काठमाडौं – काठमाडौंको बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक ३६ वर्षीय पुरुषमा मस्तिष्कमा भएको स्ट्रोकको जटिल शल्यक्रिया सम्पन्न भएको छ। अस्पतालका न्यूरोसर्जन डा शुशील मोहन भट्टराईको नेतृत्वमा ४ जनाको टिमले गरेको उक्त शल्यक्रिया सम्पन्न हुनका लागि ३ घन्टा लागेको थियो।
युवा अवस्थामा नै स्ट्रोक भएर टाउकोमा ठूलै रगत जमेको अवस्थामा बिरामीलाई अस्पताल ल्याइएको न्यूरोसर्जन डा शुशील भट्टराईले बताए। अस्पताल ल्याउँदा नै भेन्टिलेटरमा ट्युब लगाइएको तथा टाउकोमा डेढ सय एमएल जति रगत जमेको उनी बताउँछन्। यस्तो अवस्थामा बिरामी बाँच्न सक्ने सम्भावना एकदमै न्यून रहने गर्छ।
‘बिरामीका आफन्त शल्यक्रिया लागि तयार हुँदा बाँच्ने न्यून सम्भावना हुँदा हुँदै पनि शल्यक्रिया गरिएको हो,’ उनले भने, ‘युवा बिरामी भएकोले पनि शल्यक्रिया जोखिम लिएर नै गरियो।’
डा भट्टराईले थपे–‘प्राय जस्तो केशमा बिरामी बाँच्ने आश नै मारिन्छ। शल्यक्रिया पश्चात् बिरामीलाई ४८ घन्टापछि मात्रै भेन्टिलेटरबाट निकालिएको हो।’ बिरामीलाई पूर्णरुपमा होस आउनका लागि १५ – २० दिन लागेको उनले जानकारी दिए।
यस्तो शल्यक्रियामा प्यारालाइसिस् नभई हात गोडा चल्नु ठूलो उपलब्धी भएको डा भट्टराई बताउँछन्। आश मार्ने अवस्थाबाट सफल उपचार गराइएको उनको दाबी छ। हाल बिरामी डिस्चार्ज भइसकेका छन्।
यस्तो समस्या दुर्लभ भने होइन जोसुकै मानिसलाई पनि जीवनमा स्ट्रोक हुने सम्भावना ५–७ प्रतिशत रहन्छ। यद्यपि ४० वर्षभन्दा कम उमेरमा स्ट्रोक हुनु भने एकदमै दुर्लभ भएको डा भट्टराई बताउँछन्। ती युवामा भएको मस्तिष्कको देब्रे भागमा रगत जम्नुलाई अझै खतरापूर्ण मानिन्छ। मस्तिष्कको देब्रेतर्फको भागमा स्ट्रोक हुँदा बिरामी बाँच्ने सम्भावना एकदमै कम हुने तथा बाँचे पनि प्यारालाइसिस् हुने सम्भावना रहन्छ।
४० वर्षभन्दा कम उमेरमा नै हुने स्ट्रोकलाई योङ अनसेट स्ट्रोक भन्ने गरिन्छ। यद्यपि ४० वर्षभन्दा कम उमेर स्ट्रोक एकदमै कम हुने गर्छ। यदि भइहाले पनि १ शय एमएल भन्दा बढी रगत जम्दैन। बिरामी स्ट्रोकका कारण कोमा गइसकेपछि आइसियु खोज्ने क्रममा बानेश्वरस्थित एभरेष्ट अस्पतालमा आइपुगेका थिए। उनी अस्पताल आइपुग्दा जीवित रहेको प्रत्याभुत गराउने अवस्था नै नभएको डा भट्टराई बताउँछन्। मस्तिष्कको देब्रेतर्फको स्ट्रोकमा मृत्युदर ८०–९० प्रतिशत हुने गर्छ