काठमाडौं- सरकारले कारबाहीको सिफारिसमा परेका र विवादै विवादमा मुछिएका डा पुकारचन्द्र श्रेष्ठलाई शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा पुकारलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। मन्त्रिपरिषदले उनलाई चार वर्षका लागि नियुक्ति दिएको हो।
यसअघि दुई कार्यकाल केन्द्रको निर्देशक हुँदा केन्द्रमा अनियमितता गरेको प्रमाणित हुँदा पनि सरकारले कारबाही गर्न सकेको थिएन। यस्तै केन्द्रमा रहँदा उनले कर्मचारीहरुलाई शोषण गरेको आरोप समेत लागेको थियो।
दुई कार्यकाल नै विवाद र अनियमिततामा मुछिएका डा पुकारलाई सरकारले कारबाही नगरी निर्देशक बनाएपछि केन्द्रका कर्मचारी समेत सरकारसँग रुष्ट भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, न्यायाधिश र अन्य नेताहरुको दबाबमा श्रेष्ठलाई निर्देशक नियुक्त गरेका हुन्।
केन्द्रको दुई कार्यकाल निर्देशक हुँदा संस्थागत हितभन्दा पनि आफ्नो निजी अस्पताल निदानमा बिरामीलाई प्रयोगशाला परीक्षणमा पठाउने काम गर्दै आएका डा श्रेष्ठ पनि पुन: निर्देशक बन्नका लागि लामोसमयदेखि मन्त्री तथा नेताको दैलो चहार्दै हिँडेका थिए।
प्रत्यारोपण केन्द्रको निर्देशक हुँदा डा पुकारले गायिका आनी छोइङ डोल्माका नाममा समेत निजी अस्पताल निदानमा व्यापार गर्दै आएका थिए। आफ्नो नामको दुरुपयोग भएको चाल पाएपछि आनी र डा पुकारबीच विवाद उत्पन्न समेत भएको थियो।
मन्त्रालयले नै गरेको थियो कारबाही सिफारिस
प्रत्यारोपण केन्द्रका निर्देशकका रुपमा डा पुकारले गलत काम गरेको निष्कर्ष निकाल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै उनलाई कारबाही सिफारिस गरेको थियो। स्वास्थ्य मन्त्रालयका तत्कालिन चिकित्सा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा गठित समितिले डा पुकारलाई कारबाही सिफारिस गरेको थियो।
तत्कालिन समयमा स्वास्थ्य सचिव पुष्पा चौधरीलाई डा पुकारले माथिल्लो तहबाट दबाब र प्रभावमा पारेर उक्त कारबाहीको फाइल नै लुकाउन सफल भएका थिए।
डा भोलाराम श्रेष्ठको समितिले डा पुकारले कर्मचारीहरु माथि अन्याय गरेको, कर्मचारी नियुक्ति प्रक्रिया नियम अनुसार नगरेको, अस्पतालमा नर्सहरुले गरिरहेको आन्दोलन र कर्मचारीको समस्या समाधान गर्न नसकेको लगायतका समस्या देखाउँदै कारबाहीको सिफारिस गरेको थियो।
डा पुकारले अस्पतालमा नर्सहरुलाई धम्की दिने गरेको भन्दै अस्पतालमा नर्सहरुले लामो समयसम्म आन्दोलन गरेका थिए। यहाँसम्मकी अस्पतालभित्रै नर्सहरुले आमरण अनसन समेत बसेका थिए। नर्सहरुले डा पुकारले अन्याय गरेको भन्दै मन्त्रालयमा समेत उजुरी दिएपछि छानबिन समिति बनेको थियो।
केन्द्रबाट बिरामीलाई ल्याब परीक्षणका लागि निजीमा पठाउँदै, केमिकल खेर फाल्ने
डा पुकारको कार्यकालमा केन्द्रमा कमिसनका लागि प्रयोगशालाका केमिकल लगायतका अन्य आवश्यक सामग्री खरिद हुन्थ्यो। तर ती केमिकल र सामग्री खेर फाल्ने देखि निदानमा समेत लैजाने गरेको पाइएको थियो।
केन्द्रले खरिद गरिएका रिएजेन्टमध्ये ४० प्रतिशतभन्दा बढी रिएजेन्ट तथा केमिकल खेर फाल्ने गरेको तथ्य महालेखापरीक्षकको प्रतिवेदनले नै देखाएको छ। महालेखाले अस्पताललाई आन्तरिक नियन्त्रण प्राणाली सबल बनाई अधिकतम उपलब्धि प्राप्त गर्न सुझाब समेत दिएको थियो।
