काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारका १०० बुँदामध्ये बुँदा नं. ८५ अन्तर्गत स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रमहरू कार्यान्वयनको चरणमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो प्रगति विवरणले सेवा विस्तार, गुणस्तर सुधार र पहुँच वृद्धितर्फ उल्लेखनीय कदमहरू देखाएको छ।
मन्त्रालयका अनुसार हाल ३२ वटा अस्पताल (जसमध्ये १९ निजी र १३ सरकारी)का १० प्रतिशत बेडमा निःशुल्क उपचार सेवा उपलब्ध गराइएको छ। उक्त विवरण मन्त्रालयको वेबसाइटमार्फत नियमित अद्यावधिक गरिएको छ, जसले सेवाग्राहीलाई जानकारी पहुँचमा सहजता प्रदान गरेको छ।
यस्ता छन् मन्त्रालयले सार्वजनिक गरेका उपलब्धी
मिति २०८२/१२/१३ मा नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरे बमोजिम शासकीय सुधारका १०० बुँदामध्ये बुँदा नं. ८५ मा उल्लेखित स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यहरूको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो प्रगति विवरण
निःशुल्क उपचार विवरण:
३२ वटा अस्पताल (१९ निजी र १३ सरकारी) का १०% बेडमा निःशुल्क उपचार प्रदान गरिएको विवरण मन्त्रालयको वेबसाइटमा अद्यावधिक गरिएको छ।
अस्पताल सेवा सुधार:
वीर अस्पताल, गंगालाल हृदय केन्द्र, कान्ति बाल अस्पताल लगायतका अस्पतालहरूमा सेवाको गुणस्तर सुधारका लागि अनुगमन गरी आवश्यक सुधारका लागि पृष्ठपोषण गरिएको छ। साथै, अस्पताल सेवा सुधार निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार गरिएको छ। साथै २०८२/१२/१५ गते संघीय तथा प्रादेशिक अस्पतालहरूसँग सेवा गुणस्तर सुधार सम्बन्धी छलफल गरिएको थियो। सोअनुसार विभिन्न अस्पतालहरूबाट सुधार कार्ययोजना अनुसार सेवा सुधार भएको प्रतिवेदन प्राप्त भएको छ।
जलन (Burn) वार्ड स्थापना:
सुदूरपश्चिम प्रदेशको टीकापुर, महाकाली र सेती प्रादेशिक अस्पतालका साथै मधेस प्रदेशको कलैया अस्पतालमा जलन वार्ड स्थापना तथा सेवा सञ्चालनको तयारी सुरु गरिएको छ। साथै, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमा अवरुद्ध रहेको जलन उपचार सेवा पुनः सञ्चालन गरिएको छ।
हवाई एम्बुलेन्स (Air Ambulance):
सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा (Standby) राख्ने सम्बन्धमा आवश्यक व्यवस्था हाल कार्यान्वयनमा रहेको छ। दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधिमा आवश्यक संशोधन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग परामर्श तथा समन्वय गरिएको छ।
गुनासो सम्बोधन:
स्वास्थ्य क्षेत्रका गुनासोहरू संकलन गर्न क्युआर कोड र छुट्टै इमेल ([email protected]) को व्यवस्था गरिएको छ। साथै, एकीकृत प्रणालीमार्फत गुनासो सम्बोधन कार्य सुरु गरिएको छ ।