काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागले कार्यालय परिसरमा प्रवेश प्रक्रिया अझ व्यवस्थित र प्रभावकारी बनाउन नयाँ प्रवेश कार्ड प्रणाली लागू गर्ने निर्णय गरेको छ। विभागले औषधि उत्पादक र पैठारीकर्ता कम्पनी/फर्मका आधिकारिक प्रतिनिधिहरूका लागि मिति २०८३ साल बैशाख २ गतेदेखि प्रवेश कार्ड अनिवार्य गर्ने जनाएको छ।
यस व्यवस्थाले कार्यालय परिसरमा हुने अवाञ्छित भिडभाड र असम्बन्धित व्यक्तिको प्रवेशलाई नियन्त्रण गर्ने उद्देश्य राखिएको छ। प्रवेश कार्डका लागि कम्पनी/फर्मले आफ्नो प्रतिनिधिको नाम, पद, ठेगाना, राष्ट्रिय परिचयपत्र नम्बर, फोटो, कम्पनीको नाम, ठेगाना र प्रकार सहित विवरण विभागमा पठाउनुपर्ने छ।
औषधि पसल दर्ता, नवीकरण तथा व्यवसायिक अनुमतिपत्र लिन आउने सेवाग्राही र अध्ययन/भ्रमणका लागि आउने विद्यार्थीहरूलाई प्रवेश कार्डको आवश्यकतामा समावेश गरिएको छैन।
विभागले सम्बन्धित सबै सरोकारवालालाई मिति २०८२ साल चैत्र ३० गतेभित्र आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।