नेपाल चिकित्सक संघको आधिकारीक पब्लिकेशन जर्नल अफ नेपाल मेडिकल एसोसिएसन सन् १९६३ सालको सेप्टेम्बर महिनामा डा. मृगेन्द्रराज पाण्डे प्रमुख सम्पादक भई प्रथम पटक नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका सम्बन्धमा भए गरेका वैज्ञानिक गतिविधिहरुको दस्तावेजको रुपमा निरन्तर प्रकाशन कार्य चलिरहेको छ।
पहिलो सम्पादक डा. मृगेन्द्रराज पाण्डे देखि वर्तमान सम्पादक डा. एन्जल मगर सहित २८ औं कार्यकालमा आइपुग्दा जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको जन्म महिनाको अवसर पारेर नेपाल चिकित्सक संघले प्यान्डामिक प्रिपेयर्डनेस इन नेपाल नामक सन्देश सहित प्रथम नेपाल चिकित्सक संघ राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन २०७८ को आयोजना २०७८ आश्विन ९ गते गर्दैछ। कोभिड १९ को महामारीको समयलाई मध्यनजर गर्दै यस पटक एपिवान टेलिभिजनको स्टुडियोबाट प्रत्यक्ष प्रशारण गर्ने गरी सम्मेलनको तयारी गरिएकोछ।
विश्वले नै कठोरतापूर्वक सामना गर्नु परेको कोभिड १९ को महामारीबाट नेपाल समेत अछुतो रहन सकेन। विकसित देशहरुलाई नै तहसनहस पारेको हालको महामारीले विकासशिल राष्ट्रहरुलाई ज्यादै ठूलो संकटमा धकेलिदिएको छ। हामीसँग भएको सिमित स्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोग गर्दै कैयौं नागरिकहरुको जीवन रक्षाका निम्ती समर्पित भईरहेको अवस्थामा समेत प्रथमलाइनमा रही सेवामा समर्पित कैयौं सिर्जनशिल योद्धाहरुलाई गुमाउनु परेको तीतो यथार्थबाट हामी टाढा हुन सकिरहेका छैनौं।
यस्तै महत्वपूर्ण बिषय वस्तुको सेरोफेरोलाई सुक्ष्म रुपमा केलाउने अभिप्रायले संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह के.सी. आयोजक समितिको अध्यक्ष एवं संघका पूर्व अध्यक्ष एवं सम्मेलन आयोजक समितिका सह अध्यक्ष डा. अन्जनी कुमार झा, जर्नल अफ नेपाल मेडिकल एसोसिएसनका पूर्व प्रधान सम्पादक डा. कुसुम थापाज्यूको संयोजकत्वमा गठित शिखर सम्मेलन वैज्ञानिक समितिले नेपालको परिवेश अनुसार मुख्य ५ वटा बिषयवस्तुलाई मुख्य केन्द्र विन्दु बनाई वैज्ञानिक मन्थन गर्ने जमर्को गरेको छ।
पहिलो छलफलको बिषय
संघीयताको सन्दर्भमा महामारीको तयारी र व्यवस्थापनः संघीय शासन प्रणालीको शुरुवातसँगै नेपालले कोभिड १९ को महामारीलाई सामना गर्नु प¥यो। नेपालको स्वास्थ्य प्रणालीलाई संघीय संरचना अनुसार विकेन्द्रीकरण गर्ने प्रारम्भीक चरण मै यस्तो प्रकारको महामारीको सामनाका निम्ती प्रथम लाईनमा रहि स्वास्थ्य सेवा प्रवाहमा समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सुरक्षाका सामग्रीहरुको पूर्ण तयारी गर्न नपाउँदै संघर्षको मैदानमा होमिन बाध्य भए। विकसित देशहरुमा समेत खट्किएका सुरक्षाका सामग्रीहरु, उपचारको क्रममा प्रयोग हुने औषधीहरु नेपाली बजारमा पाउने त कुरै थिएन। तर पनि नेपालको माटो सुहाउँदो मास्क, सेनिटाईजर, फेस सिल्ड, पिपिई, गाउन, जस्ता सामग्रीहरुको उत्पादनका लागि सारा नेपालीहरु एकजुट भई निर्माण गर्ने अभियानमा सरिक भए। विश्वले प्रयोग गर्दै आएका औषधीहरुको प्रयोग, खोज तथा अनुसन्धानबाट प्रमाणिकरण भई सकेका औषधीहरुको उपलब्धता तथा स्वदेशमै उत्पादन गर्ने जमर्कोबाटअन्य देशको तुलनामा नेपाललाई न्यून क्षति भएको राष्ट्रमा राख्न सफल भएको छ।
