काठमाडौं- समयानुकुल सेवासुविधा पाउनुपर्ने माग गर्दै विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा उत्रिएका छन्। पोखरा र चितवनका प्रमुख मेडिकल कलेजका नर्सहरूले सरकारले तोकेको पाँचौँ तहको तलब संरचना अनुसार तलब वृद्धि गर्न माग गर्दै एकसाथ आन्दोलन सुरु गरेका छन्।
पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ अस्पताल र मणिपाल मेडिकल कलेजका नर्सहरूले केही दिनअघि अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै तलब वृद्धि, कार्यभारअनुसार पारिश्रमिक संशोधन, अतिरिक्त समयको भुक्तानी र चाडपर्व भत्ताको सुनिश्चितता माग गरेका छन्। उनीहरूले तीन दिनभित्र माग सम्बोधन नभए शान्तिपूर्ण विरोधमा जाने चेतावनी दिएका थिए।
उक्त माग पूरा नभएपछि प्रदर्शन थालेका छन् । गण्डकी मेडिकल कलेजका नर्सहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, 'हामीले निरन्तर गुणस्तरीय बिरामी सेवा र अस्पताल सञ्चालनमा योगदान दिइरहेका छौं, तर हाम्रो तलब र सुविधा जिम्मेवारी अनुसार परिमार्जन भएको छैन। यदि माग सम्बोधन भएन भने हामी शान्तिपूर्ण आन्दोलनमा जान बाध्य हुनेछौं।'
त्यसैगरी चितवनस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेज, भरतपुर)का नर्सहरू पनि विभिन्न ४ मागसहित दशैंअघि कलेज अगाडि धर्नामा बसेका थिए। उनीहरूले तलब वृद्धि, नर्सको संख्या थप, अतिरिक्त समयको पारिश्रमिक, र चाडपर्व भत्ताको छुट्टै भुक्तानीको माग गर्दै आन्दोलन थालेका हुन्।
पोखराको मणिपाल मेडिकल कलेजका नर्सहरुले आफूहरु मेसिन नभइ नर्स भएको भन्दै कलेजअघि नाराबाजी गरेका छन् । एक आन्दोलित नर्सले भनिन्, 'हामी बिरामी र अस्पताल दुवैको हितका लागि काम गर्छौं, तर हाम्रो मेहनतअनुसार मूल्याङ्कन र पारिश्रमिक पाएका छैनौं। यसले हाम्रो काम गर्ने मनोबलमा असर पारेको छ।'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको एक वर्ष बितिसकेको छ । गत मंसिरमा मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई पत्र लेख्दै स्वास्थ्यकर्मीको सेवा सुविधा व्यवस्था गर्न भनिएको थियो। तोकिएको समय भन्दाबढी कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने मन्त्रालयको निर्णयमा उल्लेख छ।