बलिउडकी अभिनेत्री भूमि पेडनेकरले हालै आफ्नो छालासम्बन्धी रोग एक्जिमा र त्यसबाट हुने कठिनाइबारे खुलेर बोलेकी छन्। उनले इन्स्टाग्राम स्टोरीमार्फत यस रोगका कारण भोग्नु परेको पीडा र असहजताको अनुभव सार्वजनिक गरेकी हुन्।
भूमिले लेखेकी छन्, 'जब म यात्रा गर्छु, मेरो खानपान असन्तुलित हुन्छ वा म तनावमा हुन्छु। तब मेरो एक्जिमा बढ्छ।' यसले निकै पीडा र असहजता महशुस गराउने उनले उल्लेख गरेकी छिन्।
यूकेको नेशनल हेल्थ सर्भिसका अनुसार, एक्जिमा एउटा छालासम्बन्धी समस्या हो जसले छाला सुख्खा, रातो र चिलाउने बनाउँछ। एक्जिमा विभिन्न प्रकारका हुन्छन् र प्रायः जेनेटिक कारण वा भिटामिनको कमीले उत्पन्न हुने बताइएको छ।
कहिलेकाहीँ एक्जिमाका कारण छालाबाट रगत आउने गर्छ । कपडा, जुत्ता वा कुनै रासायनिक वस्तुको सम्पर्कले पनि यो समस्या हुन सक्ने बताइएको छ।
एक्जिमा प्रमुख चार प्रकार छन् । एटोपिक एक्जिमा सबैभन्दा सामान्य प्रकार, जसमा छाला सुख्खा, फाटेको र चिलाउने हुन्छ। प्रायः साना बच्चामा देखिन्छ। अर्को भ्यरिकोज एक्जिमा खुट्टाको तल्लो भागमा हुने गर्छ। जसमा नसाहरू फुल्ने र छालामा पाप्रो बस्ने गर्छ।
डिस्कोइड एक्जिमा भनेको गोलाकार घाउ हो । जहाँ छाला सुनिने र निकै चिलाउने गर्दछ। कन्ट्याक्ट एक्जिमा कुनै वस्तु वा रासायनिक पदार्थको सम्पर्कले हुने छालाको प्रतिक्रिया स्वरुप हुन्छ।
एक्जिमाका लक्षणहरूमा छाला चिलाउने र सुख्खा हुने प्रमुख हो। त्यस्तृै छाला फुट्ने वा पाप्रो बस्ने, रातो, सेतो वा खैरो दाग देखिने, कहिलेकाहीँ रगत आउन] वा फोका पर्ने पनि हुन्छ।
एक्जिमाको उपचार यसको प्रकार अनुसार फरक पर्छ। स्टेरोइड औषधि र निरन्तर मॉइस्चराइजेशन अत्यावश्यक हुन्छ। साथै शरीरमा पोषणको कमी भए, त्यसलाई पूरा गर्नुपर्छ। एक्जिमा एक पटक भएपछि यसको कारण पत्ता लगाएर भविष्यमा त्यस्ता कारणहरूबाट टाढा रहनु जरुरी हुने चिकित्सकहरु बताउँछन्।
भूमि पेडनेकरले आफ्नो फिल्मी करियरको सुरुवात सन् २०१५ मा ‘दम लगा के हईशा’ बाट गरेकी थिइन्। त्यसपछि उनले 'ट्वायलेट: एक प्रेम कथा', 'शुभ मंगल सावधान', 'सोनचिड़िया', 'साण्डकी आँख', 'भीड' र 'भक्षक' जस्ता चर्चित फिल्ममा अभिनय गरेकी छन्। हालै उनी नेटफ्लिक्सको ‘द रोयल्स’ मा देखिएकी थिइन्।