सहयोगी मन भएका करोडौं नागरिकहरु स्वतः स्र्फूत रुपमा मैदानमा उत्रिएर यस महामारीसँग जुध्नका लागि अनेकौं प्रयासहरु गरि नै रहे। सबैले आ आफ्नो तबरबाट अथक प्रयास र हौसलाकाकारण नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेपाली नागरिकहरुको जीवन रक्षाका निम्ती अतुलनिय योगदान पु¥याउन सफल भएको तथ्य अत्यन्तै प्रसंसनिय छ। यसै सेरोफेरोमा स्थानीय, प्रदेश र संघीय प्रणालीको अभ्यासमा रहँदै गर्दा महामारीको सामना गर्नका लागि कस्तो तयारी भयो। भावी दिनमा कसरी यसलाई सहज रुपमा सम्बोधन गर्न सकिन्छ? व्यावहारिक रुपमा सामना गर्नु परेका तीतामिठा अनुभवहरुले समग्र राष्ट्रको स्वास्थ्य क्षेत्रलाईकसरी सम्बोधन गर्नु पर्ने रहेछ भन्ने बिषयवस्तुमाथी प्रमाणका आधारमा बैज्ञानिक छलफल गरी ठोस निष्कर्ष निकाल्ने प्रयोजनार्थ यो शिर्षकको तर्जुमा गरिएको पाईन्छ। की नोट स्पीकरको रुपमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि, डा. राजेश सम्भाजीराओ पान्डभ, प्यानालिष्टहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव डा. रोशन पोखरेल, सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक, डा. गणराज अवस्थी, एच.आई.भी.एड्स तथा सरुवा रोग केन्द्रका निर्देशक, डा. सुधा देवकोटा, पाँचखाल नगरपालिकाका मेयरश्री महेश खरेल, एवं संघीय संसदका सदस्य एवं पूर्व स्वास्थ्य मन्त्रीश्री गगन थापाज्यूको अध्यक्षतामा संचालन हुने छलफल कार्यक्रमलाई जनस्वास्थ्यका विशेषज्ञ डा. सुशिल बरालज्यूले संयोजनको भूमिका निर्वाह गर्ने तयारी गरिएको छ।
दोस्रो छलफलको बिषय
महामारीको समयमा मानवस्रोतसाधन र सेवा प्रवाहः स्वास्थ्य क्षेत्रमा विश्वले गरेको प्रगतिलाई नै मुख्य चुनौती दिर्दै विश्वले सामना गर्नु परेको कोभिड १९ को महामारीमा प्रथम लाईनमा रही सेवा प्रवाहमा समर्पित हुने मुख्य व्यक्तिहरु नै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु हुन्। नेपालको सरकारी तथ्यांक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विद्यमान दरबन्दीलाई केलाउने हो भने १ करोड जनसंख्यालाई आधार बनाएर निर्माण गरीएको दरबन्दीलाई समय सापेक्ष परिमार्जन गरिएको पाइदैन। नेपालको स्वास्थ्य क्षेत्रमा करिब ७० प्रतिशत स्वास्थ्य सेवा प्रवाहमा निजी स्वास्थ्य क्षेत्रको संलग्नता रहेको पाइन्छ। यद्यपी, राज्यको तर्फबाट निजी स्वास्थ्य क्षेत्रलाई हेर्ने दृष्टीकोण र सरकारी स्वास्थ्य क्षेत्रकोअवस्थालाई तुलना गर्नु यस सन्दर्भमा असान्दर्भिक नै होला। तर पनि समग्र विश्वले सामना गर्नु परेको महामारीले न त सरकारी न त निजी नै भनी विभेद ग¥र्यो। यो त मानव जीवनकै महत्वपूर्ण चुनौतीको रुपमा अगाडी आई सारा विश्वलाई नै तहसनहस पार्ने काममा अहिले सम्म पनि लागि नै रहेको छ।
