काठमाडौं- नेपालमा कोरोना भाइरसको तेस्रो चरण आउने सम्भावनाबारे अनेकौं चर्चा भइरहेको छ। भारतमा देखिएको डेल्टा भेरियन्ट र त्यसको म्यूटेसन तीव्र संक्रामक भएको भन्दै जनस्वास्थ्यविदहरुले महामारी व्यवस्थापनको थप तयारी गर्न अनुरोध गरेका छन्।
अफ्रिकन मुलुकहरुमा तेस्रो लहर आइसकेको बताइएको छ। नेपालमा पनि दैनिक हुने कोरोना परीक्षणको २० प्रतिशतलाई कोरोना संक्रमण पोजिटिभ रहनुले संक्रमणदर स्थिर देखाउँछ।
सरकारले भने कोरोना भाइरस संक्रमणको दर कम भएको भन्दै निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ। मंगलबरदेखि सातै दिन पसल खोल्ने र जोरबिजोर प्रणालीमा सार्वजनिक यातायातका साधन संचालन गर्ने निर्णय समेत भएको छ।
यस्तो अवस्थामा मानिसको चललपहलले फेरि केही दिनमै संक्रमणको जोखिम बढाउन सक्ने बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी पनि संक्रमणको जोखिम कम नभएकाले हतारमा निषेधाज्ञा खुकुलो बनाउन नहुने बताउँछन्।
जोखिम कायमै रहेको समयमा हतारमा निषेधाज्ञा खोल्दा छिट्टै अर्को लहार आउने खतरा रहेको भन्दै स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालन गर्न र सचेत रहन अनुरोध गर्दै आइरहेको छ। अबको महामारीमा बालबालिका संक्रमणको जोखिममा पर्ने सम्भावना धेरै भएकोले बालबालिका लक्षित तयारी गर्नुपर्ने भन्दै मन्त्रालयले अस्पतालहरुलाई निर्देशन समेत दिइसकेको छ।
कोभिड विरुद्धको खोप दोस्रो मात्रामा लगाउनेको संख्या कुल जनसंख्याको करिब २ प्रतिशत मात्र भएका कारण पनि बालबालिकासहित अन्य उमेर समुह पनि महामारीको जोखिममा रहने बताइएको छ।
नेपालमा अहिलेसम्म २५ लाख ८७ हजार ८७३ जनाले खोपको पहिलो मात्रा र ७ लाख ५२ हजार ११० जनाले खोपको दुवै मात्रा अर्थात पूर्ण खोप प्राप्त गरेका छन्।
स्वास्थ्य मन्त्रालयले भदौमा पुनः संक्रमणदर उच्च हुन सक्ने अनुमान गरेको छ। जसका कारण फेरि लकडाउनमा जानुपर्ने अवस्था आउन सक्ने मन्त्रालयको अनुमान छ। अघिल्लो वर्षको पनि लकडाउन खुल्दा साउन भदौमा संक्रमणको दर बढेको थियो।
तेस्रो लहर नियन्त्रण गर्न परीक्षण र कन्ट्याक्ट टे«सिङलाई बढाउनुपर्ने र आइसोलेसनको उचित व्यवस्थापन गर्नुपर्नेमा पनि जनस्वास्थ्यविज्ञहरुले जोड दिइएका छन्। सबै नागरिकले खोप पाइनसकेकाले तत्काल कोरोना भाइरसबाट बच्न स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गनुपर्ने पनि उनीहरुको भनाई छ।
सोमबार स्वास्थ्य मन्त्रालयको तथ्यांकले पनि संक्रमणदर करिब २१ प्रतिशत भएको देखिएको छ। जति संख्यामा परीक्षण भएको छ, त्यसको २१ प्रतिशत संक्रमणदर कायमै हुनुले जोखिम नघटेको देखिन्छ। सोमबार कै तथ्यांक अनुसार २४ घन्टाको अवधिमा ११ हजार ६ सय ४० जनाको परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको थियो। अर्थात झण्डे २१ प्रतिशत संक्रमणदर रहेको देखिन्छ।
