आज मार्च २०, विश्व मुख स्वास्थ्य दिवस। “आफ्नो मुखमा गर्व गरौँ” भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस विश्वभरी मनाइँदैछ। मानव जातिलाई संसारमा सबै भन्दा बढी सताउने दीर्घकालीन प्रकृतिका रोगहरुमध्ये दन्त सडन एक नम्बरमा पर्छ। यो लगायत गिजा र दाँत समाति राख्ने तन्तुको रोग, (दन्त हर्सा), बाङ्गो टिङ्गो दाँतले हुने समस्या (माल अक्लुजन), मुखको क्यान्सर (मुखको अर्बुध), मुख, अनुहार र दाँतमा लाग्ने चोटपटक, तालु र ओठको खुँडेपन, स्वास गन्हाउने समस्या (ह्यालिटोसीस), नोमा र शारीरिक बिमारीका कारणले मुखमा देखिने समस्याहरु प्रमुख समस्या हुन्। यी सबै रोकथाम गर्न सकिने प्रकृतिका समस्याहरु हुन्। रोकथाम गर्न सकिने हुँदाहुँदै पनि यी मुख स्वास्थ्यमा देखिने स्वास्थ्य समस्याहरुको उपस्थिति जबर्दस्त छ। यो स्थिति विश्वभरी मात्र नभई नेपालमै पनि उस्तै छ।
नेपालमा मुख स्वास्थ्यको बारेमा आधुनिक चिकित्सा पद्दतिद्वारा उपचारको काम सुरु भएको तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले बांगेमुढाका अस्टमान राजभण्डारी र घनमान राजभण्डारीलाई भारतमा तालिम लिन पठाएपछि हो।
यो झन्डै एक सय वर्ष पहिलेको कुरा हो। त्यसपछि आधुनिक चिकित्सा पद्दति अनुसार दक्ष दन्त चिकित्सक भएर डा द्वारिकामान राजभण्डारी आएपछि न:गलमा दन्त चिकित्सा अभ्यस सुरु गरेका थिए। यसैलाई विधिवत रुपमा आधुनिक दन्त चिकित्सा सेवा सुरु मानिन्छ। त्यसपछि विस्तारै विदेशबाट अध्यन गरेर आउने नेपाली दन्त चिकित्सक र डेन्टल अग्जुलारिजको संख्या बढ्न थाल्यो। पछि नेपाल डेन्टल एसोसिएसन, नेपाल डेन्टल हाइजिनिस्टस् एसोसिएसन जस्ता खुले। नेपालमै पनि दन्त चिकित्सा अध्यन अध्यापन सुरु भयो। राज्यले, देशमा प्रजातन्त्रको बहालीसँगै, उदारीकरण र खुलाबजार अर्थतन्त्रको नीति अख्तियार गर्यो। त्यसपछि सेवा क्षेत्रमा पनि लगानीको बाटो खुल्यो। त्यहीसँगै त्रिविको सम्बन्धनबाट पिपल्स डेन्टल कलेज र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको सम्बन्धनमा कान्तिपुर डेन्टल स्कुल संचालन भयो।
पछि विस्तारै काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय अन्तर्गत कलेजहरु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेन्टल कलेजहरु संचालनमा आए। निजीस्तरमा पानी धेरै डेन्टल क्लिनिक, डेन्टल हस्पिटल पनि खुल्दै गए, जुन निकै खुशीको कुरा थियो। यसबाट सेवाग्राही, पढ्ने विद्यार्थी र स्वास्थ्य व्यवसायीहरु लाभान्वित बने। सरकार राजस्व संकलनमार्फत् पनि लाभान्वित भइरहेको थियो। र, अहिले पनि छ। अहिले नेपालमा तेह्रवटा डेन्टल कलेज संचालनमा छन् भने वार्षिक कम्तिमा पनि सात सयको हाराहारीमा दन्त चिकित्सक र दुई सयको जति संख्यामा डेन्टल अक्जुलरि उत्पादन भइरहेका छन्। अझै धेरै डेन्टल कलेजहरु खुल्ने मनासय पत्र लिएर बसेका छन्।
