काठमाडौं- वीर अस्पतालले औषधि सिफारिस प्रणालीलाई पारदर्शी र मापदण्डअनुसार बनाउन नयाँ व्यवस्था लागू गरेको छ। अस्पताल प्रशासनले अस्पतालको फार्मेसी सेवालाई थप व्यवस्थित, अनुशासित र प्रभावकारी बनाउन ११ बुँदे निर्देशन जारी गरेको हो।
अस्पतालले फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूका लागि स्पष्ट कार्यविधि, अनुशासन र सेवा मापदण्ड निर्धारण गर्दै यस्तो निर्देशन जारी गरेको हो।
अस्पतालले जारी गरिएको निर्देशनअनुसार अब फार्मेसी कर्मचारीहरूले ड्युटी रोटरअनुसार तोकिएको समयमा अनिवार्य रूपमा उपस्थित भई काम गर्नुपर्नेछ। सेवाग्राहीप्रति शिष्ट, नम्र र जिम्मेवार व्यवहार गर्नुपर्ने, पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने तथा समयभन्दा बढी काम गर्नेहरूलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन (इन्सेन्टिभ) दिने व्यवस्था गरिएको छ।
अस्पताल प्रशासनले चिकित्सकहरूलाई कम्पनी वा ब्रान्ड नाम उल्लेख नगरी अनिवार्य रूपमा ‘जेनेरिक नेम’मै ब्लक लेटरमा औषधि लेख्न निर्देशन दिएको हो।
अस्पतालले जारी गरेको निर्देशनमा औषधि लेख्दा कुनै निश्चित कम्पनी वा ब्रान्डको नाम प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ। चिकित्सकहरूले औषधिको जेनेरिक नाम स्पष्ट रूपमा ठूलो अक्षर (ब्लक लेटर)मा लेख्नुपर्नेछ, जसले औषधि छनोटमा निष्पक्षता र बिरामीको हित सुनिश्चित गर्ने अस्पतालको अपेक्षा छ।
'चिकित्सकहरूले बिरामीलाई औषधि तथा सर्जिकल सामाग्रीहरू सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ब्राण्ड तोकि नलेखी, सबैले बुझ्ने गरी Generic Name with Block Letter मा लेख्ने र औषधि सिफारिस गर्नेको नाम, NMC No. तथा दस्तखत अनिवार्य गर्ने व्यवस्था सम्बन्धित चिकित्सकहरूलाई विभागीय प्रमुख तथा युनिट प्रमुखले जानकारी गराउनु पर्नेछ साथै फार्मेसी शाखाले उक्त Prescription को अडिट समेत गर्नेछ,' निर्देशनमा उल्लेख छ।
यस व्यवस्थासँगै औषधि वितरण प्रणालीलाई प्रभावकारी बनाउने, अनावश्यक ब्रान्ड निर्भरता घटाउने र बिरामीलाई सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको अस्पताल प्रशासनले जनाएको छ। साथै, उक्त निर्देशनको कार्यान्वयन अनुगमन गरिने र उल्लंघन भएमा आवश्यक कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
यस्ता छन् ११ बुँदे निर्देशन
वीर अस्पताल प्रशासनबाट अस्पताल फार्मेसी सम्बन्धी आवश्यक निर्देशनहरू
१. फार्मेसी शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरूले ड्युटी रोष्टर अनुसार तोकिएको समयमा खटाएको ठाउँमा कामकाज गर्नुपर्नेछ। अन्यथा नियमानुसार कारवाही हुनेछ।
२. कार्यक्षेत्रमा खटिँदा फार्मेसीका सम्पूर्ण कर्मचारीहरूले अनिवार्य रूपमा ड्रेस, एप्रोन तथा परिचयपत्र लगाउनु पर्नेछ।
