काठमाडौं- उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्सेज (न्युरो अस्पताल, बाँसबारी) ले अत्याधुनिक उपकरणहरू थप गरेको छ।
अन्तर्राष्ट्रियस्तरको स्नायुसम्बन्धी रोगको उपचार प्रदान गर्नका लागि अस्पतालले अत्याधुनिक उपकरणहरू थप गर्दै स्तरोन्नति गरेको जनाएको छ।
अस्पतालले पत्रकार सम्मेलनमार्फत हालै थपिएका तथा स्तरोन्नति गरिएका उपकरणबारे जानकारी दिएको हो। स्नायु विज्ञानमा विकसित प्राविधिक प्रगतिअनुरूप शल्यक्रियालाई सुरक्षित, न्यून जोखिमयुक्त, सहज र विश्वस्तरीय बनाउन विश्व बजारका नवीनतम प्रविधि र उपकरणहरू भित्र्याइएको अस्पतालले जनाएको छ।
कतिपय प्रविधि र उपकरण नेपालमै पहिलो पटक भित्र्याइएको उल्लेख गर्दै तिनको कार्यप्रणाली तथा उपचारमा हुने सहजता र सुरक्षाबारे जानकारी दिइएको थियो।
स्नायु शल्यचिकित्सा सेवालाई थप प्रभावकारी र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन अत्याधुनिक मेसिन तथा उपकरणहरू थप गरिएको अस्पतालकी कार्यकारी अध्यक्ष प्रा. डा. मधु दीक्षित देवकोटाले बताइन्।
उनका अनुसार, “अत्याधुनिक सामग्री ल्याउनका लागि अस्पतालले २५ करोड ऋण लिएको छ। कतिपय प्रविधि नेपालमै पहिलो हुन्। भर्खरै छ वटा नयाँ अत्याधुनिक मेसिन तथा उपकरणहरू भित्र्याएका छौं। बिरामीको उपचारमा यी सामग्रीले थप प्रभावकारी भूमिका खेल्ने विश्वास छ।”
पत्रकार सम्मेलनमा अस्पतालका न्युरोसर्जरी विभाग प्रमुख डा. निकुञ्ज योगी, न्युरोसर्जन डा. सुरज थुलुङ, डा. सागर कोइराला, न्युरोलोजिस्ट डा. घनश्याम खरेल र एनेस्थेसियोलोजिस्ट डा. रुपेश राजभण्डारी लगायतले नयाँ उपकरण तथा प्रविधिबारे प्राविधिक जानकारी दिएका थिए।
यी हुन् थपिएका अत्याधुनिक प्रविधिहरू
१. न्युरो नेभिगेसन सिस्टम (स्टेल्थ–८)
यो अत्याधुनिक प्रविधिले दिमाग वा मेरुदण्डको हूबहू चित्रण गरी संवेदनशील भागहरूको मापनयोग्य विवरण प्रदान गर्छ। यसले मस्तिष्क र मेरुदण्डको शल्यक्रियामा रोग लागेको भागलाई मात्र लक्षित गरी निकाल्न मद्दत गर्छ, जसले जोखिम न्यून बनाउँछ। यो प्रणाली पार्किन्सन, मिर्गी तथा चालसम्बन्धी रोगहरूको उपचारका लागि डिप ब्रेन स्टिमुलेशन (DBS) वा लिजनिङ शल्यक्रियामा प्रयोग गरिन्छ।
२. रोबोटिक माइक्रोस्कोप (केनोभो ९००)
यो माइक्रोस्कोप न्युरोसर्जनको “सहायक हात” हो। यसले थ्रीडी इमेज प्रदान गर्ने भएकाले मस्तिष्क र मेरुदण्डको सूक्ष्म भाग स्पष्ट देख्न सकिन्छ। रोबोटिक गतिशीलता भएकाले अपरेशन स्थलसँगै सटीक रूपमा चल्ने सुविधा दिन्छ, जसले लामो र जटिल शल्यक्रिया सहज र छरितो बनाउँछ।
३. ओ–आर्म मेशिन
यो प्रविधि मेरुदण्डको हड्डीमा शल्यक्रिया गर्दा प्रयोग गरिन्छ। यसले अपरेशनको स्थान सटीक निर्धारण गर्न सहयोग गर्छ। स्टेल्थ–८ सँग संयोजन गरी प्रयोग गर्दा डिप ब्रेन स्टिमुलेशन (DBS) र लिजनिङ शल्यक्रिया सहज रूपमा गर्न सकिन्छ। यसले पार्किन्सन र चालसम्बन्धी रोगहरूको उपचारमा सहयोग पुर्याउँछ।
४. इन्ट्रा अपरेटिभ न्युरो मनिटरिङ
यो प्रविधिले अपरेशनको क्रममा मस्तिष्क, मेरुदण्ड र नसाबाट निस्कने स्नायु–तरङ्गहरू मापन गर्छ। यसले शल्यक्रियाका बेला स्नायु प्रणालीको कार्यस्थितिलाई निगरानी गर्न सकिने भएकाले बिरामीको सुरक्षा अभिवृद्धि गर्छ।
५. नेटस १२८–च्यानल ईईजी मेशिन
नेपालमै पहिलो १२८–च्यानलको यो ईईजी मेशिनले इपिलेप्सी (छारे रोग) सम्बन्धी शल्यक्रिया अघि मस्तिष्कको रोग उत्पन्न हुने भाग पहिचान गर्न सहयोग गर्छ। यसले बालबालिकामा देखिने कन्जेनिटल सिजर डिसअर्डर वा अनिर्णित बेहोस हुने अवस्थाको पहिचानमा पनि उपयोगी हुन्छ।
६. ईनोमेड आरएफ मेशिन
यो रेडियो फ्रीक्वेन्सी मेशिन ले न्युरोसर्जरीमा पार्किन्सन डिजिज, मुभमेन्ट डिसअर्डर र ट्राइजेमिनल न्युराल्जिया जस्ता रोगमा शल्यक्रिया नगरी उपचार गर्न सहयोग गर्छ। यसले दीर्घ दुखाइका रोगहरूको उपचारमा पनि प्रयोग गर्न सकिन्छ।