यस्तो बिषमपूर्ण परिस्थितिमा नेपालको स्वास्थ्य क्षेत्रको जनशक्तिले निर्वाह गरेको भूमिका र यो महामारीसँग सामना गर्नका लागि सरकारी तथा निजी क्षेत्रको संयुक्त प्रयासले बिभेदीकरणलाई चुनौती नै दिएको छ। प्राकृतिक विपत्ति वा यस्तो महामारीका समयमा कुनै विभेदीकरणको आवश्यकता पर्ने रहेनछ भन्ने गतिलो पाठ निती निर्माण तहमा रहेकाहरुलाई सिकाएको छ। सामूहिक प्रयास, एकता र सहकार्यबाट नै उत्पन्न समस्याको समाधान गर्न सकिन्छ भन्ने शिक्षाले राम्रोसँग काम गरेको अनुभूति जोकोहीले गर्न सक्दछन्।
स्वास्थ्य क्षेत्रको मानव संशाधन कति निपुर्ण हुनु पर्दो रहेछ? स्वास्थ्य क्षेत्रको संवेदनशिलता, दक्षता र योग्यतालाई कसरी सहि सदुपयोग गर्नु पर्ने रहेछ भन्ने गतिलो शिक्षा दिएको यस महामारीमा जनशक्तिको उचित व्यवस्थापन, तालिम, पुनरताजगी लगायतका कार्यक्रमहरुबाट प्राविधिक जनशक्तिहरुको क्षमता अभिवृद्धि वास्तवमा जुनसुकै राष्ट्रको गहनाको रुपमा रहनु पर्ने रहेछ। त्यस्तो जनशक्तिलाई दक्ष बनाउनु, उनीहरुको मनोबल उच्च पार्नु तथा उनीहरुलाई आवश्यक पर्ने औजार तथा सामग्रीहरुको प्रर्याप्तताले नै सेवा प्रवाहको मापनलाई केलाउन सक्दो रहेछ। त्यसैले यस्तो महत्वपूर्ण र संवेदनशिल क्षेत्रमा काम गर्ने जनशक्ति र सेवा प्रवाहलाई राज्यले कसरी नियाल्नु पर्ने रहेछ भन्ने सन्दर्भमाथी बैज्ञानिक छलफल गर्न खोजिएको छ जुन अत्यन्तै महत्वपूर्ण र भावी रणनीति तर्जुमा गर्नका लागि सहयोगी साविद हुने नै छ। उक्त शेसनका लागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान कोइरालाज्यूको अध्यक्षतामा आइओएमका पूर्व डिन प्रा. डा. रमेशकान्त अधिकारी, काठमाडौं मेडिकल कलेजका पूर्व प्रमुख कार्यकारी अधिकृतएवं प्राचार्य प्रा.डा. चन्दा कार्की, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. कृष्ण प्रसाद पौडेल, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मानसिक विभागका प्रमुख प्रा. डा. धनरत्न शाक्य र भेरी अस्पताल एनेस्थेसियोलोजी विभागका विशेषज्ञ डा. पारस पाण्डेबीच समन्वयात्मक भूमिका निर्वाह गरी बैज्ञानिक छलफल गराउनका लागि स्वास्थ्य अधिकारकर्मी एवं जनस्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेतिज्यूलाई छनौट गरिएको छ।
तेस्रो छलफलको बिषय
कोभिड १९ विरुद्धको खोपका लागि नेपाल सरकारको रणनीतिः यो महामारीका सामना गर्नका लागि बैज्ञानिकहरुले पत्ता लगाएका विभिन्न खोपहरुलाई नेपालमा कसरी भित्र्याउने भन्ने सम्बन्धमा नेपाल सरकारले अवलम्बन गरका रणनीतिहरु र हालसम्म नेपाली नागरिकहरुका लागि उपलब्ध गराइएको खोपका सम्बन्धमा विस्तृत छलफल गर्ने प्रयोजनार्थ यो बिषयवस्तुको छनौट गरिएको छ। सम्पूर्ण नेपाली नागरिकहरु कोभिड-१९ को खोपबाट कहिले लाभान्वित हुन्छन्? नेपाल सरकारले सबै नागरिकहरुका लागि खोप कसरी उपलब्ध गराउन सक्दछ? विश्व बजारमा उपलब्ध खोपलाई नेपालमा भित्र्याउनका लागि कस्तो रणनीति तर्जुमा गरिएको छ भन्ने सम्बन्धमा छलफल गर्नका लागि बालस्वास्थ्य तथा खोप व्यवस्थापन महाशाखाका प्रमुख, सागर दाहाल, बरिष्ठ जनस्वास्थ्य प्रमुख प्रा. डा. रिता थापा, स्वास्थ्य सेवा विभागका पूर्व निर्देशक डा. श्यामराज उप्रेति, नर्भिक अस्पताल एवं एफिनका अध्यक्ष बसन्त चौधरी, जनस्वास्थ्य विशेषज्ञ डा. इन्दिरा बस्नेत, बाल अधिकारकर्मी बबिता परियार बीच समन्वयात्मक भूमिका निर्वाह गर्ने जनस्वास्थ्य विशेषज्ञ प्रा.डा. सरतराज वन्तज्यूको सहजीकरणमा कार्यक्रम संचालन गर्ने योजना रहेको छ।
