दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार गर्न आउने बिरामीको संख्या ह्वात्तै बढेको छ। बिरामीको संख्या बढेसँगै शय्या अभाव भएपछि थप पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको छ।
प्रतिष्ठानका अनुसार बहिरङ्ग र अन्तरङ्ग गरेर २ लाख १८ हजार ७९ जना बिरामीहरुले चालु आर्थिक वर्षमा सेवा लिइसकेका हुन्।
आर्थिक वर्ष २०८०/८१ मा बहिरङ्ग र अन्तरङ्ग १ लाख ७६ हजार ९ सय ७४ जना विरामीले सेवा लिएका थिए।
त्यस्तै आर्थिक वर्ष २०७९/८० मा बहिरङ्ग र अन्तरङ्ग गरेर १ लाख ६० हजार ६ सय ५८ जना बिरामीले सेवा पाएका थिए।
प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानमा विशेषज्ञ सेवा र अत्याधुनिक उपकरणहरु थपिदै गएपछि सेवा विस्तार हुँदै गएको र बिरामीको संख्या पनि बढेको बताए।
रजिष्ट्रार लम्सालले दिएको जानकारी अनुसार प्रतिष्ठानले गएको आर्थिक वर्षदेखि न्युरो सर्जरी सेवा सेवा सुरु गरेको छ। आगामी मंसिर महिनाभित्र क्याथ्ल्याब सेवा पनि सुरु गरी मुटु रोग उपचार सुरु गर्ने योजना छ। युरोलोजी र युरो सर्जरी सेवा सुचारु रहेको छ।
बिरामीको संख्या बढेकाले ४ सय शय्याको भवन यसै आर्थिक वर्षमा निर्माण शुरु हुने छ। सामुदायिक सेवा अन्तरगत रोल्पाको होलेरी र त्रिवेणीमा सेवा सुरु गरी एमबीबीएस कार्यक्रम सहजरुपमा सञ्चालनमा छ। प्रतिष्ठानमा हाल ३ सय २० शय्या चालु अवस्थामा छन्।