काठमाडौं– नेपाल आयुर्वेद चिकित्सक संघले स्वास्थ्यखबरका सम्पादक प्रवीण ढकाललाई सम्मान गरेको छ। संघको ११ औं राष्ट्रिय सम्मेलनको अवसरमा राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्पादक ढकाललाई सम्मान गरिएको हो।
निवर्तमान स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले ढकाललाई सम्मान पत्र प्रदान गरेकी हुन्। आयुर्वेद चिकित्सा पद्धतिका विषयमा समयसान्दर्भिक लेख, खोजमुलक समाचार तथा गहन विश्लेषणहरू निरन्तर प्रकाशन गरी यस क्षेत्रको विकास र प्रचार–प्रसारमा विशेष योगदान पुर्याएको भन्दै संघले यस वर्षको 'पत्रकार सम्मान' ढकाललाई प्रदान गर्ने निर्णय गरेको हो।
लामो समयदेखि स्वास्थ्य पत्रकारितामा सक्रिय ढकालले स्वास्थ्यखबरमार्फत जनस्वास्थ्यका विभिन्न आयाम र विशेषगरी आयुर्वेद क्षेत्रका मुद्दाहरूलाई उठान गर्दै आएका छन्।
ढकालले यस सम्मानले आफूलाई स्वास्थ्य पत्रकारितामा थप सक्रिय भएर लाग्न ऊर्जा मिलेको बताए। उनले आयुर्वेद र जनस्वास्थ्यका मुद्दाहरूलाई आगामी दिनमा अझ सशक्त रूपमा उठान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।