काठमाडौं- नेपालमै औषधि उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्रालयले पहल अघि बढाएको छ। स्वास्थ्य मन्त्री निशा मेहताको उपस्थितिमा नेपाल औषधि लिमिटेड, सिंहदरबार वैद्यखाना विकास समिति र औषधि व्यवस्था विभागबीच आज सिंहदरबारमा छलफल भएको छ।
बैठकमा आधारभूत स्वास्थ्य सेवा अन्तर्गत निःशुल्क वितरण गरिने औषधिहरू स्वदेशमै उत्पादन गर्न सकिने सम्भाव्यताबारे विस्तृत समीक्षा गरिएको मन्त्रालयले जनाएको छ। हाल आयातमा निर्भर रहेको औषधि आपूर्तिलाई क्रमशः स्वदेशी उत्पादनमार्फत प्रतिस्थापन गर्ने रणनीतिमाथि सरोकारवाला निकायहरूबीच गहन विचार-विमर्श भएको थियो।
छलफलका क्रममा नेपालमै गुणस्तरीय औषधि उत्पादन विस्तार गर्ने उपाय, आवश्यक पूर्वाधार, प्राविधिक क्षमता विकास तथा नियामक निकायको भूमिकाबारे समेत विशेष जोड दिइएको थियो। सहभागी संस्थाहरूले स्वदेशी औषधि उत्पादनलाई प्रवर्द्धन गर्न आपसी समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्वास्थ्य सेवामा आत्मनिर्भरता हासिल गर्ने दीर्घकालीन लक्ष्य अनुरूप निःशुल्क वितरण गरिने औषधिहरू देशभित्रै उत्पादन गर्ने पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसले औषधिको सहज उपलब्धता सुनिश्चित गर्नुका साथै विदेशी निर्भरता घटाउने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार तथा उत्पादन क्षमता अभिवृद्धिका माध्यमबाट स्वदेशी औषधि उद्योगलाई थप मजबुत बनाउने योजना अघि बढाइनेछ।