काठमाडौं – वीर अस्पतालमा एक बिरामीको मस्तिष्कमा रहेका ६ वटा धमनी (एनोरिजम) मध्ये एक फुटिसकेको अवस्थामा एकैपटक शल्यक्रिया गरिएको छ। करिब नौ घण्टासम्म चलेको उक्त जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो।
शल्यक्रिया न्युरोसर्जरी विभाग प्रमुख प्रोफेसर डा. राजीव झाको नेतृत्वमा सम्पन्न भएको थियो। उहाँसँगै न्युरोसर्जन डा. अन्जन सिंह कार्की र डा. मदन बज्गाईं, एनेस्थेसिया टोलीका डा. प्रदीप वैद्य र डा. अनुज जे. कार्की, तथा नर्स सिन्धु गौतम र अश्मिता कार्की सहितको टोलीले संयुक्त प्रयास गरेका थिए।
अपरेसनका क्रममा पाँच एनोरिजमलाई क्लिप लगाएर बन्द गरिएको थियो भने एउटा धमनीलाई विशेष निर्मलीकरण गरिएको कपडाले बेरेर सुरक्षित राखिएको थियो। सामान्यतया एउटै बिरामीमा धेरै एनोरिजम भए छुट्टाछुट्टै चरणमा शल्यक्रिया गरिन्छ। तर यस केसमा भने मस्तिष्कको बायाँपट्टि मात्र प्रवेश गरेर दायाँपट्टिका समेत सबै एनोरिजमलाई एकैपटक उपचार गर्न सकिएको थियो।
अपरेसनपछि बिरामीको स्वास्थ्य अवस्था स्थिर छ र केही दिनमै घर फर्किन सक्ने अवस्थामा हुनुहुन्छ।
डा. झाले अहिलेसम्म ७६५ भन्दा बढी एनोरिजम शल्यक्रिया गरिसक्नुभएको छ। एउटै व्यक्तिको मस्तिष्कमा रहेका धेरै एनोरिजमलाई एउटै भागबाट अपरेसन गर्ने यो उहाँको ११औं पटक हो।
यस्ता शल्यक्रिया संसारभरका थोरै न्युरोसर्जनले मात्र गर्ने अत्यन्त जटिल विधि मानिन्छ। यसअघि यस्तो स्तरका अपरेसन अमेरिका, चीन, टर्की, भेनेजुएला, मेक्सिको र नेदरल्याण्ड्सजस्ता केही सीमित मुलुकमा मात्र भएका थिए। नेपालमा वीर अस्पतालले पनि सफलतापूर्वक यस्तो शल्यक्रिया सम्पन्न गरेसँगै अस्पताललाई विश्वस्तरको मस्तिष्क शल्यक्रिया केन्द्रका रूपमा मान्यता मिल्ने भएको छ।
चिकित्सकहरूको भनाइमा फुटेको मस्तिष्क एनोरिजमको मृत्यु दर करिब ४०–५०% सम्म पुग्छ। बाँचेका धेरै बिरामीमा दीर्घकालीन स्नायुजन्य कमजोरी वा अपाङ्गता देखिन सक्छ। शल्यक्रियात्मक क्लिपिङका साथै एन्डोभास्कुलर प्रक्रिया (Endovascular procedure) पनि अर्को प्रभावकारी विकल्प मानिन्छ, जसमा धमनीभित्रैबाट क्याथेटर प्रयोग गरी एनोरिजमलाई सुरक्षित पारिन्छ।