आज खासै निदाउन सकिनँ। रातभरै छटपटि भइरहेँ। क्षणभरमै खरानी बन्न पुगेको मेरो देशको आगामी मार्गचित्र कस्तो होला भनेर मनमा अनेकौं कुरा खेलिरहे। देशमा विद्यमान थुप्रै प्रतिकूलताको बावजुद हिजो र अस्ति भएको देशव्यापी आन्दोलन (Gen Z Movement Plus) ले पारेको असर, तात्कालिक परिणाम तथा प्रभावका बारेमा सोच्न बाध्य बनाएको छ। मलाई लाग्छ, यस आन्दोलनले देशको समग्र पाटोमा दुरगामी असर पार्नेछ।
एक जनस्वास्थ्यकर्मीको हैसियतले आजको दिनमा हाम्रो स्वास्थ्य अवस्थाबारे केही कुरा राख्न मन लाग्छ। आन्दोलन आफैंमा कठोर हुन्छ र यसले मानव जीवनको हरेक पाटोलाई असर गर्छ। आन्दोलन जब हिंसात्मक बन्छ, त्यहाँ अहिले जस्तै स्वास्थ्य क्षेत्रमा अकल्पनीय क्षति व्यहोर्नुपर्ने अवस्था आउँछ। यसले नेपाली समाजमा पुर्याएको क्षति अकल्पनीय र कारुणिक छ। हामीले अमूल्य क्षति व्यहोरेका छौं। हाम्रा होनहार युवाहरु गुमाएका छौं। धेरैको अंगभंग भएको छ। हजारौं परिवारलाई कहिल्यै नमेटिने घाउ र चोट पुगेका छन्।
समयसँगै यसको थप लेखाजोखा गरिनेछ। झट्ट हेर्दा हामीले मानवीय स्वास्थ्य क्षति (भौतिक क्षतिको अवस्थाको म भने आकलन गर्न सक्ने स्थितिमा छैन) लाई बेवास्ता गर्न सक्ने जस्तो लाग्छ। तर यो यति धेरै भयावह छ कि हामीले यसको कल्पना पनि गर्न सक्दैनौं। शारीरिक रुपमा धेरै जना स्वस्थ देखिए पनि वा शरीरमा देखिने गरी रोग वा चोट नभए पनि आजको दिनमा कुनै पनि नेपाली मानसिक, सामाजिक र भावनात्मक रुपमा स्वस्थ नरहेको सहजै अनुमान गर्न सकिन्छ।
देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीसमेत पछिल्ला घटनाले अशान्त र अस्वस्थ बनाएका छन्। आजको दिनमा हरेक घर अशान्त छ। हरेक वस्तीमा छटपटाहट र नैराश्यता छ। एक-अर्काप्रति घृणा र प्रतिशोधको भावनाले हामी ग्रस्त भएका छौं। केही अपवाद बाहेक अधिकांश व्यक्तिहरुको मानसपटल थिलथिलो भएको छ। यो जनस्वास्थ्यका लागि गम्भीर र चिन्ताको विषय हो। यसलाई सामान्य अवस्थामा ल्याउन ठूलो स्रोत–साधन र लामो समय चाहिन्छ।
सबैभन्दा महत्वपूर्ण कुरा, हामी सबैमा धैर्यता, सुविचार, सहयोगी भावना, आत्मसम्मान र आत्मविश्वास चाहिन्छ। हामीले देखिरहेको समस्या (हामीले चाहेको स्वास्थ्य प्रणाली र राज्यले प्रदान गर्न सकेको अवस्थाबीचको अन्तर) समाधान गर्ने पहिलो खुड्किलो प्रत्येक व्यक्तिको आत्मसम्मान र मानवअधिकारको प्रत्याभूति नै हो।
संसारका विभिन्न आन्दोलन, तिनले पारेका बहुआयामिक असर, समस्या समाधानका लागि विभिन्न देशले (विशेषगरी समुन्नत राष्ट्रहरुले) आत्मसात गरेका अभ्यास तथा अन्तर्राष्ट्रिय मान्यताबाट सिक्दै नेपाली माटो सुहाउने प्रणाली विकास गर्नु हाम्रो (विशेषगरी आजका युवाहरुको) जिम्मेवारी हो।