विश्व स्वास्थ्य संगठनले पनि पाँच प्रतिशतभन्दा धेरै संक्रमणदरलाई जोखिमपूर्ण बताउँदै आएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार संक्रमणदर स्थिर अर्थात् २० प्रतिशतभन्दा कम भएको छैन। अस्पतालहरुमा भएका बिरामीको भार कम मात्र भएको तर जोखिम कम नभएको उनको भनाइ छ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका क्रिटिकल केयर प्रमुख डा सुवास आचार्य नेपालमा बालबालिकाका हेर्न पेडियाट्रिक क्रिटिकल केयरका जनशक्ति निकै कम भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताउँछन्।
बालबालिकाहरुले अझै पनि कोरोना संक्रमणविरुद्धको खोप नपाएकाले उनीहरु तेस्रो चरणको महामारीमा जोखिममा पर्न सक्ने आंकलन गरिएको हो।
डा आचार्यले भने,‘नेपालमा पेडियाट्रिक क्रिटिकल केयरका जनशक्ति जम्मा ५, ६ जना मात्र हुनुहुन्छ। नर्सहरुलाई पनि तालिम दिइनुपर्छ। अस्पतालहरुलाई सोही अनुसार तयार गर्नु आवश्यक छ।’
स्वास्थ्य मन्त्रालयले नेपाल पेडियाट्रिक सोसाइटीसँग मिलेर सक्रमित बालबालिको उपचारमा खटिने चिकित्सकलाई तालिम दिन पाठ्यक्रम बनाइरहेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता पौडेलले तेस्रो चरण महामारी आउने सम्भावनालाई मध्यनजर गर्दै तयारी थालिएको बताए।
उनले भने,‘हाम्रो देशमा भएको भेरियन्ट डेल्टा र डेल्टा प्लस उच्च संक्रामक छ। त्यसले यही भेरियन्टले बढाउने संक्रमण एउटा भयो भने अर्को भेरियन्ट आयो भने हुने जोखिम पनि छ। अहिले बनेको एन्टीबडी कति जनाको बन्यो भनेर फिल्डमा गएर हेर्ने तयारी पनि भइरहेको छ।’
उक्त अध्ययनले कति मानिसलाई संक्रमण भइसकेको छ भन्ने देखाउने र बाँकी तयारीमा सहयोग पुग्ने उनले बताए।
उनले इपिडिमियोलोजिष्टको टीमले तेस्रो चरणको सम्भावना, जोखिममा पर्ने सक्ने समुह, गर्नुपर्ने तयारीका विषयमा वैज्ञानिक ढंगले विश्लेषण गरिरहेको बताए। उनले जुलाइपछि पनि संक्रमणको दर कसरी अगाडी बढ्छ भन्ने विषयमा पनि अध्ययन भइरहेको बताए।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सोमबार बसेको बैठकमा पनि तेस्रो चरणको तयारी, व्यवस्थापनका लागि कसले के गर्न सक्छ भन्ने छलफल भएको डा पौडेलले जानकारी दिए।
उपचारात्मक तयारीका साथै महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रयोग गरी कन्ट्याक्ट टे«सिङ, क्वारेन्टाइन व्यवस्थापन गरिने बताइएको छ।
डा पौडेलका अनुसार मन्त्रालयले बालबालिका लागि देशभर ५०० बढी आइसोलेसन शय्या र ५०० भन्दा बढी आइसीयू र भेन्टिलेटर शय्या निर्माण गर्ने कुरामा पनि विभिन्न क्षेत्रसँग छलफल भइरहेको छ।
कोरोनाको दोस्रो चरणमा अस्पतालमा अक्सिजन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर लगायतका सामग्री सहयोग पनि गरिरहेका छन्। अबको महामारीमा दोस्रो चरणमा जस्तो असहज नहुने मन्त्रालयको दाबी छ। यद्यपि स्वास्थ्य सामग्रीको संख्या अस्पतालमा बढाइएपनि सोही अनुसार जनशक्तिको भने अहिले पनि निकै अभाव रहेको छ।