समान नहुनु नै असमानता हो र समान हुनु नै समानता हो। समानता के हो र असमानता के हो? यदि असमानता छ भने त्यो केको असमानता हो? यी र यस्ता असमानताका विविध आयामका बारेमा अमर्त्य सेनले प्रशस्तै अनुसन्धानपत्रहरू प्रकाशित गरेका छन्। कतिपय सन्दर्भमा जोन राल्सले पनि माथि उल्लेखित विषयहरूमा गहन विचार राखेका छन्। असमानता विभिन्न क्षेत्रमा पाइन्छ। यस लेखमा मैले नेपालको सन्दर्भमा मेडिकल साइन्सेजमा प्रस्टै देखिएका असमानताका बारेमा आफ्ना धारणाहरू प्रस्तुत गरेको छु।
मेडिकल साइन्सेज अथवा हेल्थ साइन्सेज अंग्रेजी शब्दावली हुन्। नेपालीमा यसलाई चिकित्सा शास्त्र अथवा स्वास्थ्य विज्ञान भनिन्छ। मेडिकल साइन्सेजले आफ्नो विधाको मूल आधार ‘विज्ञान’ हो भन्ने मान्यतालाई स्वीकार गरेको छ। यही मान्यतालाई आत्मसात् गर्दै नेपालका स्वास्थ्य विज्ञान अध्यापन गराउने प्रायः सबै प्रतिष्ठानहरूले आफ्नो नामको अन्त्यमा मेडिकल साइन्सेज अथवा हेल्थ साइन्सेज जोडेका छन्। स्वास्थ्यलाई विज्ञानबाट अलग गर्न सम्भव नभएर नै हुनुपर्छ, ‘स्वास्थ्य अभ्यास’ वा ‘मेडिकल प्राक्टिस’ जस्ता शब्दावली जोडेर शैक्षिक संस्थाको नामकरण गरिएको पाइँदैन। यस लेखमा मैले मेडिकल साइन्सेज र हेल्थ साइन्सेज दुवैलाई ‘हेल्थ साइन्सेज’ भनेर उल्लेख गरेको छु।
हेल्थ साइन्सेजका विधिहरू मुख्यतः निवारक र उपचारात्मक हुन्छन्, तर ती दुवैका आधारभूत विज्ञान र कला फरक-फरक हुन्छन्। उदाहरणका लागि, निवारक विधिले समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, गणित तथा तथ्यांकशास्त्र, वातावरण विज्ञान र स्वास्थ्य शिक्षालाई आधार मानेको हुन्छ भने उपचारात्मक विधिले औषधि विज्ञान, शल्यक्रिया आदिलाई प्रयोगमा ल्याउँछ। हेल्थ साइन्सेजको आफ्नै विज्ञान छ, जसलाई ‘प्रि-क्लिनिकल साइन्सेज’ (Pre-clinical) का नामले चिनिन्छ। यसअन्तर्गत मुख्यतः एनाटोमी, फिजियोलोजी, माइक्रोबायोलोजी, बायोकेमिस्ट्री, कम्युनिटी मेडिसिन र फार्माकोलोजी जस्ता विधाहरू अध्ययन गरिन्छ। ‘प्रि-क्लिनिकल साइन्सेज’ का विधाहरू मध्ये कम्युनिटी मेडिसिन समाजशास्त्र, मानवशास्त्र, तथ्यांकशास्त्र, स्वास्थ्य शिक्षा, वातावरण विज्ञान र जनसंख्या अध्ययनमा आधारित छ भने बाँकी विधाहरू प्राणीशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रको पृष्ठभूमिमा आधारित छन्। यस लेखको मुख्य उद्देश्य नेपालको सन्दर्भमा ‘प्रि-क्लिनिकल साइन्सेज’ का शिक्षकहरूबीच रहेको असमानताबारे चर्चा गर्नु हो।
‘प्रि-क्लिनिकल साइन्सेज’ का शिक्षकहरूको शैक्षिक पृष्ठभूमि फरक-फरक हुने गर्दछ। उदाहरणका लागि:
१. आधारभूत विज्ञान (भौतिक, रसायन वा प्राणीशास्त्र) मा स्नातक गरी प्रि-क्लिनिकल विधामा स्नातकोत्तर वा सोभन्दा माथिको अध्ययन गरेका।
२. प्रयोगशाला विज्ञान (ल्याब टेक्नोलोजी) मा स्नातक गरी एनाटोमी, फिजियोलोजी, माइक्रोबायोलोजी वा बायोकेमिस्ट्रीमा स्नातकोत्तर वा सोभन्दा माथिको अध्ययन गरेका।
३. एम.बी.बी.एस. (MBBS) पूरा गरी यी विधामा स्नातकोत्तर गरेका।
४. ह्युमन बायोलोजीमा स्नातक गरी यी विधामा विशेषज्ञता हासिल गरेका।
५. फार्मेसी अध्ययन पूरा गरी फार्माकोलोजीमा स्नातकोत्तर वा सोभन्दा माथिको अध्ययन गरेका।
६. कम्युनिटी मेडिसिनको हकमा एम.बी.बी.एस. पछि सोही विधामा स्नातकोत्तर गरेका, वा जनस्वास्थ्य (MPH) वा तथ्यांकशास्त्रमा उच्च शिक्षा हासिल गरेका व्यक्तिहरू।
समग्रमा, ‘प्रि-क्लिनिकल साइन्सेज’ का शिक्षकहरूको विषयगत पृष्ठभूमिमै विविधता र असमानता छ। यो भिन्नतालाई एकातिर विश्वविद्यालयहरूले स्वीकार गरेका छन् भने अर्कोतिर यही पृष्ठभूमिका आधारमा ठुलो विभेद पनि कायम छ।
केमा छ त असमानता?