अब चाहिँ हामीले सोच्ने बेला आइसकेको छ कि हामीलाई दन्त चिकित्सा क्षेत्रमा कति जनशक्ति आवश्यक हो? कति दन्त चिकित्सक, कति डेन्टल अक्जुलरी, कति डेन्टल क्लिनिक, कति डेन्टल हस्पिटल खोल्ने हो? यो विषय बेलैमा सोच्नु र समाधान गर्नु जरुरी छ। विश्व स्वास्थ्य संगठनको तोकेको डेन्टिस्ट र जनसंख्याको अनुपात १:४७०० हो। हाम्रो देशमा अहिले भएको नेपाल मेडिकल काउन्सिलमा दर्तावाला दन्त चिकित्सक ३६०० भन्दा बढी भइसक्यो। वार्षिक सालाखाला सात सयको दरले उत्पादन भइरहेको छ।
अहिले हाम्रो डेन्टिस्ट र जनसंख्याको अनुपात १:७८१० को दरमा छ। यही उत्पादनको दर कायम रह्यो भने एक/दुई वर्षमै विश्व स्वास्थ्य संगठनले भनेको अनुपात पुग्छ। अहिलेको स्थिति हेर्दा उत्पादनको दर अझै बढ्ने देखिन्छ। यसो हुँदा दन्त चिकित्सा क्षेत्रमा संकट पैदा हुन्छ। जुन अहिले नै विद्यमान छ। असमान वितरण, बजार क्षेत्रमा मात्रै केन्द्रिकरण, रोजगारीको अभाव, तलबमान एकदमै कम छ। पारिश्रमिक भन्नलाई नै लज्जास्पद स्थिति छ। तर, यसलाई सामान्यीकरण गर्न मिल्दैन। स्नातकोत्तर लगायतका उच्च शिक्षा अध्ययनको अवसर धेरै न्यून छ। आफैं लगानी गरेर व्यवसायी हुने परिवेश पनि निकै कम छ। लगानीको असुरक्षा, लगानीको अभाव र लगानीको प्रतिफल न्यून भएकाले परिस्थिति थप जटिल बन्दै गएको छ।
एकातिर जनशक्ति उत्पादन धेरै भई रोजगारीको अभाव हुने स्थिति पैदा भयो भने अर्कोतिर नेपाली जनताको मुख स्वास्थ्य समस्याको उपचारका लागि सेवामा सहज पहुँचको अभाव छ। जो असमान वितरण र सेवा किन्न सक्ने क्षमताको अभावले गर्दा भइरहेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एउटा राष्ट्रिय सर्वेक्षण भन्छ ५-६ वर्षका ६७ प्रतिशत बालबालिकामा दाँत सड्ने समस्य। यही समस्या उमेर समूह अनुसार फरक फरक मात्रामा छ। दन्त सडनसँगै मुखभित्र हुने रोगहरु सबै उमेर समूहमा छन्।
यी स्वास्थ्य समस्याहरुले गर्दा दुखाई हुने, निद्रा हराउने, काममा जान नसक्ने, खाना खान नसक्ने, आम्दानीमा ह्रास हुने, बालबालिकाको स्कुल छुट्ने, कहिलेकाहीँ ज्यानै जानेसम्मको खतरा पैदा हुन्छ। सोही अध्ययन भन्छ- यदि हामीले सम्पूर्ण नेपालीको मुखमा भएको मुख स्वास्थ्य समस्याहरुको उपचार, आधुनिक पश्चिमा चिकित्सा पद्दतिबाट स्तरीय उपचार गरियो भने नेपालको कुल राष्ट्रिय बजेटको चार गुणा बढी पैसा खर्च हुन्छ। यी रोगहरुको मात्रा अहिले पनि बढी नै रहेको छ।
अहिलेको सहरमुखी जनजीवन, मुख स्वास्थ्य सम्बन्धी जनचेतनाको अभाव, खाद्य व्यवहारले नै (जंक फूड ह्याबिट) समस्या निम्त्याएको छ। यो तथ्यले देखाउँछ कि स्थिति कति भयावह छ। यो स्थितिले नेपालको अर्थतन्त्रमा नै नकारात्मक असर पर्दछ। तसर्थ, यो समस्या समाधान गर्न नीतिगत रुपमै पहल गर्नु जरुरी छ। त्यसका लागि निम्न कुराहरुमा जोड दिनु आवश्यक छ :
