धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य सेवालाई थप गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन १३ बुँदे सुधारका योजनाहरू सार्वजनिक गरेको छ।
मन्त्रिपरिषद्ले गत चैत १३ गते सार्वजनिक गरेको 'शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची' को कार्यान्वयनका सिलसिलामा प्रतिष्ठानले यी महत्त्वपूर्ण निर्णयहरू लिएको जनाएको छ। प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले स्वास्थ्य सेवा क्षेत्रमा बृहत् परिवर्तन ल्याउने गरी विभिन्न समितिहरू गठन र प्रविधिमैत्री व्यवस्थापनको खाका तयार पारेको छ।
बैठकमा रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला, अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद, डेपुटी अस्पताल निर्देशक डा. इन्द्र लिम्बू लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। प्रतिष्ठानले आफ्ना निर्णयहरूबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई समेत जानकारी गराइसकेको प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले बताएका छन्।
प्रतिष्ठानले अघि सारेका १३ बुँदे सुधारका योजनाहरू:
१. निःशुल्क शैय्याको लाइभ ड्यासबोर्ड: प्रतिष्ठानमा विगतदेखि नै सञ्चालनमा रहेको १० प्रतिशत निःशुल्क शैय्या सेवालाई थप पारदर्शी बनाउन सेवा लिइरहेका बिरामीहरूको विवरण 'Real-time Live Dashboard' मार्फत सार्वजनिक गरिनेछ।
२. बिरामी प्रेषण (Referral) प्रणाली: बिरामी प्रेषण र फलोअपलाई प्रभावकारी बनाउन “बिरामी प्रेषण राष्ट्रिय निर्देशिका–२०८१” का प्रोटोकलहरू अनिवार्य कार्यान्वयन गरिनेछ। यसका लागि आवश्यक सफ्टवेयर/सिस्टम विकास प्रक्रिया तत्काल अगाडि बढाइनेछ।
३. हाजिरी अनुगमन समिति गठन: बायोमेट्रिक हाजिरी प्रणालीलाई अझ प्रभावकारी बनाउन र कर्मचारीहरूको उपस्थिति सुनिश्चित गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा 'Attendance Monitoring Committee' गठन गरिएको छ।
४. सरसफाइ लेखापरीक्षण (Cleanliness Audit): अस्पतालको सरसफाइ र आधारभूत सेवा मापदण्डको सुपरिवेक्षणका लागि डा. अभिलाषा शर्माको संयोजकत्वमा 'Cleanliness Audit Committee' गठन गरिएको छ।
५. सेवा गुणस्तर अनुगमन: पेशागत व्यवहार र सेवाको गुणस्तर नियमित अनुगमन गर्ने जिम्मेवारी विद्यमान 'Planning, Monitoring and Evaluation Committee' लाई प्रदान गरिएको छ।
६. फार्मेसी ड्यासबोर्ड: अस्पताल फार्मेसीमा उपलब्ध औषधिको मौज्दात र मूल्यदर पारदर्शी बनाउन 'Live Pharmacy Dashboard' विकास गरी डिस्प्ले गरिनेछ। यो विवरण वेबसाइटमा पनि उपलब्ध हुनेछ।
७. निःशुल्क जलन (Burn) उपचार: जलनका बिरामीहरूको उपचारलाई पहुँचयोग्य बनाउन आधारभूत स्वास्थ्य सेवा र शैय्या शुल्क निःशुल्क गर्ने व्यवस्था लागू गरिनेछ। थप विशेषज्ञ जनशक्तिका लागि मन्त्रालयसँग माग गरिएको छ।
८. वार्ड सरसफाइको जिम्मेवारी: प्रत्येक वार्डको सरसफाइको जिम्मेवारी सम्बन्धित वार्ड इन्चार्ज सिस्टरलाई दिइएको छ भने समग्र अनुगमनको जिम्मेवारी हाउसकिपिङ्ग शाखा प्रमुखलाई तोकिएको छ।
९. “Serve with Smile” तालिम: बिरामीसँग गरिने व्यवहार सुधार गर्न स्वास्थ्यकर्मीहरूलाई 'Soft Skill' तालिम प्रदान गर्ने कार्यलाई अझ प्रभावकारी र नियमित बनाइनेछ।
१०. नेपाली भाषामा नेभिगेसन सिस्टम: सेवाग्राहीलाई सेवा स्थानहरू पत्ता लगाउन सहज होस् भन्नका लागि नेपाली भाषामा सङ्केतसहितको प्रभावकारी 'Navigation System' विकास गरिनेछ।
११. विशेष प्राथमिकता सेवा: हाल रहेको टोकन सिस्टमका साथै ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूलाई सेवा प्रवाहमा विशेष प्राथमिकता दिने व्यवस्था सुनिश्चित गरिनेछ।
१२. डिजिटल फिडब्याक सिस्टम: "Hello BPKIHS" अनलाइन पोर्टल र नयाँ QR Code सहितको डिजिटल फिडब्याक सिस्टममार्फत सेवाग्राहीले सजिलै प्रतिक्रिया दिन सक्नेछन्। उजुरी पेटिकाको सङ्ख्या समेत बढाइनेछ।
१३. राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य: बिग्रिएका औजार तथा उपकरणको मर्मतसम्भारलाई व्यवस्थित बनाउन राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरी काम अगाडि बढाइनेछ।