काठमाडौं- भण्डारणमा समस्या हुने देखिएपछि चीनबाट खरीद गरीएको भेरोसेल खोप साउन पहिलो साताबाट लगाउन प्रस्ताव गरिएको छ। स्वास्थ्य सेवा विभागले साउनको पहिलो साताबाटै खोप कार्यक्रम संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रस्ताव गरेको हो।
असार २५ गते चीनबाट खरीद गरिएको भेरोसेल १० लाख डोज साउन पहिलो साताबाटै लगाउन सुरु गर्नुपर्ने तयारी गरिएको हो।
अर्कोतिर, सोमबार (भोलि) नै अमेरिकाबाट कोभ्याक्स फ्यालिलिटी मार्फत जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० खोप नेपाल आउने भएपछि भण्डारणमा समस्या आउन नदिन छिटो खोप कार्यक्रम सुरु गर्न भनिएको हो।
व्यवस्थापन महाशाखाका अनुसार काठमाडौंको टेुकमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्र र त्रिभुवन विमानस्थलमा रहेको कोल्ड रुमसमेत गरी अहिले भेरोसेलको १० लाख डोज भन्दा बढी खोप भण्डारण गर्न सकिन्न।
‘भेरोसेल खोपको भोल्युम धेरै हुने भएकाले थोरै खोपले धेरै ठाउँ ओगट्छ। त्यसैले अस्ति आएको भ्याक्सिनमध्ये पोखरा, हेटौंडा पठाइसककिएको छ। भने आज बुटवल जाँदैछ। केन्द्रमा स्टोर खाली नगरे जोन्सन एण्डन जोन्सन वा अन्य आउने खोप राख्न समस्या हुन्छ,’ आपूर्ति व्यवस्था शाखाका फार्मेसी अधिकृत बढेबाबु थापाले भने।
व्यवस्थापन महाशाखाका अनुसार २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्नका लागि ७ हजार ५०० र ३ हजार ७५० लिटर भण्डारण क्षमता टेकुस्थित स्टोरमा छ। उक्त कोल्ड रुममा एउटामा २८ लाख ७३ हजार ५६० डोज र अर्कोमा १३ लाख ४१ हजार डोज भ्याक्सिन भण्डारण क्षमता छ।
त्यसैगरी, विराटनगरमा रहेको ३ वटा कोल्ड रुममा २ हजार २५० लिटर क्षमता रहेको छ। जसमा ८ लाख ६२ हजार डोज भ्याक्सिन भण्डारण क्षमता रहेको बताइएको थियो।
व्यवस्थापन महाशाखाका अनुसार पथलैया, बारामा ३ वटा भ्याक्सिन स्टोर छ। तीनमध्ये २ वटा कोल्ड रुममा ३ हजार ७५० लिटर भण्डारण क्षमता रहेको छ। त्यहाँ १४ लाख ३६ हजार ७०० डोज भण्डारण क्षमता छ। भने ७ हजार ५०० लिटर क्षमता भएको तेस्रो रुममा २८ लाख ७३ हजार ५०० डोज भ्याक्सिन भण्डारण क्षमता छ। त्यहाँबाट विराटनगर, हेटौंडा र प्रदेश २ लाई समेट्ने महाशाखाले बताउँदै आएको छ।
भेरोसेल खोप एक भायलमा एक मात्रा मात्र लगाउन मिल्छ भने जोन्सन एण्ड जोन्सनको एक भायलमा पाँच मात्रा लगाउन मिल्छ। त्यसअर्थमा भेरोसेल भन्दा जोन्सन एण्ड जोन्सनका लागि कम ठाउँ चाहिन्छ।
अर्कोतर्फ, सरकारले चीनसँग खरीद गरेको ४० लाख डोज खोप पनि अबको तीन साताभित्र आइसक्ने बताइसकेकोले पनि खोप अभियान पनि तिव्र रुपमा संचालन गर्नुपर्ने हुन्छ।
चीन सरकारले जेठमा नेपालमा अनुदान दिएको १० लाख खोपमध्ये २ लाख डोज खोप इन्जेक्सनमा दिएको थियो। त्यसले झन् धेरै स्थान ओगट्ने भएकाले पनि भण्डारणका लागि समस्या हुने अनुमान गरिएको हो।
नेपालमा गत माघ १४ गतेबाट सुरु गरिएको कोरोना विरुद्धको खोप अभियानमा २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र १० लाख १ हजार ७५७ जनाले दोस्रो अर्थात पूर्ण खोप लगाएका छन्।
सरकारले कुल जनसंख्याको ७२ प्रतिशत जनसंख्यालाई कोरोना खोप लगाउने लक्ष्य राखेको छ। आगामी कात्तिक मंसिरसम्म ४२ प्रतिशतलाई खोप लगाइसक्ने सरकारको लक्ष्य छ।
हालसम्म नेपालमा भारतले अनुदान दिएको १२ लाख र नेपालले सेरमसँग खरीद गरेको १० लाख डोज गरी २२ लाख डोज कोभिसिल्ड, चीनले दुई पटक गरी दिएको १८ लाख, चीनसँग खरीद गरिएको मध्ये ८ लाख गरी २६ लाख डोज, कोभ्याक्स फ्यासिलिटी मार्फत ३ लाख ४८ गरी ५१ लाख ४८ हजार डोज खोप नेपाल आएको छ। यसमा सेरमसँग अग्रिम भुक्तानी गरिएको १० लाख डोज कोभिसिल्ड खोप आउन बाँकी छ। भने चीनसँग खरीद गरिएको खोप आउने क्रममा छ।
हाल भएका खोप भण्डारण केन्द्रमा नेपालमा नियमित रुपमा संचालन हुने खोप कार्यक्रमका खोप समेत राखिएका छन्।