काठमाडौं- धुम्बराहीस्थित ह्याम्स हस्पिटलले अस्पतालमा कार्यरत डाक्टर र नर्सहरु लक्षित मस्तिष्कघातसम्बन्धी सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ। विश्व मस्तिष्कघात दिवसका अवसरमा मस्तिष्कघात भएका बिरामीहरुलाई ‘अस्पतालमा कसरी व्यवस्थापन गर्ने’ सम्बन्धी सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो। हरेक वर्ष अक्टोबर २९ मा विश्वभर मनाइने विश्व मस्तिष्कघात दिवसको अवसर पारेर गरिएको कार्यक्रममा अस्पतालका वरिष्ठ न्युरो इन्डोभास्कुलर सर्जन डा मनोज बोहोराले मस्तिष्कघात उपचारमा समयको महत्वपूर्ण भूमिका रहने बताए।
वर्ल्ड फेडरेसन अफ स्ट्रोकले ४ जनामध्ये एकजनामा जीवनको कुनै न कुनै कालखण्डमा मस्तिष्कघात हुने उल्लेख गरेको छ।
सन् २०२१ मा विश्व मस्तिष्कघात दिवस ‘सेभ प्रिसिएस टाइम’ अर्थात ‘बहुमुल्य समयको वचत’ भन्ने नारा तय गरिएको छ। अस्पतालका वरिष्ठ न्युरोलोजिष्ट डा कृष्ण ढुंगानाका अनुसार मस्ष्तिकघात भएको व्यक्तिमध्ये कसैको हातगोडा चलेको हुँदैन, कतिको बोल्ने शक्ति जान्छ, कतिको स्मरणशक्ति गुमेको हुन्छ भने कतिको बोलाइको भाषामा समस्या हुन्छ।
अहिलेको नाराले मस्तिष्कघातलाई स्वस्थ्य जीवनशैली, खानपानलगायतका कुरामा ध्यान दिएर रोकथाम गर्न सकेको अवस्थामा मस्तिष्कघात न्यूनिकरण गर्न सकिने उनले स्पष्ट पारे। साथै मस्तिष्कघात भइहालेमा समयमा हस्पिटल पुगेर उपचार गर्न सकेमा रिकभरि राम्रो हुने उनले बताए।
‘राम्रोसँग मस्तिष्कघात रिकभरि भएमा जीवनको कालखण्डमा बहुमुल्य समय बिताउन सकिन्छ। यसले मृत्यु हुनबाट पनि जोगिन सकिन्छ,’ उनले भने।
पक्षघात हुने कारण थुप्रै हुन्छन। उच्च रक्तचाप बढ्नाले मस्तिष्कमा आघात पुग्छ, जसले गर्दा मस्तिष्कघात हुने सम्भावना रहन्छ। मुटु रोगी, मधुमेही, धुम्रपान, मोटोपना, अस्वस्थ्यकर खानपान र जीवनशैली आदि कारणले मस्तिष्कघात हुने सम्भावना रहन्छ।
लक्षण
– रिंगटा लाग्ने
– मुख बाङ्गिने
– हातखुट्टा नचल्ने
– एक्कासी एउटा हात लुलो हुने
– बोली लरबराउने वा स्वरै गुम्ने
– दृष्टिमा अचानक समस्या उब्जिने
– कुरा बुझ्न अप्ठयारो हुने
एक साइडको हात माथि उठाउन नसक्ने, मुख बाङ्गिएमा र बोली लरबराएमा, एउटा आँखाको दृष्टि गुमेमा, हिँड्दा लरबराउने जस्ता समस्या भएमा तत्काल सम्बन्धित हस्पिटल पुर्याउनुपर्ने डा बोहोराको भनाइ छ। अहिले थ्रोम्बोलाइसिस र थ्रोम्बेक्टोमी प्रविधिबाट उनीहरुलाई पूर्ण रुपमा निको बनाएर साधारण जीवनयापनमा फर्काउन सकिन्छ। ५ घण्टाभित्र अस्पताल पुगेमा थ्रोम्बोलाइसिस प्रविधिबाट बिरामीलाई रिकभरि गर्न सकिन्छ। थ्रोम्बेक्टोमी ६ देखि २४ घण्टाभित्र गर्न सकिन्छ। मस्तिष्कको नसा ब्लक भएको अवस्थामा थ्रोम्बेक्टोमी (न्युरो इन्डोभास्कुलर प्रविधि) बाट ब्लक भएको नसा खोलेर बिरामी जोगाउन सकिने वरिष्ठ न्युरोसर्जन डा. बोहोराले स्पष्ट पारे।
अहिले नेपाल लगायत विश्वमा नै मस्तिष्कघातको समस्या बढ्दो गतिमा छ। व्यक्तिको आयु लम्बिरहेको वर्तमान अवस्थामा मस्तिष्कघातको समस्या पनि त्यही गतिमा बढिरहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, प्रतिवर्ष विश्वमा १ करोड ५० लाख व्यक्तिहरुलाई मस्तिष्कघात हुने गर्छ। त्यसमध्ये ५० लाखको मृत्यु हुन्छ भने ५० लाख व्यक्ति चिकित्सकको उपचारपछि सामान्य अवस्थामा फर्किने गरेका छन्। त्यसमा ५० लाख पूर्ण रुपमा अपाङ्ग हुने गर्छन्।
मस्तिष्कमा रक्तनली खुम्चिएर वा रक्तनली फूटेर सम्बन्धित मस्तिष्कको भाग निष्कृय भई प्यारालाईसिस हुने रोगलाई मस्तिष्कघात भनिन्छ।
यो रोग बालबालिका र युवाहरुमा देखिएपनि प्रायः ६५ वर्ष नाघेकाहरुलाई यस किसिमको समस्या धेरै देखिने गरेको छ। बृद्धावस्थामा मस्तिष्कका नशाहरु साँघुरिदै जाने र यो उमेरमा उच्चरक्तचाप र मधुमेह हुने कारण मस्तिष्कघातको संभावना बढेको हो। खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण यो समस्या युवा उमेरका व्यक्तिहरुमा पनि देखिएको छ। केही बच्चाहरुलाई वंशाणुगत कारण मस्तिष्कघात हुने गर्छ। जन्मजात मस्तिष्कको नशा सुन्निएको वा राम्रोसँग नशाको विकास नभएका बच्चाहरुलाई मस्तिष्कघात हुने सम्भावना रहन्छ।
मस्तिष्कघात हुनमा उच्च रक्तचाप, मधुमेह, बुढ्यौलीपन मुख्य कारण मानिन्छ। महिलाहरुको तुलनामा पुरुषहरुमा मस्तिष्कघातको संभावना बढी हुन्छ। यो वंशाणुगत पनि हुनसक्छ। मद्यपान, धूम्रपान, मुटुको चालमा गडबडी, मुटुुरोग तथा रक्तसञ्चारसम्बन्धित समस्या (जस्तै—एट्रियल—फ्रिबिलेसन, अथेरोस्क्लेरोसिस, डिप भेन थ्रम्बोसिस, एन्युरिजम, पुरानो माइग्रेन) ले मस्तिष्कघातलाई निम्त्याइरहेको छ।