देशमा स्वास्थ्य जनशक्ति प्रशस्त मात्रामा छन्। काम गर्न इच्छुक भएका जनशक्ति पनि नभएका होइनन्। तर स्रोत साधन अनि संरचना बिना जनशक्ति खपत हुने ठाउँ कम छ।
स्वास्थ्य क्षेत्रलाई अहिले व्यापार गर्ने ठाउँ बनाइएको छ। जसका कारण कोरोनाको महामारीको समयमा पनि अस्पतालहरुमा बिरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन्। अस्पतालले बिरामी थेग्न नसक्ने अवस्था बनेको छ।
अस्पतालका अत्यावश्यक भौतिक संरचना जस्तै अक्सिजन प्लान्ट, शय्या अनि चाहिने जनशक्तिको व्यवस्थापनमा सरकारको ध्यानाकर्षण हुनु आवश्यक छ। आइसीयू शय्याहरुमा वृद्धि, जनशक्तिलाई तालिम अनि दक्ष जनशक्तिको व्यवस्थापन गर्न सके महामारीलाई जित्न सहज हुने थियो।
स्वास्थ्यकर्मीहरु अहिले बिना हतियार युद्दमा होमिएका छन्। यो बेला स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न आवश्यक छ। सरकारले कोभिड महामारीमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन भन्दै जोखिम भत्ता उपलब्ध गराउने घोषणा गरेको छ। तर यो जोखिम भत्ता पनि काम गर्ने कालु मकै खाने भालुको अवस्था जस्तै छ।
यो बेला स्वास्थ्यकर्मीहरुलाई भोक, निद्रा, प्यास केहीको मतबल छैन। भोकै पेट पनि उनीहरु कोरोना संक्रमितको उपचारमा खटिरहेका छन्। आफैं संक्रमित भएर पनि बिरामीलाई निको बनाउन जुटिरहेका छन्। तर सरकार भने राजनीतिक खेलमै व्यस्त छ।
महामारीको यो समयमा पनि सरकार र दलीय नेताहरु राजनैतिक खिचातानीमा लाग्दा अस्पताल, स्वास्थ्यकर्मी, बिरामी अनि नागरिकमा नैरश्यता छाएको छ। स्वास्थ्यकर्मीहरुले आफ्नो दायित्व पुरा गर्छन्, यसमा कुनै दुइमत छैन। तर सरकार र राजनीतिक दलले किन महामारीको व्यवस्थापनलाई केन्द्रमा राख्न सकेनन्? के यो स्वास्थ्यकर्मीको मात्र एक्लो लडाईं हो? होइन भने सरकार र राजनीतिक दलले कोरोना नियन्त्रणमा भूमिका खेल्नुपर्छ।
सीमित स्रोत साधनका बावजुद पनि बिरामीहरुलाई बचाउने स्वास्थ्यकर्मीको कोशिस रहन्छ। बिरामीलाई बचाउन स्वास्थ्यकर्मीहरु हरदम प्रयास गर्छन्।
देशको यस्तो विषम परिस्थितिमा नागरिकले पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नैपर्छ। लकडाउनको यो समयमा अत्यावश्यक बाहेक घर बाहिर निस्कनु हुँदैन। मास्कको नियमित प्रयोग, साबुन पानीले धान हुने र सामाजिक दूरी कायम गर्ने गर्नुपर्छ।
यो महामारीको पनि छिट्टै अन्त्य हुनेछ। महामारीबाट हामी सबैले पाठ सिक्नुपर्छ। यही पाठ सिक्दै नेपालको स्वास्थ्य प्रणाली मजबुत बनाउनुपर्छ। ताकी भविष्यमा आउने यस किसिमको स्वास्थ्य संकटलाई सामना गर्न सकियोस्। अहिलेको जस्तो लाचारिपन अवस्था सिर्जना हुनबाट जोगाउन सकियोस्।
कोरोनाको महामारीमा खटिएका सबै स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सफाई कर्मचारी, लगायत सबैको सम्मान भएको हेर्न पाइयोस्। जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीहरु भत्ता र सुविधाबाट बञ्चित नगराइयोस्।
आशा छ, महामारी छिट्टै नियन्त्रणमा आउनेछ। नेपालको स्वास्थ्य प्रणाली र व्यवस्थापनमा पनि सुधार हुनेछ। बिरामीको दर्दनाक स्थिति छिट्टै सुधारियोस्। कोही पनि बिरामी शय्या र अक्सिजनको अभावमा मर्न नपरोस्।
युद्दमा होमिएका सबै स्वास्थ्यकर्मीको हौसला बढाउनका लागि राज्यले केही गर्नुपर्छ। घर परिवारबाट टाढिएर दिनरात नभनी कोरोना विरुद्धको लडाईंमा खटिएका स्वास्थ्यकर्मीले यो लडाईं छिट्टै जित्ने छन्। सफलता प्राप्त गर्नेछन् भन्ने विश्वास छ। तर यसमा सरकार, नागरिक सबैको साथ र सहयोग चाहिन्छ।
(बगाले यति हेल्थ साइन्स एकेडेमीकी लेक्चरर हुन्)