जीवनको समान मूल्य हुन्छ, जहाँ भएपनि, सबैले क्यान्सर र अन्य गम्भीर रोगको उपचारमा पहुँच पाउनुपर्छ,' उनले थपिन्, 'ताकि उनीहरूले आफ्ना परिवारसँग समय बिताउन, आफ्नो समुदाय निर्माण गर्न र सम्मानका साथ जीवन यापन गर्न सकून्। जब हामी पीडा घटाउन सक्छौं, त हामीले गर्नैपर्छ।'
हाल म्याक्सले ८० भन्दा बढी न्यून तथा मध्यम आय भएका देशहरूमा करिब ९०० भन्दा बढी साझेदारहरूसँग मिलेर औषधि, परीक्षण सेवा र समग्र उपचार उपलब्ध गराउँदै आएको छ। यी साझेदारहरूमा गैर-नाफामूलक संस्था, स्वास्थ्य व्यवसायी संस्था, व्यावसायिक कम्पनीहरू र ५०० भन्दा बढी स्थानीय चिकित्सक तथा स्वास्थ्य संस्था समावेश छन्।
यो नयाँ लक्ष्य हासिल गर्न म्याक्सले आफ्नो साझेदारी सञ्जाल विस्तार गर्ने, नयाँ औषधि र परीक्षण सेवा थप्ने, स्वास्थ्य प्रदायक सञ्जाललाई सुदृढ गर्ने र थप प्रकारका क्यान्सरहरूको उपचारमा ध्यान केन्द्रित गर्ने योजना बनाएको छ। यसले स्वास्थ्यकर्मी तालिम, प्रयोगशाला सेवा र बिरामी सहयोग प्रणालीमा पनि लगानी गर्ने जनाएको छ।
यस प्रयासमा हिस्सा स्वरूप नोवार्टिसले म्याक्ससँगको लामो साझेदारीलाई थप पाँच वर्षका लागि विस्तार गर्ने भएको छ। यस अन्तर्गत दीर्घकालीन माइलोइड ल्युकेमिया (सीएमएल), मेटास्टेटिक ब्रेस्ट क्यान्सर, पारक्सिज्मल नोक्टर्नल हेमोग्लोबिनुरिया (पीएनएच) र जठरान्त्रीय स्ट्रोमल ट्युमर (जीआईएसटी) लगायतका दुर्लभ क्यान्सरका बिरामीलाई उपचार र सहयोग सेवा प्रदान गरिने बताइएको छ। सरकार, अस्पताल र स्वास्थ्य पेशेवरहरूसँग सहकार्य गर्दै स्थानीय स्वास्थ्य प्रणाली सुदृढ पार्ने उद्देश्य समेत राखिएको छ।
'हामीसँगका साझेदारहरूसँग मिलेर आगामी पाँच वर्षमा न्यून र मध्यम आय भएका देशहरूमा क्यान्सरपीडितहरूको जीवनमा स्थायी परिवर्तन ल्याउन दीर्घकालीन सहकार्य अनिवार्य छ,' गार्सिया-गोन्जालेजले भनिन्, 'हामी हर्षित छौं कि हाम्रो दीर्घकालीन साझेदार नोवार्टिस फेरि अग्रपंक्तिमा उभिएर विश्वभरका क्यान्सर बिरामीहरूको जीवन सुधार्न प्रतिबद्ध भएको छ। हामी आशा गर्छौं, अरू धेरै संस्था र व्यक्तिहरू पनि यस मानवतामूलक यात्रामा सहभागी हुनेछन्।'
नोवार्टिसका ग्लोबल हेल्थ एन्ड स्विस कन्ट्री अफेयर्स प्रेसिडेन्ट डा. लुट्ज हेगेमानले जटिल स्वास्थ्य चुनौतीहरूमा प्रगति गर्न साझेदारी अत्यावश्यक हुने बताए। 'दुई दशकभन्दा बढी समयदेखि हामी म्याक्स फाउन्डेशनसँग मिलेर न्यून तथा मध्यम आय भएका देशहरूमा क्यान्सर हेरचाह सुधार्न काम गर्दै आएका छौं। यो सहकार्यलाई निरन्तरता दिन पाउँदा हामी गर्वान्वित छौं,' उनले भने।
क्यान्सर आज विश्वव्यापी रूपमा अकाल मृत्युकै प्रमुख कारण हो। न्यून र मध्यम आय भएका देशहरूमा यसको असर झन् गम्भीर छ। जहाँ क्यान्सर मृत्युदर का ७० प्रतिशत भन्दा बढी रहेको छ। सन् २०४० सम्ममा विश्वका नयाँ क्यान्सर केसहरूको अधिकांश हिस्सा यस्तै देशहरूमा हुने अनुमान छ। तर अहिले ती देशहरूको केवल १५ प्रतिशतले मात्र समग्र क्यान्सर सेवा पाएका छन्। २०२० देखि २०५० सम्म क्यान्सरका २९ प्रकारका रोगहरूको आर्थिक असर विश्वव्यापी रूपमा करिब २५.२ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।
मेडिकल अनकोलोजिस्ट तथा एडभान्स ब्रेस्ट क्यान्सर ग्लोलबल अलायन्सकी अध्यक्ष डा फातिमा कार्डोसोले भनिन्, 'महिलाहरू परिवार, समुदाय र कार्यस्थलको आधारस्तम्भ हुन्, तर स्तन क्यान्सर भएका महिलाहरूमा उपचार र सामाजिक सहयोगको पहुँच अभाव रहेको छ। विशेष गरी न्यून तथा मध्यम आय भएका देशहरूमा आधा भन्दा बढी केसहरू ढिलो चरणमा मात्र पत्ता लाग्छन्। त्यसैले समयमै निदान र उपचार अत्यावश्यक छ।' यही उद्देश्यका लागि आफ्नो संस्थाले म्याक्स फाउन्डेशनलाई हरेक वर्ष १ लाख बिरामीसम्म पुग्ने लक्ष्यमा पूर्ण समर्थन गर्ने बताइन्।
द म्याक्स फाउन्डेशन स्वास्थ्य क्षेत्रको एक अग्रणी विश्वव्यापी गैर-नाफामूलक संस्था हो, जसले स्वास्थ्य समानताका पक्षमा समर्पित छ। २८ वर्षदेखि म्याक्सले व्यावहारिक, मापनयोग्य र उच्च-गुणस्तरीय समाधानमार्फत १ लाखभन्दा बढी क्यान्सर तथा अन्य गम्भीर रोगका बिरामीहरूलाई जीवनरक्षक उपचार र हेरचाह उपलब्ध गराएको छ।
म्याक्सको विश्वास छ- जहाँ जन्मेपनि, सबै मानिसले प्रभावकारी औषधिको पहुँच पाउनुपर्छ, भूगोलले कसैको नियति निर्धारण गर्नु हुँदैन र सबैले सम्मान र आशासँग स्वास्थ्यको खोजी गर्न सक्नुपर्छ।
प्याट गर्सिया-गोन्जालेज : एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा...