नवलपरासी (ब.स.पु)- मध्यबिन्दु प्रादेशिक अस्पतालले आफ्नो अस्पताल फर्मुलारी (औषधि सूची) को पहिलो संस्करण सार्वजनिक गरेको छ। अस्पतालको सातौं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहबीच फर्मुलारी सार्वजनिक गरिएको हो।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा युवानिधी बसौला, विष्णु प्रसाद भुसाल र बालकृष्ण घिमिरे लगायतको उपस्थिति रहेको थियो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रमेश प्रसाद आचार्यले अस्पताल फर्मुलारी ‘अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२’ को उद्देश्यअनुसार तयार गरिएको जानकारी दिँदै ड्रग एण्ड थेराप्युटिक समितिलाई धन्यवाद व्यक्त गरे।
नयाँ फर्मुलारीमा अस्पताल फार्मेसीमा उपलब्ध औषधि तथा औषधिजन्य सामग्रीहरूको विस्तृत विवरण समेटिएको छ। यसमा औषधिको डोजेज फर्म, मात्रा (डोज), प्रयोग (इन्डिकेसन्स), निषेध (कन्ट्राइन्डिकेसन्स), गर्भावस्था तथा स्तनपानमा सुरक्षा, मिर्गौला र कलेजोसम्बन्धी समस्या भएका बिरामीमा प्रयोग, औषधि–खाना अन्तरक्रिया लगायतका जानकारी समावेश गरिएको छ।
अस्पतालका अनुसार करिब ४०० प्रकारका औषधिहरू समेटिएको उक्त फर्मुलारीले चिकित्सकलाई औषधि सिफारिस गर्न थप सहज बनाउने र औषधिको उचित प्रयोगमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
सो अवसरमा फर्मुलारी तयार पार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै ड्रग एण्ड थेराप्युटिक समितिका सदस्य सचिव तथा अस्पताल फार्मेसी प्रमुख सञ्जय आचार्य लाई कदरपत्र प्रदान गरिएको थियो।
गण्डकी प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेको मध्यबिन्दु प्रादेशिक अस्पताल १०० शय्याको स्वास्थ्य संस्था हो।