मानव अंग प्रत्यारोपण केन्द्रले अस्पतालमा प्रयोगशाला परीक्षणको उचित व्यवस्थापन नगरी बिरामीलाई पुल्चोकस्थित निदान अस्पताल र आरोग्यम फाउन्डेसनमा पठाउने गरेको थियो। मिर्गौला फेल भएका बिरामीलाई अस्पतालले भक्तपुरदेखि पुल्चोकलको निजी अस्पतालसम्म पठाएर दुःख दिइरहेको भन्दै बिरामीका आफन्तले गुनासो समेत गरेका थिए।
अस्पतालकै केही कर्मचारीले त यो विषयमा अस्पताल निर्देशक डा पुकारलाई पटक पटक गुनासो गरेका थिए। उनीहरुले मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने सबै परीक्षण केन्द्रमा नै गराउने व्यवस्था गर्न समेत माग गरेका थिए। तर डा पुकारले केन्द्रको विस्तारका विषयमा भन्दा पनि निदानका बारेमा बढी चासो दिने गरेको भन्दै कर्मचारी उनीप्रति रुष्ट भएका थिए।
नर्सलाई ‘डाक्टर बनाएर’ निदानमा ओपिडी र ल्याब जाँच गर्न पठाउने खेल
डा पुकारकै योजनामा तत्कालिन समयमा नर्सलाई ‘डाक्टर बनाएर’ निदानमा ओपिडी र ल्याब जाँच गर्न पठाइन्थ्यो।
डा पुकारले केन्द्रमा कार्यरत नर्स सनिशा श्रेष्ठलाई तत्कालिन समयमा डाक्टर लेख्न लगाएर निदानमा बिरामीलाई रेफर गराएका थिए।
केन्द्रमै मिर्गौला प्रत्यारोपण गराएका एक बिरामीको ल्याब रिपोर्टमा ‘डाक्टर’ सनिशा कार्कीको ओपिडीबाट बिरामीलाई निदानमा ल्याब जाँच गराउन लगाइएको समाचार त्यतिबेला स्वास्थ्यखबरले प्रकाशित गरेको थियो। कार्की डाक्टर नभएर केन्द्रमा मिर्गौला प्रत्यारोपण कोअर्डिनेटरका रुपमा कार्यरत नर्स थिइन्।
त्यतिबेला कार्कीलाई स्वास्थ्यखबरले डाक्टर भए/नभएको यकिन गर्न फोन गर्दा उनले आफू नर्स भएको बताउँदै ‘म मानव अंग प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण कोअर्डिनेटरका रुपमा काम गर्छु’ भनेकी थिइन्।
उनलाई मात्र होइन डा पुकारकै योजनामा अर्की नर्स सुजाता कार्कीलाई पनि डाक्टर लेख्न लगाइएको थियो।
हेरौं पत्र
उनीहरुले रिफर गरे अनुसार निदानको ल्याबले बिरामीको सेरम क्रिटियानन, सेरम सोडियम, सेरम पोटासियम, एचआइभी, एचबिएसएजी, एन्टिएचसिभी, सिएमभी आइजिएम र स्टुल एनालाइसिस लगायतका जाँच गर्थ्यो।
उपकरण खरिदमा करोडौं अनियमितता
डा पुकार निर्देशकका रुपमा कार्यरत रहेको समयमा उपकरण खरिदमा समेत करोडौं अनियमितता भएको प्रतिवेदन समेत सार्वजनिक भएको थियो। महालेखा परीक्षकको प्रतिवेदनले केन्द्रमा विभिन्न १६ प्रकारका उपकरण तथा मेसिनहरुको खरिदमा १३ करोड ६६ लाख २४ हजार रुपैयाँ अनियमितता भएको देखाएको थियो।
मिर्गौला प्रत्यारोपण गरिरहेको र कलेजो प्रत्यारोपण समेत सुरु गरेको केन्द्रमा प्रत्यारोपणका उपकरण, शल्यकक्षका उपकरण र मिर्गौला रोगीको रगत शुद्धिकरणका लागि प्रयोग हुने हेमोडायलाइसिस मेसिन लगायतका १६ थरीका उपकरण खरिदमा अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले जनाएको थियो।
महालेखाको प्रतिवेदनमा सार्वजनिक खरिद नियमावली विपरित केन्द्रले आफू अनुकुल मेडिकल उपकरण तथा मेसिनरी सामग्री खरिद गरेको उल्लेख छ। केन्द्रले प्राविधिक समितिले तोकेको स्पेसिफिकेशन नमिलेका र प्राविधिक जाँचका क्रममा खरिद गर्न नमिल्ने भनिएका उपकरणहरु समेत खरिद गरेको उल्लेख गरेको थियो।
