काठमाडौं– बागलुङको ढोरपाटनमा आवश्यक सावधानी नअपनाउँदा पुनः दादुरा संक्रमण देखिएको छ।
ढोरपाटन नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा दादुरा फैलिएपछि सरकारले प्रभावित क्षेत्रका ५ हजार ६५६ जनालाई दादुरा–रुबेला विरुद्धको खोप दिएको थियो। राष्ट्रिय खोप सल्लाहकार समितिको निर्णयअनुसार प्रभावित क्षेत्रमा तत्काल खोप अभियान सञ्चालन गरिएको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए।
अभियानका क्रममा १० देखि २० वर्ष उमेर समूहका करिब ६ हजार किशोरकिशोरीलाई खोप दिइएको थियो। तर, खोप लगाउनुअघि नै संक्रमित भइसकेका केही व्यक्तिमा पुनः संक्रमण देखिएको डा. गौतमले जानकारी दिए।
'खोप लगाए पनि अभियान सञ्चालन हुनुअघि नै संक्रमित भइसकेकाहरूमा पुनः संक्रमण देखिने सम्भावना रहन्छ, सोहीअनुसार केही केसहरू देखिएका हुन्,' डा. गौतमले भने, 'अभियान सुरु हुनुअघि दैनिक २०–२५ जनामा संक्रमण देखिने गरेकोमा हाल त्यो घटेर दैनिक २–३ जनामा झरेको छ।'
संक्रमण फैलिन नदिन विद्यालयमा मास्क अनिवार्य गर्ने र मेला–महोत्सव सञ्चालनमा रोक लगाउने जस्ता सावधानी अपनाउन भनिए पनि सोको पालना नभएकाले संक्रमण पुनः देखिएको डा. गौतमको तर्क छ। सरकारले आगामी वैशाखमा बागलुङ जिल्लाभर नै विद्यालय केन्द्रित दादुरा खोप अभियान सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी दिए।
यसअघिको संक्रमण स्थिति
गत फागुनमा ढोरपाटनका तीन वटा वडामा ११३ जनामा दादुराको शंकास्पद लक्षण देखिएको थियो। तीमध्ये २१ जनाको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गर्दा ७ जनामा दादुरा पुष्टि भएको थियो।
सबैभन्दा धेरै संक्रमण वडा नम्बर ८ मा देखिएको थियो, जहाँ संक्रमितमध्ये करिब ८३ प्रतिशत दलित समुदायका व्यक्ति थिए। डा. गौतमका अनुसार विगतमा दादुरा देखिएका अधिकांशले खोप लगाएका थिएनन्। संक्रमण देखिएलगत्तै स्थानीय, प्रदेश र केन्द्रको स्वास्थ्य टोलीले सक्रिय खोजपड्ताल, जोखिम सञ्चार र स्वास्थ्य सचेतनाका कार्यहरू अघि बढाएका थिए।
दादुरा कस्तो रोग हो?
यो 'मिजल्स' भाइरसका कारण लाग्ने अति नै संक्रामक रोग हो। यो विशेषगरी बालबालिकामा बढी देखिने भए पनि जुनसुकै उमेरका व्यक्तिलाई लाग्न सक्छ।
मुख्य लक्षणहरू:
उच्च ज्वरो आउने।
शरीरमा राता बिमिरा वा खटिराहरू देखिने।
नाकबाट पानी बग्ने र खोकी लाग्ने।
आँखा रातो हुने।
कसरी जोगिने?
दादुराबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय खोप नै हो।
नियमित खोप: बालबालिका ९ महिना पुगेपछि पहिलो र १५ महिना पुगेपछि दोस्रो मात्रा दादुरा–रुबेला खोप अनिवार्य लगाउनुपर्छ।
सरसफाइ: बिरामीको संसर्गबाट टाढै रहने र साबुनपानीले नियमित हात धुने।
बिरामी व्यवस्थापन: शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र बिरामीलाई घरमै छुट्टै (आइसोलेसनमा) राखेर उपचार गर्ने।
समयमै खोप नलगाएमा यसले निमोनिया, मस्तिष्काघात वा ज्यानै जाने जस्ता गम्भीर जटिलता निम्त्याउन सक्छ।