काठमाडौं - सरकारले ५५ वर्षदेखि ५९ वर्ष उमेर समूहका १८ लाख ६ हजार ६५ बढी व्यक्तिलाई भेरोसेलको पहिलो मात्रा खोप लगाउने गरी खोप वितरण गर्ने तयारी गरेको छ। यो संख्यामा अघिल्लो पटक पहिलो डोज खोप लगाउन छुटेका ६० वर्ष माथिका जनसंख्या पनि जोडिएको बताइएको छ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार उक्त जनसंख्या ९० प्रतिशत अर्थात १६ लाख २५ हजार ४९५ व्यक्तिले खोप लगाउने अनुमान गरिएको छ।
सरकारले चीन सरकारसँग खरीद गरेको ४० लाख भेरोसेल खोपमध्ये पहिलो चरणमा आएको ८ लाख डोज खोप ती उमेर समूहलाई लगाउँदै जाने जनाएको छ। पहिलो चरणमा आजदेखि तीन प्रदेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा खोप कार्यक्रम सुरु भएको छ।
अहिलेको खोप कार्यक्रम आजदेखि साउन २ गतेसम्म देशभर चलिरहेको छ। खोप कार्यक्रम अन्तरगत काठमाडौं जिल्लामा मात्र ४४ वटा खोप केन्द्र तोकिएका छन्।
महाशाखाले तयार पारेको प्रारम्भिक तथ्यांक अनुसार प्रदेश १ मा २ लाख ९६ हजार ९७७, प्रदेश २ मा ३ लाख ७७ हजार १६३ र बागमती प्रदेशमा हटौंडा खोप केन्द्रले समेट्ने तीन जिल्लाका ८८ हजार ६२० र काठमाडौं खोप केन्द्रले समेट्ने १० जिल्लाका २ लाख ९९ हजार ६७१ जना जनसंख्या रहेको छ।
त्यसैगरी उक्त उमेर समूहकै गण्डकी प्रदेशमा १ लाख ५० हवार ८४८, लुम्बिनी प्रदेशमा ३ लाख ७ हजार ६४, कर्णाली प्रदेशमा १ लाख ९ हजार ८८ र सुदूरपश्चिम प्रदेशमा १ लाख ७६ हजार ६३४ जनसंख्या रहेको छ। यो जनसंख्यामध्ये प्रदेश १ मा २ लाख ६७ हजार २८६, प्रदेश २ मा २ लाख ३९ हजार ४५१, बागमतीमा (हेटौंडा २ जिल्ला) मा ७९ हजार ७६०, (काठमाडौं १० जिल्ला) मा २ लाख ६९ हजार ७०८ जनाले खोप लगाउने अनुमान छ।
त्यसैगरी, गण्डकी प्रदेशमा १ लाख ३५ हजार ७६९, लुम्बिनी प्रदेशमा २ लाख ७६ हजार ३६२, कर्णाली प्रदेशमा ९८ हजार १८५ र सुदूरपश्चिम प्रदेशमा १ लाख ५८ हजार ९७४ जनाले खोप लगाउने अनुमान छ।
सो जनसंख्यालाई लक्षित गरी व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले प्रदेश १ मा २ लाख ७८ हजार ९००, प्रदेश २ मा ३ लाख ३४ हजार, बागमती प्रदेशको हटौंडामा ८२ हजार ५००, काठमाडौंमा २ लाख ९८ हजार ५००, गण्डकी प्रदेशमा १ लाख ४२ हजार ६५० डोज खोप पठाउने तयारी गरेको छ।
त्यसैगरी, लुम्बिनी प्रदेशमा २ लाख ९३ हजार २००, कर्णाली प्रदेशमा ८९ हजार ८०० र सुदुरपश्चिम प्रदेशमा १ लाख २ हजार डोज खोप पठाउने तयारी छ।
नेपालमा गत वर्ष माघ १४ गतेदेखि कोभिड खोप अभियान सुरु भएको हो। हालसम्म देशभर २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र ११ लाख ३ हजार १३० जनाले दोस्रो मात्रा अर्थात पूणर् खोप पाइसकेका छन्।