चौथो छलफलको बिषय
कोभिड-१९ को रोकथामका लागि बहुआयामिक क्षेत्रको तयारी, अनुभव, अवसर र चुनौतीहरुः सारा विश्वलाई नै ठाडो चुनौती दिई रहेको कोभिड १९ को महामारीले स्वास्थ्य क्षेत्रलाई मात्र तहसनहस पारेन की अन्य क्षेत्रलाई समेत धरासायी बनाएको छ। प्राकृतिक प्रकोप तथा महामारीहरूले प्राकृतिक र भौतिक स्रोतहरू नष्ट गर्दछन्। भित्रभित्र प्रकोपका विशेष असरहरू हुन्छन् तापनि स्रोतहरू र विपत्र समुदायमा सबै प्रकोपहरूको अन्तिम परिणाम एउटै हुन्छ – जीउधन र जीविकोपार्जनको क्षय।खासगरि किसानहरू, ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने व्यक्ति तथा समुदायहरू प्रकोपका कारण सम्पत्ति तथा रोजगारीका अवसरहरू दुबै गुमाएर अझ बढी प्रभावित हुने गर्दछन्।स्वास्थ्य उपचारको पहुँचमा पुग्न सक्दैनन्। अकालमा ज्यान गुमाउनेहरुमा उनीहरु नै प्रथम लाइनमा खडा भएका हुन्छन्। सुरक्षाका उपायहरु अवलम्बन गर्नका लागि उनीहरुलाई ठूलै समस्या परेको हुन्छ। जेनतेन बिहान काम गरेर बेलुका छाक टार्ने समुदायका लागि यो कोभिड-१९ को महामारी त झन् काल नै बनेरआएको रहेछ। कैयौं नागरिकहरुको घर नै रित्तो भएको छ। सामाजिक रुपमा समेत बहिष्कृत हुने गरी आएको महामारीलाई निम्न आय भएका, कमजोर स्वास्थ्य भएका नागरिकहरुका लागि मृत्युसँग लड्न सक्ने क्षमता नै हुँदो रहेनछ। यस्तो बिषमपूर्ण परिस्थितिमा स्वास्थ्य भन्दा बाहिरका क्षेत्रहरुले कस्तो भूमिका निर्वाह गरे यो महामारीका समयमा। स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि अन्य क्षेत्रबाट कस्तो सहयोग भयो? के यस्तो महामारी तथा प्राकृतिक विपत्तिलाई सामना गर्नका लागि बहुआयामिक क्षेत्रहरुको भूमिका अपरिहार्य थियो? भन्ने सम्बन्धमा गहन छलफल गर्नका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव याम कुमारी खतिवडा, संयुक्त राष्ट्रसंघका आवासिय संयोजक स्टीने हेजरवर्ग, औषधी व्यावसायी सघका अध्यक्ष प्रज्जवल जंग पाण्डे र प्राइभेट मेडिकल एण्ड डेण्टल कलेजका अध्यक्ष बसुरिद्धिन अन्सारीबीच छलफल गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखाका यशोदा अर्यालले संयोजनको भूमिका निर्वाह गर्नु हुनेछ भने यस सेशनको अध्यक्षता विश्व स्वास्थ्य संगठन जेनेभा का निर्देशक डा. शम्भु आचार्यले गर्ने कार्यक्रम रहेको छ।
पाँचौ छलफलको बिषय
