वि.सं. १९५७ सालको एक बिहान
निकै बिरामी भएँ म।
बेस्मरी खोकी लाग्यो, ज्वरो आयो।
खोक्दाखोक्दै टप्प टिपे यमराजले मलाई।
मेरो रोग पत्ता लागेन नि, “प्रभु”?
यमराजले पत्ता लागाउनै सकेनन्।
खोकीको कर्कश आवाज, बोलीको कचकच
सुनेर वाक्क भएका यमराजले
१२७ वर्षको खोकी सन्चो गर्न पठाएका छन् मलाई।
२०८४ सालमा वीर अस्पतालको प्राङ्गणमा नियाल्दै छु।
मेरो नाम चाहिँ रहेछ,
मधुरो खुसी लाग्यो।
मान्छेले इतिहास बिर्सेका रहेनछन्।
साल १९४७ सम्झिँदा त्यो जङ्गलका बीचमा
ढुङ्गा र माटोले खडा गरेको अस्पताल,
छिट्पुट बिरामी हुन्थे,
एकाध “वैद्य”, एकाध “नर्स”!
आज त निकै फरक छ।
कति विघ्न बिरामीको भीड, कति धेरै सवारीहरू,
कोलाहल सहरको बीचमा वीर अस्पताल।
ओहो! कति धेरै डाक्टर, कति धेरै नर्स।
औधी ठूलो पो भएछ त वीर अस्पताल!!
जम्मा १३७ वर्षमा प्रगति कति धेरै भएछ।
धेरै उन्नति भएछ, हर्ष भयो मलाई।
यमराजले मलाई “गुगल” सिकाएर पठाएका छन्।
अस्पतालको “गुगल” गर्न मन लाग्यो मलाई।
विश्वको आधुनिक नजरमा
कहाँनेर छ त वीर अस्पतालको शान?
कति बढेछ त मेरो मान?
विश्वको प्रथम सय श्रेणीमा भने नपर्ने रहेछ!
तर मलाई आशा छ, विश्वास छ—
शताब्दीभन्दा लामो मेरो विसन्चो,
मेरो लहरे खोकी र घ्यारघ्यार
पक्कै सन्चो हुन्छ, पक्कै निको हुन्छ।
उही
वीर शम्शेर।