केन्द्रले एक करोड ६ लाख ७१ हजार रुपैयाँमा हेमो डायलाइसिस मेसिन, डायलाइसिसमा नै चाहिने आर.ओ प्लान्ट, डायलाइजर लगायतका चार वटा मेसिनरी सामग्री प्राविधिक जाँचमा स्पेसिफिकेशन नमिल्दा पनि खरिद गरेको कुरा महालेखाको तत्कालिन प्रतिवेदनमा उल्लेख छ।
लागत अनुमान बेगर ७ करोडको खरिद
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११ मा सार्वजनिक निकायले ताकिएबमोजिम मालसामानको लागत आनुमान तयार गर्नुपर्छ। तर डा पुकारले नियमावलीको प्रावधान विपरीत ७ करोड २६ लाख २४ हजार रुपैयाँमा विभिन्न उपकरण तथा सामग्री खरिद गरेको भेटिएको थियो।
सम्झौता विपरीत भुक्तानी
केन्द्रले अत्याधुनिक मोडुलर शल्यकक्ष निर्माण गर्ने क्रममा निर्माणमा संलग्नलाई सम्झौता विपरित रकम भुक्तानी गरेको छ। केन्द्रले मूल्य अभिबृद्धी कर बाहेक एक करोड ९४ लाख ६९ हजार रुपैयाँमा मोडुलर ओटी निर्माण गरेको थियो। त्यसक्रममा केन्द्रले सम्झौता विपरित निर्माणमा संलग्नहरुलाई रकम भुक्तानी गरेको विषयमा पनि त्यसबेलाको महालेखा प्रतिवेदनमा उल्लेख छ।
लागत अनुमान भन्दा बढीको बोलपत्र स्वीकृत
सार्वजनिक खरिद ऐन अनुसार कुनै पनि बोलपत्रमा खरिद गर्न तयार गरिएको लागत अनुमान भन्दा बढी रकमको बोलपत्र परेमा त्यस्तो बोलपत्र अस्वीकृत हुन्छ। तर, डा पुकारले ऐन विपरित बोलपत्रको कबोल अंक लागत अनुमान भन्दा दुई लाख १५ हजार बढीको बोलपत्र स्विकृत गरी ६४ लाख ३३ हजार रुपैयाँमा ल्याबका सामग्रीहरु खरिद गरेको पाइएको थियो।
औषधि तथा सर्जिकल सामान सोझै खरिद
डा पुकारले कमिसनको लोभमा आफू निकटका व्यक्तिसँग नियमविपरित ६८ लाख ९ हजार रुपैयाँ बराबरको औषधि तथा सर्जिकल सामान सोझै खरिद गरेको समेत पाइएको थियो। केन्द्रले दरभाउपत्र नलिई कमिसनका लागि २८ पटकमा गरि आफू निकाटकासँग उक्त रकमको औषधि तथा सर्जिकल सामान किनेको महालेखाको प्रतिवेदनले देखाएको हो।
‘केन्द्रले आपूर्तिकर्ताहरुबाट लिखित रुपमा दरभाउपत्र माग नगरी विभिन्न २८ पटकमा रु ६८ लाख ९ हजार बराबरका औषधि तथा सर्जिकल सामान सोझै खरीद गरेको देखियो’ प्रतिवेदनमा उल्लेख छ, ‘यसरी दरभाउपत्र नलिई खरिद गरेको कार्य नियमसम्मत् देखिएन ।’
यसैगरी, केन्द्रले अपरेसन टेवल, फिस्टुला निडिल, एनेस्थेसिया मेशिन लगायतका कुल १६ प्रकारका मेडिकल उपकरण तथा मेसिनरी सामग्री नियम विपरित खरिद गरेको विषय महालेखाको प्रतिवेदनमा उल्लेख छ।
यस्ता थिए तत्कालिन निर्देशक डा पुकारले गरेका १० गल्ती
महालेखाले केन्द्रका प्रमुख डा पुकार चन्द्र श्रेष्ठले नियमअनुसार काम नगरेका विवरणहरुको सूची समेत तयार पारेको थियो। जसमध्ये प्रमुख १० गल्ती यसप्रकार छन्ः
१. नियम विपरित उपकरण खरिद
२. बिल भरपाई प्रमाणित नगरेको
३. औषधि खरिदको ठेक्का व्यवस्थापन नगरेको
४. वार्षिक कारोबारको संक्षिप्त प्रतिवेदन तयार नगरेको
५. कर्मचारीको तलबी प्रतिवेदन पारित नगरेको
६. खरिद योनजा नबनाएको
७. मेशिनरी सामानको मर्मत अभिलेख नराखेको
८. तुलनात्मक आय–व्यय विवरण नबनाएको
९. प्रतिस्पर्धा बेगर करारमा कर्मचारी नियुक्ति गरेको
१०. खरिद व्यवस्थापन नगरेको