हामीमाझ विद्यमान समस्याहरु (व्यक्ति वा प्रणाली सम्बन्धित) लाई उन्नत राज्य प्रणालीले मात्र हल गर्न सक्छ। र, जनता माझ पटक–पटक जान नपर्ने संयन्त्रको विकास गरेमा मात्रै परिवर्तन दिगो र भरपर्दो हुन्छ। नत्र, गन्तव्यहीन यात्रा नै नेपालीको नियति बन्न सक्छ।
त्यसैले, अबको कार्यभारको रुपमा व्यक्तिलाई होइन, प्रणालीलाई बलियो बनाउनतर्फ हाम्रो पाइला अघि बढ्नुपर्छ। यसको लागि व्यक्ति–व्यक्तिबीच आदरभाव, सम्मान, समन्वय तथा अनुशासनजस्ता आचरणजन्य कुराहरु हाम्रो जीवनपद्धति बन्नुपर्छ।
संकटको यस घडीमा पनि अहोरात्र खटेर मानवीय क्षतिलाई न्यूनीकरण गर्न, असक्त र घाइतेहरुको घाउमा मलमपट्टी गर्न आफ्नो सम्पूर्ण शक्ति लगाइरहेका स्वास्थ्य सेवा प्रदायकहरुलाई जति प्रशंसा गरे पनि कम हुन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र मातहतका हरेक अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य व्यवस्थापक, डाक्टर, नर्स, प्यारामेडिक, जनस्वास्थ्यकर्मी तथा अन्य सबै सहयोगी हातहरुलाई उच्च सम्मान र कदर गर्दै, सेवालाई थप सुदृढ पार्न सबै क्षेत्र (विशेषगरी सुरक्षा, यातायात, खानेपानी आदि) को सहयोग अपरिहार्य छ। संकटको यस घडीमा समाजले हामी सबैबाट उच्च व्यवसायिकता र मानवताको अपेक्षा गरेको छ। त्यसैले हामी सबैले उच्च चेतसहित समस्यामा परेका जो–कोहीलाई पनि सहायता र सहयोग गरौं। कृपया अब कसैले कसैप्रति बैरभाव वा प्रतिशोधको भावना नराखौं। सकिन्छ भने आफू, आफ्नो देश र समाजलाई सकारात्मक योगदान गरौं। केही गर्न नसकिए पनि कम्तीमा कसैलाई असहयोग वा हानि हुने कार्य नगरौं। यसले हाम्रो मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्यलाई पनि मजबुत बनाउँछ।
परिस्थितिलाई थप बिग्रन नदिन र जनस्वास्थ्यको रक्षा गर्न हरेक जिम्मेवार नागरिकले आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गरौं। सबैको सहमतिमा उच्च राजनीतिक संस्कार प्रदर्शन गर्दै, प्रतिशोधको भावना नराखी राजनीतिक समाधान खोजौं र समयानुकूल राज्य प्रणालीको पुनर्संरचना गरौं। आपसमा लडिरहने वा कुनै वर्गलाई निषेध गरिरहने कार्य कुनै पनि समयमा प्रत्युत्पादक बन्न सक्छ भन्ने कुराको हेक्का सबैले राखौं।
सुसंस्कृत चेत र दृढ विश्वासका साथ मिलेर काम गर्न सक्यौं भने छिट्टै नयाँ नेपालको जग बसाउन सकिन्छ। नैराश्यताले होइन, उन्नत चेतना र सहकार्यबाट मात्र तत्काल विद्यमान रहेका अधिकांश समस्याहरु समाधान गर्न सकिन्छ। हामी सबै एकदिन मर्नु नै छ, तर हरेक दिन सकारात्मक सोचका साथ गुणस्तरीय जीवन बाँच्न प्रयास गरौं।