काठमाडौं- नेपालमा पनि भाइरसको म्युटसन पत्ता लगाउने जीन सिक्वेन्सिङ (जेनेटिक बनावट) परीक्षण सुरु भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा जीन सिक्वेन्सिङ सुरु भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ र त्रिवि केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६ वटा गरी ४२ वटा नमुनाको जीन सिक्वेन्सिङ समेत भइसकेको छ। जीवन सिक्वेन्सिङ गरिएका सबै नमुनामा ४१ वटामा डेल्टा भेरियन्ट र गत वैशाखाको एउटा एस जीन नेगेटिभ भएको नमुनामा अल्फा भेरियन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले जानकारी दिइन्।
उनका अनुसार ४१ वटा नमुना भदौ र असोज महिनामा संकलन भएका हुन्। जीन सिक्वेन्सिङका लागि जनस्वास्थ्य प्रयोगशालालाई विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालय र एफएचआइ-३६० र त्रिवि जैविक प्रविधि केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेका छन्।
साधारण भाषामा भन्नुपर्दा जीन सिक्वेन्सिङ भनेको भाइरसको जेनेटिक बनावटलाई डिकोट गर्ने परीक्षण हो। पीसीआर परीक्षणमा कोरोना भाइरसको जीन शरीरमा छ कि छैन जाँच गरिन्छ भने सिक्वेन्सिङमा जीनको बनावटको अध्ययन गरिन्छ।
कोराना भाइरसले आफ्नो जीनमा साना–साना परिवर्तन गरिरहन्छ। जसलाई म्युटेसन भनिन्छ। धेरै जस्तो म्युटेसनले कुनै पनि प्रभाव पार्दैन। तर, कहिलेकाहीँ यसरी भएको म्युटेसनले भाइरसको चरित्रमा ठूलो बदलाव ल्याइदिन्छ। जस्तै भाइरस बढी संक्रामक हुनसक्ने, छिट्टै फैलिन सक्ने, उपलब्ध औषधिले काम नगर्ने आदि हुन्। भाइरसको परिवर्तित स्वरुपलाई नयाँ भेरियन्ट भनिन्छ।
यसअघि नेपालमा जीन सिक्वेन्सिङका लागि आवश्यक उपकरण लगायतका सुविधा नहुँदा विदेशमा पठाउनु पर्ने अवस्था थियो। नेपालमै परीक्षण सुरु भएपछि अब कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउनु पर्ने बाध्यता हटेको छ।
