काठमाडौं - चितवन मेडिकल कलेजमा दोस्रो पटक कलेजोको जटिल खालको सफल प्रत्यारोपण गरिएको छ। असार १८ गते दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।
जाजरकोट कुशे गाउँपालिका ९ का ४७ वर्षीय भरतबिक्रम शाहीको कलेजो प्रत्यारोपण गरिएको शल्य चिकित्सक सर्जन डा सञ्जयकुमार यादवले जानकारी दिए। उनलाई ४८ वर्षीया श्रीमती कमलादेवी शाहीले कलेजो दान गरेकी थिइन्।
भरतबिक्रम शाहीमा कलेजो कलेजो प्रत्यारोपण गर्न १५ घण्टा लागेको थियो। हाल बिरामीको अवस्था सामान्य रहेको बताउँदै उनले २÷४ दिनमै डिस्चार्ज गर्ने तयारी भएको जानकारी दिए। उनकी श्रीमतीलाई गत सोमबार नै डिस्चार्ज गरिएको छ।
ती बिरामीको कलेजोमा सिरोसिस भइसकेको र सिरोसिस वीथ पोर्टल भेन थ्रोम्बसिस पीभीटी को समेत समस्या थियो। डा यादवका अनुसार पीभीटी भनेको कलेजोमा रगत जाने नशा ब्लकेज भएको थियो। जुन आफैँमा जटिल खालको शल्यक्रिया भएको उनी बताउँछन्।
उनले भने, ‘कलेजो प्रत्यारोपण आफैँ जटिल खालको शल्यक्रिया हो। त्यही माथि जुन बिरामीमा पीभीटीको समस्या हुन्छ। त्यो झनै चुनौतीपूर्ण हुन्छ।’
पीभीटी भएको बिरामीको कलेजोको सफल प्रत्यारोपण गरिएको नेपालमै पहिलो पटक भएको अस्पतालको दाबी छ।
प्रत्योपणमा डा यादव सहित, डा एकानन्द सिंह, डा जयन्तकुमार सिंह, हेपाटोलोजी डा सागर पौडेल, डा बरुण श्रेष्ठ, एनेस्थेसिया तथा क्रिटिकल कियरमा डा किरण अधिकारी, डा नविन यादव, डा सुरेश गौतम, डा विरेन्द्र राउत, रेडियोलोजिष्ट डा दिपक अधिकारी, डा सुवास ओझा लगायत संलग्न थिए।
चितवन मेडिकल कलेजमा चैत ८ गते पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको थियो।
कलेजो प्रत्यारोपण किन र कस्ता बिरामीलाई गरिन्छ ?
कुनै पनि व्यक्तिलाई सिरोसिस भएपछि मात्र कलेजो प्रत्यारोपण गरिन्छ। विभिन्न कारणले कलेजो खराब भएको अवस्थालाई चिकित्सकीय भाषामा सिरोसिस भनिन्छ। तेस्रो चरणमा आइपुग्दासम्म ७० देखि ८० प्रतिशतसम्म कलेजो खराब भइसकेको हुने डा यादवले बताए।
सिरोसिस भएको बिरामीमा विभिन्न लक्षण देखापर्छन्। ती लक्षणहरुलाई नजरअन्दाज गर्न हुँदैन।
पेटमा पानी जम्ने, जण्डिस हुने, बेहोस हुने, छातीमा पानी जम्ने, रगतको बान्ता हुने जस्ता लक्षणहरु यसमा देखिन्छन्। यी लक्षण देखिएको बिरामीको उपचारको विकल्प कलेजो प्रत्यारोपण मात्र भएको यावदले बताए। तर यी लक्षण देखिएपनि उपचार गरिएन भने त्यस्ता बिरामीको औसत आयु ६ महिनादेखि २ वर्ष मात्र हुने उनी बताउँछन्। समयमै कलेजो प्रत्यारोपण गरे स्वस्थ व्यक्ति सरह बाँच्न सकिन्छ।
उनले भने, ‘माथि भनिएका विभिन्न लक्षणहरुमध्ये पनि कुनै देखियो भने त्यो सिरोसिस भएको हो। सिरोसिसको विकल्प भनेको प्रत्यारोपण मात्र हो। कलेजो प्रत्यारोपण गरियो भने स्वस्थ व्यक्ति सरह बाँच्न सक्छन्। तर गरिएन भने ती बिरामीको औसत आयु ६ महिनादेखि २ वर्ष मात्र हुन्छ।’
कलेजो खराब नभएसम्म शरीरमा कुनै पनि लक्षण देखिदैन। त्यसैले समय÷समयमा कलेजोको परीक्षण गर्नुपर्छ। समस्या सुरुवाती चरणमा छ भने कलेजोलाई खराब हुनबाट जोगाउन सकिन्छ।
‘यो रोगमा कलेजो खराब भइसकेपछि मात्र लक्षण देखिन्छ। लक्षण देखिनु भनेकै कलेजो खराब भएको हुनु हो।’ उनले भने, ‘त्यसैले कलेजोको बेला बेलामा परीक्षण गराइ राख्नुपर्छ। समस्या समयमै पहिचान गर्न सकियो भने यो रोगबाट बच्न सकिन्छ।’ उनले भने।
१८ देखि ५० वर्ष उमेरका परिवारका सदस्य र स्वस्थ व्यक्तिले मात्र कलेजो प्रत्यारोपण गर्न सक्ने उनले जानकारी दिए। यसका साथै मस्तिष्क मृत्यु भएका व्यक्तिबाट पनि कलेजो दान गर्न सकिन्छ।
कलेजो प्रत्यारोपणलाई निकै जटिल शल्यक्रियाको रुपमा लिइन्छ। विभिन्न कारणले कलेजो बिग्रिएपछि अन्तिम विकल्प प्रत्यारोपण मात्र हुने गर्छ। नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले सुरु गरेको थियो ।