प्रि-क्लिनिकल साइन्सेजमा देखिएको मुख्य असमानता शिक्षकको शैक्षिक पृष्ठभूमिका आधारमा हुने विभेद हो। जस्तै: वृत्ति विकास (Career Development) को अवसरमा असमानता, पदोन्नति (Promotion) मा विभेद, नेतृत्वदायी भूमिका पाउने अवसरमा बन्देज, स्नातकोत्तर तहका विद्यार्थीलाई सुपरिवेक्षण (Supervision) गर्न पाउने मौकामा भेदभाव, र मासिक तलबमानमा रहेको अन्तर आदि।
असमानताले निम्त्याएको जटिलता
फरक-फरक शैक्षिक पृष्ठभूमि भएका शिक्षकहरूबीचको यो विभेदले ध्रुवीकरण निम्त्याएको छ। यसको प्रमुख जटिलता भनेको शिक्षकहरूबीचको ‘शीतयुद्ध’ हो, जसले पठनपाठनमा प्रत्यक्ष-अप्रत्यक्ष नकारात्मक प्रभाव पारिरहेको छ। दोस्रो जटिलता भनेको ‘प्रि-क्लिनिकल विधाको संकुचन’ हो। जबसम्म एनाटोमीले मानवशास्त्र, मेकानिकल इन्जिनियरिङ र सर्जरीसँग सहकार्य गर्दैन, तबसम्म यसमा उल्लेखनीय अनुसन्धान सम्भव छैन। त्यसैगरी, फिजियोलोजीले भौतिकशास्त्र र इलेक्ट्रिकल इन्जिनियरिङसँग, र बायोकेमिस्ट्रीले रसायनशास्त्र, प्राणीशास्त्र र जेनेटिक्ससँग सहकार्य गर्न सकेमा राम्रो हुन्छ। कम्युनिटी मेडिसिनका अनुसन्धानहरू पूर्णतः तथ्यांकशास्त्रीय वा समाजशास्त्रीय विधिमा आधारित हुन्छन्, तर नेपालका धेरै विभागहरूमा यी विषयका विशेषज्ञ प्राध्यापकहरू नै हुँदैनन्।
नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने क्लिनिकल साइन्स ‘अङ्ग प्रत्यारोपण’ गर्ने स्तरसम्म पुगेको छ, तर प्रि-क्लिनिकल साइन्सेज भने फस्टाउनुको सट्टा खुम्चिँदै गएको छ। प्रि-क्लिनिकल साइन्सेजमा देखिएको शिक्षकको शैक्षिक पृष्ठभूमिका आधारमा हुने विभेदको कारणले गर्दा नै प्रि-क्लिनिकल साइन्सेजको प्राज्ञिक वातावरणमा संकुचन आएको हो। यसको सिधा असर स्वास्थ्य अनुसन्धान र नीति निर्माणमा परिरहेको छ।
भौतिकशास्त्र तथा अन्तरिक्ष विज्ञानको उच्चतम प्रगतिमा गणित र तथ्यांकशास्त्रको महत्त्वपूर्ण भूमिका रहेको छ। त्यसैगरी, अर्थशास्त्रको विकासमा पनि गणित र तथ्यांकशास्त्रकै ठुलो योगदान छ। वर्तमान समयमा व्यावहारिक गणित तथा तथ्यांकशास्त्रको उन्नतिका लागि कम्प्युटर विज्ञान आधारस्तम्भ बनेको छ। यसबाट के प्रस्ट हुन्छ भने सहअस्तित्वलाई आत्मसात् गर्दै गरिने अन्तरविषयक सहकार्यबिना कुनै पनि प्राज्ञिक अनुसन्धान सम्भव छैन।
निष्कर्षमा, ‘प्रि-क्लिनिकल साइन्सेज’ मा जस्तै समग्र स्वास्थ्य क्षेत्रभित्र पनि असमानता व्यापक छ। यसैका कारण समग्र स्वास्थ्य प्रणाली अपेक्षित रूपमा विकास हुन सकेको छैन र यसको महँगो मूल्य राष्ट्रले चुकाउनु परिरहेको छ। त्यसैगरी, यस्तो असमानताले मानवअधिकारको उल्लङ्घन समेत गरेको छ। तसर्थ, समतामूलक समाज निर्माणको वकालत गर्ने विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले आफैँले अँगालेका यस्ता सबै प्रकारका विभेद र असमानताहरू हटाउनु जरुरी छ।