१. मुख स्वास्थ्य समस्याहरुमा खोज अनुसन्धानमार्फत् राष्ट्रिय डाटा जम्मा गर्ने।
२. त्यही डाटामा टेकेर मुख स्वास्थ्य नीति तर्जुमा गर्ने र भएको नीतिलाई आवश्यक परिमार्जन गर्ने।
३. त्यही डाटामा आधारित भई मुख स्वास्थ्यमा काम गर्ने दक्ष जनशक्तिको उत्पादन र वितरण गर्ने।
४. उत्पादित जनशक्तिको असमान वितरणलाई नीतिगत रुपमै आवश्यकताका आधारमा परिचालन गर्ने।
५. प्रचुर उत्पादन र नगन्य खपतले गर्दा सृजना भएको बेरोजगारीको समस्या समाधान गर्न राज्यको निकायमा संघीय संरचना अनुसार भएको ओएनएम सर्भे अनुसार संघ, प्रदेश र स्थानीय तहमा दरबन्दी खुलाउने।
६. मुख स्वास्थ्यमा देखिने अधिक समस्याहरु रोकथाम गर्न सकिने खालका भएकाले समुदाय र स्कुलमा मुख स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम र पाठ्यक्रम विकास गर्ने, बढ्दो उत्पादन र असमान वितरणले उत्पन्न बेरोजगारको स्थितिलाई समाधान गर्न जनशक्ति यतातर्फ परिचालन गर्ने।
७. स्नातकोत्तर लगायत उच्च शिक्षा अध्यन अध्यापनको व्यवस्था तर्जुमा गर्ने।
८. अहिलेको नेपाली दन्त चिकित्सा क्षेत्रमा भएका नयाँ पुस्ताका चिकित्सकहरुमाझ रहेको बेरोजगारी समस्या र यसबाट सृजित निराशालाई निराकरण गर्न्, युवा सफ्ट व्यावसायिक ऋण, करियर पाथ काउन्सिलिङ, पब्लिक प्राइभेट पार्टनरशिप लगायतका, लगानीको सुरक्षा र प्रतिफलको प्रत्याभूति आवश्यक छ।
९. ग्रामिण दन्त चिकित्सालाई प्रवर्द्धन गर्ने।
१०. डेन्टल अक्जुलारी, दन्त चिकित्सक र प्राज्ञ विशेषज्ञ दन्त चिकित्सकको पारिश्रमिक एकदमै न्यून छ, चाहे सरकारीमा होस् या निजीमा। यसलाई शसक्त ढंगले समाधान गरिनुपर्छ।
११. अब दन्त चिकित्सा क्षेत्रमा भइरहेको जनशक्तिको उत्पादनलाई घटाउँदै लैजानु पर्ने स्थिति देखा परेको छ।
१२. नेपाली दन्त चिकित्सा क्षेत्रमा चलिरहेको गैरकानुनी अभ्यासले सीमा नाघेको छ। यो विषयसँग औपचारिक अनौपचारिक शिक्षा र कुनैपनि तालिम नभएका व्यक्तिहरुले गैरकानुनी र उपचारका नाममा मुखको संरचना बिगारेर लुटपाट मच्चाइ रहेका छन्।
त्योसँगै अलि अलि पढेका तालिम लिएकाहरु पनि स्वतन्त्रपूर्वक उपचारका नाममा धन्दा चलाइरहेका छन्। हामी पठित चिकित्सकहरले पनि हामीसँग भएका केही कमजोरीहरु छन् भने सुधार्दै अगाडि जानुको विकल्प छैन। किनभने हो नैतिकता, पेशाको मर्यादा, कानुनी र जनस्वास्थ्यको सवालको विषय हो।
आउनुस् हामी सबै हातेमालो गरौँ। हाम्रो क्षेत्रका सम्भावना र चुनौतीहरूलाई पहिचान गरौँ। र, नीतिगत रुपमै समाधान गरौँ।
'आफनो मुखमा गर्व गरौँ।' विश्व मुख स्वास्थ्य दिवसको सुभकामना!
-(कान्ति बाल अस्पतालमा कार्यरत बाल दन्त चिकित्सक डा जोशी नेपाल डेन्टल एसोसिएसनका महासचिव हुन्)