काठमाडौं– निवर्तमान स्वास्थ्यमन्त्री सुधा शर्माले आफूले स्वास्थ्यमन्त्रीका रूपमा आयुर्वेद क्षेत्रको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा काम अगाडि बढाएको बताएकी छन्।
नेपाल आयुर्वेद चिकित्सक संघको ११ औं राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्। स्वास्थ्यमन्त्रीका रूपमा भारतमा भएको आयुर्वेदको एक महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुँदा आयुर्वेद क्षेत्रलाई अगाडि बढाउनका लागि दुई देशबीच सहयोग आदानप्रदान गर्ने सहमति भएको उनले बताइन्।
आफू स्वास्थ्य सचिव भएको समय (वि.सं. २०६८) मा भन्दा हाल आयुर्वेदमा धेरै प्रगति भएको शर्माले बताइन्। आयुर्वेदका सम्पूर्ण तथ्याङ्कहरू प्रणालीमा राखिनु तथा नागरिक आरोग्य कार्यक्रम र अनुसन्धानलाई व्यवस्थापन गरिनु यस क्षेत्रका लागि महत्त्वपूर्ण काम भएको उनको धारणा थियो। यसरी आयुर्वेद क्षेत्रमा धेरै कार्यक्रमहरू थपिनुले आफूलाई उत्साह मिलेको उनले बताइन्।
निवर्तमान स्वास्थ्यमन्त्रीका रूपमा पनि आयुर्वेदको कार्यक्रममा सहभागी हुन पाएकोमा आफूलाई खुसी लागेको उनले व्यक्त गरिन्।
स्वास्थ्य मन्त्रालय सम्हालेको ५ महिनाको अवधिमा पञ्चकर्मका लागि बूढानीलकण्ठमा बनेको अस्पताल सञ्चालन गर्न आवश्यक ओएनएम सर्वे गराएर दरबन्दी स्वीकृत गराउन सक्नु स्वास्थ्यमन्त्रीका रूपमा एक उपलब्धि भएको मन्त्री शर्माको दाबी छ।
शर्माले आफू मन्त्री हुँदा विभिन्न आयुर्वेद संस्थाहरूको निरीक्षण गरेको बताइन्। सिंहदरबार वैद्यखानाको निरीक्षणका क्रममा संस्था पुरानो जर्जर अवस्थामा नरहेको र विस्तारै प्रगतितर्फ उन्मुख रहेको आफूले पाएको उनले बताइन्। वैद्यखानाको पुनरुत्थानका लागि दरबन्दी स्वीकृतिको कार्य अन्तिम चरणमा पुर्याएको उनले जानकारी दिइन्।
उनले औषधि व्यवस्था विभागको निरीक्षणका क्रममा विभागलाई सुदृढीकरण गर्नुपर्ने देखिएको र त्यसका लागि दरबन्दी थप गर्ने कार्य अन्तिम चरणमा पुगेको बताइन्। आफ्नो कार्यकालमा नागरिक आरोग्य कार्यक्रमलाई मानसिक स्वास्थ्यको कार्यक्रमअन्तर्गत अगाडि बढाइएको शर्माको जिकिर छ। नागरिक आरोग्य कार्यक्रमले बढ्दै गएको नसर्ने रोग रोकथाममा मद्दत पुग्ने शर्माको दाबी छ।