३. दैनिक तोकिएको समय अनुसार ड्युटी गर्नु पर्नेछ र तोकिएको समयभन्दा बढी ड्युटी गर्नु परेमा performance based incentive दिइनेछ।
४. बिरामीलाई फार्मेसी सेवा प्रदान गर्दा मर्यादित, नम्र, उत्तरदायी तथा शिष्ट, सालिन र भद्र, मिठो बोली व्यवहार र मुस्कान सहितको सेवा दिनुपर्नेछ।
५. फार्मेसीका सम्पूर्ण कर्मचारीहरूले विदा लिनुपर्दा आवश्यकता तथा औचित्यताका आधारमा अग्रिम विदा स्वीकृत गरी बस्नुपर्नेछ। कुनै कारणवश समयमै ड्युटीमा आउन नसकेमा तत्कालै ड्युटी आउन नसक्नुको कारणसहित अध्यावधिक गराउनु पर्नेछ। अन्यथा नियमानुसार कारवाहीको भागीदार हुनु पर्नेछ।
६. खाजा खाने समयमा पालो मिलाएर सेवा प्रवाहमा असर नपर्ने गरी खाजा खान जानुपर्नेछ।
७. Generic Prescription सम्बन्धमा चिकित्सकहरूले बिरामीलाई औषधि तथा सर्जिकल सामाग्रीहरू सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ब्राण्ड तोकि नलेखी, सबैले बुझ्ने गरी Generic Name with Block Letter मा लेख्ने र औषधि सिफारिस गर्नेको नाम, NMC No. तथा दस्तखत अनिवार्य गर्ने व्यवस्था सम्बन्धित चिकित्सकहरूलाई विभागीय प्रमुख तथा युनिट प्रमुखले जानकारी गराउनु पर्नेछ साथै फार्मेसी शाखाले उक्त Prescription को अडिट समेत गर्नेछ।
८. फार्मेसीमा औषधि फिर्ता गर्ने सम्बन्धमा बिरामीको मृत्यु भएको तथा बिरामी डिस्चार्ज भएको बाहेक अरु सबैको बिरामीको लागि दैनिक ५:०० बजे पछाडि गरिनेछ। चिकित्सकहरूले औषधि तथा सर्जिकल सामाग्रीहरू कम्पनी वा ब्राण्ड नमिलेको भनी फिर्ता गरी बिरामीहरूलाई अनावश्यक दुःख दिने काम गर्न पाइनेछैन। यदि यस्तो कार्य गरेको पाइएमा, संलग्न चिकित्सक, नर्सिङ्ग तथा अन्य कर्मचारीहरूलाई कारवाहीको लागि अस्पताल प्रशासनबाट नियामक निकायमा लेखी पठाइनेछ।
९. औषधिको प्रमोशन गर्ने (Medical Representatives - MR) हरूलाई कार्यालय समयमा वीर अस्पतालको हाताभित्र (ओ.पि.डी., इमर्जेन्सी तथा वार्डहरू) मा प्रवेश गर्न पूर्णतः निषेध गरिएको छ। यसको सघन अनुगमन गरिनेछ साथै कार्यालय समयमा अस्पताल हाताभित्र Medical Representatives (MR) भेटिएमा सूक्ष्म तरिकाले निगरानी गर्नको लागि अस्पताल प्रशासनबाट नियामक निकायमा लेखी पठाइनेछ।
१०. अस्पतालको हाताभन्दा बाहिरका फार्मेसीहरूबाट औषधि किन्न बिरामीलाई अभिप्रेरित गर्ने गरेको साथै वार्ड वार्डमा भिजिटिङ्ग कार्ड बाँड्ने गरेको भन्ने गुनासो आएकोले त्यस्तो कार्य नगर्न नगराउनुहुन अनुरोध छ। यस्तो कार्यमा संलग्न हुने जो कोहीलाई नियमानुसार कारवाही गरिने तथा निगरानी गर्न अस्पताल प्रशासनबाट नियामक निकायमा जानकारी गराइनेछ।
११. फार्मेसीबाट बीमामा आबद्ध बिरामीहरूलाई लगातार खानुपर्ने औषधिहरू प्रदान गर्दा सम्बन्धित विभाग/युनिट प्रमुख/इन्चार्जको सिफारिसमा, इमर्जेन्सी बिरामीको हकमा बढीमा ५ दिनसम्म, वार्डमा भर्ना बिरामीको हकमा बढीमा ७ देखि १० दिनसम्म र ओ.पि.डी. बिरामीको हकमा बढीमा १ महिनासम्म उपलब्ध गराइनेछ।