महामारीको तयारीमा खोज तथा अनुसन्धान र आविष्कारको अवसरः कुनै पनि चुनौतीको सामना गर्नका लागि गहन अध्ययन र अनुसन्धानको आवश्यकता पर्दछ। समस्यास्वयं समाधानको बाटोतर्फ अग्रसर रहन्छ। विश्वमा वैज्ञानिक खोज तथा अनुसन्धानबाट नयाँ–नयाँ प्रविधिका आविष्कार भइरहेका छन्। कुनै पनि राष्ट्र विकसित वा अविकसित हुनुमा त्यस देशको विज्ञान तथा प्रविधिका क्षेत्रमा भइरहेका गतिविधिले महत्वपूर्ण भूमिका खेल्दछ। विज्ञान तथा प्रविधिको अभूतपूर्व विकासले संसार सानो एकाइमा रूपान्तरण भएको हामीले महसुस गरिरहेकै छौँ। अहिले जति पनि विकसित मुलुक सफल भएका छन्, त्यो सफलताको मुख्य कारण भनेको विज्ञान तथा प्रविधिको विकास नै हो। जबसम्म देशभित्रै विज्ञान तथा प्रविधिको विकासका लागि बलियो आधार बन्दैन, तबसम्म सयौँ वर्षसम्म पनि मुलुकमा विज्ञान तथा प्रविधिको विकास सम्भव हुँदैन। अझ अहिलेको कोभिड-१९ को महामारी सामना गर्नका लागि जुनसुकै राष्ट्र पनि स्वयं सबल र सक्षम हुनु पर्ने रहेछ भन्ने कुरालाईआधारभूत रुपमा राख्नु पर्ने गरी सिकाएको छ। त्यसैले नेपालमा कोभिड-१९ को महामारीको सामना गर्नका लागि गरिएको खोज तथा अनुसन्धान र आविष्कारका चुनौती तथा अवसरहरुबारे विस्तृत छलफल गर्ने प्रयोजनार्थ यस बिषयको तर्जुमा गरिएको छ।
जसमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठ र राष्ट्रिय सभाका माननीय सांसद श्री दिव्यमनी राजभण्डारीज्यूको अध्यक्षतामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवाली, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रकाश प्रसाद शाह, कोभिड १९ व्यवस्थापनका सूचना व्यवस्थापनका प्रमुख अनिल थापा तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनबीच बिस्तृत छलफल र विमर्श गराउने उद्देश्य राखिएको छ। यसले नेपाललाई भावी दिनमा खोज तथा अनुसन्धानमूलक गतिविधिहरुको प्राथमिकता र जरुरी आवश्यकता बिषयवस्तुहरुको आविष्कारका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा राखिएको छ।
उल्लेखित बिषयवस्तुको अलवा सम्मेलन आयोजक समितिले माननीय अर्थ मन्त्री जर्नादन शर्मा र माननीय स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठबीच विशेष अन्तर्वार्ता कार्यक्रमको आयोजना गरेर अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीचको समन्वयात्मक भूमिकाले महामारीका समयमा अपनाउनु पर्ने अल्पकालिन र दीर्घकालिन योजनालाई प्राथमिकतामा राख्दै स्वास्थ्य जस्तो संवेदनशिल मन्त्रालयलाई विशेष प्राथमिकता दिनु पर्ने लगायतका बिषयवस्तुमाथी प्रत्यक्ष छलफल गराउने गरी कार्यक्रम तर्जुमा गरिएको छ।
त्यसैले नेपाल चिकित्सक संघले जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको बार्षिक उत्सवलाई क्यालेण्डर इभेन्टकै रुपमा शिखर सम्मेलनको आयोजना गर्ने निर्णय गरेर शैक्षिक गतिविधिहरुको आयोजना गर्ने जमर्को गरेको छ। साथै उल्लेखित बिषयवस्तुहरुमाथी गरिएको विस्तृत छलफलको निचोडलाई समाविष्ट गरी नेपाल सरकारलाई नीतिगत सुझाब प्रस्तुत गर्ने तथा यस सम्मेलनको समापन पश्चात् घोषणा पत्र सार्वजनिक गर्ने योजना समेत गरिएको छ।
अन्तमा, उक्त कार्यक्रम २०७८ आश्विन ९ गते शनिबार विहान १० बजे देखि दिउसो ५ः०० बजे सम्म एपिवान टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने भएको हुनाले सबैलाई हेर्न र आवश्यक सुझाब दिन समेत अनुरोध गर्दछु।
-(खनाल नेपाल चिकित्सक संघका प्रमुख प्रशासकिय अधिकृत हुन्)